सिँचाइ मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ। नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो।

राजीनामा पत्रमा विभिन्न कारणले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकिने अवस्था आएको उल्लेख गरिएको छ।

साथै, नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सो प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेसका चार मन्त्री—आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई मुख्यमन्त्री लामाले केही दिनअघि नै पदमुक्त गरिसक्नुभएको छ।

झन्डै एक वर्षअघि कांग्रेसका लामा नेतृत्वमा नेकपा एमालेसहितको गठबन्धनबाट बागमती प्रदेशमा सरकार गठन गरिएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया