परम्परागत रूपमा हातले धान रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरेर मेसिनमार्फत धान रोप्ने विधि सिकाउने कार्य सुरु गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीले पहिलो पटक सुनवल नगरपालिकास्थित स्वाठी कृषि सहकारीको खेतमा मेसिनद्वारा धान रोप्ने प्रविधिको प्रदर्शन गरेको हो।
परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले किसानलाई यान्त्रिक विधिमा प्रोत्साहित गर्न र धान उत्पादन प्रक्रियामा पूर्ण यान्त्रिकरण गर्न लक्ष्य राखिएको जानकारी दिनुभयो।
काफ्लेले भन्नुभयो, “धान रोपाइँका बेला देखिने श्रमिक अभाव र उत्पादन लागतका समस्यालाई समाधान गर्न मेसिनको प्रयोग प्रभावकारी हुने देखिन्छ। ट्याक्टरबाट रोपाइँ गर्दा लागत परम्परागत विधिको तुलनामा दुईदेखि तीन गुणा कम पर्छ।”
किसानहरूले भने पहिलो पटक मेसिनको प्रयोग देखेपछि उत्सुकता देखाएका छन्। उनीहरूले उत्पादनको नतिजा हेरेपछि मात्र नियमित रूपमा प्रयोग गर्ने निर्णय गर्ने बताएका छन्।
स्वाठी कृषि सहकारीका अध्यक्ष वीरबहादुर थापाले मेसिनले टाढा-टाढा रोप्ने र गाज माथि हुने भएकाले पानी परेपछि बिउ निस्कने हो कि भन्ने चिन्ता किसानमा रहेको जानकारी दिनुभयो।
परियोजनाले हाल सुनवल र रामग्राम नगरपालिकाका चार वटा वडामा कृषि जोन कार्यक्रम सञ्चालन गरिरहेको छ भने आगामी वर्षदेखि किसानलाई धान रोप्ने मेसिन उपलब्ध गराई खेत क्षेत्र विस्तार गर्ने योजना रहेको बताइएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार जिल्लाको ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार हेक्टरमा धानखेती हुँदै आएको छ। यस वर्ष हालसम्म झण्डै ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको पनि जानकारी गराइएको छ।








