नेपाल–भारत साहित्य संगोष्ठी, दुई देशका श्रष्टाबीच सत्संग

साँस्कृतिक सम्बन्धका बहस


नेपालगन्जमा छिमेकी राष्ट्र भारतका प्रतिनिधिमूलक श्रष्टा आमन्त्रण गरि नेपाल–भारतबीचका साँस्कृतिक सम्बन्धबारे बहस र बहुभाषिक काव्य संगम भएको छ ।


नेपाल र भारतका वरिष्ठ श्रष्टाहरुबीच महेन्द्र पुस्तकालयले दुई दिनसम्म यसखालको कार्यक्रम आयोजना गरेको हो । ‘सोमवार प्रसिद्ध शक्तिपीठ नेपालगन्जको वागेश्वरी दर्शन र बर्दिया राष्ट्रिय निकुन्ज घुमफिरको कार्यक्रम राखिएको छ,’ तीन दिने कार्यक्रमबारे जानकारी दिंदै पुस्तकालयका सदस्य वीरेन्द्र जैसीले भने, ‘औपचारिक कार्यक्रम आइतवार सकिएको छ ।’


महेन्द्र पुस्तकालयले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल–भारत साहित्य संगोष्ठी आयोजना गरेको हो । संगोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा साँस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको जैसीले जानकारी दिए ।


शनिबार भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता थियो । कार्यक्रममा २० जना श्रष्टालाई सम्मान गरिएको छ ।


सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला छन् ।


त्यस्तै, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको महेन्द्र पुस्तकालयका सदस्य जैसीले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


भारतीय साहित्यकारहरुले कार्यक्रममा बोल्दै नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साँस्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।


आइतबार संगोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधी भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरे । उनीहरुले नेपाल भारतका भाषा, संस्कृतिमा समानता रहेको बताउँदै त्यसको प्रवद्र्धन साहित्यमार्फत पनि हुने भएकोले पुस्तक र लेख रचनाहरु अनुवाद हुनु आवश्यक रहेको बताएका छन् ।


आइतवारनै नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका बहुभाषिक रचना वाचन गरेका थिए । भारतबाट साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटेसहित १७ जनाले आफ्ना रचना वाचन गरेको काव्य संगममा वीपी अस्तु, नविन अभिलाषी, चरित्रा शाह, पुष्कर रिजाल र मीना बरालले आफ्ना श्रृजना पस्किएका थिए ।


करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको अध्यक्ष बलराम यादवले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया