पसल बन्द गरेर सडक आन्दोलनमा सुनचाँदी व्यवसायी

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट हटाउन माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीले बुधबार नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल ¥याली निकालेका छन् ।

सुनचाँदी व्यवसायीहरू नयाँ कर प्रणालीको विरोधमा देशभर आन्दोलनरत भइरहेका बेला बाँकेको नेपालगन्ज, खजुरा र कोहलपुरमा बुधबार ठूलो संख्यामा सुनचाँदी व्यवसायीहरू मोटरसाइकल ¥यालीमा उत्रिएका हुन् ।

उनीहरूले सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

नेपालगन्ज सुनचाँदी व्यवसायी संघको नेतृत्वमा नेपालगन्जका विभिन्न ठाउँमा मोटरसाइकल सवार व्यवसायीहरुले नाराबाजी गर्दै दबाब प्रदर्शन गरेका हुन् ।

संघका अध्यक्ष सलाउद्दिन जसगढको नेतृत्वमा प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले ¥यालीमा नगरपरिक्रमा गर्दै ‘नयाँ कर खारेज गर’, ‘व्यवसायीको हक सुनिश्चित गर’ भन्ने जस्ता नाराहरू लगाएका थिए ।

¥याली नेपालगन्जको विभिन्न क्षेत्र, खजुरा बजार र कोहलपुरसम्म पुगेर प्रदर्शनमा परिणत भएको थियो । आन्तरिक राजस्व कार्यालय अगाडि केही बेर नाराबाजी गरिसकेपछि व्यवसायीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएका थिए ।

सुनचाँदी व्यवसायीहरूले असार १३ गतेदेखि आफ्ना सबै पसल बन्द गरेका छन् । आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउँदै उनीहरूले रिले अनशनसमेत गरेका छन् ।

संघका महासचिव सुखनारायण सोनारका अनुसार, आन्दोलनको प्रारम्भमा उनीहरूले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका थिए भने हाल आन्दोलनलाई विस्तार गरी नगरस्तरमै प्रदर्शन तीव्र बनाइएको छ ।

व्यवसायीहरूको भनाइमा सरकारले हाल प्रस्तुत गरेको कर नीति साना व्यापारीहरूका लागि विनाशकारी छ । उनीहरूले यस्तो करले गहना किन्ने ग्राहकमा पनि भार पर्ने र व्यवसाय सञ्चालन असहज हुने जिकिर गरेका छन् । उनीहरूका अनुसार, सुनचाँदी जस्ता बहुमूल्य सामानमा यसरी दोहोरो कर लगाउनु अनुचित मात्र नभई आर्थिक रूपमा व्यवहारिक पनि होइन ।

हाल देशभरका सुनचाँदी व्यवसायीहरू आफ्ना पसल बन्द गरेर विरोधमा उत्रिएका छन् । सरकारसँग तत्काल वार्ता गरेर समस्या समाधान नगरे गम्भीर आन्दोलनका कार्यक्रम अगाडि सारिने उनीहरूको चेतावनी छ ।

महासचिव सोनारका अनुसार, आन्दोलनरत व्यवसायीहरुले सुनमाथिको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट हटाउनुपर्ने, सुनचाँदी व्यवसायप्रति राज्यले गरेको नीति फिर्ता लिनुपर्ने जस्ता विषय समावेश छन् ।

देशभरका सुनचाँदी व्यवसायीहरू अहिले नयाँ करप्रणालीको विरोधमा संयुक्त आन्दोलनमा छन्, जसअन्तर्गत सुनचाँदी पसलहरू देशभर बन्द छन् ।

प्रतिक्रिया

प्रतिक्रिया