जिल्ला सम्मेलन गर्दै बाँके काँग्रेस

वर्षेनी गर्नुपर्ने सम्मेलन अहिलेसम्म हुन सकेको थिएन


नेपाली कांँग्रेस बाँकेले भोलि शनिवार आफ्नो पहिलो जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।
बाँके कागँ्रसको इतिहासमा पहिलो पटक यसरी गर्न लागिएको जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए ।


‘पार्टी विधान अनुसार वर्षेनी गरिनुपर्ने सम्मेलन अहिलेसम्म हुन सकेको रहेनछ, १ हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलन आयोजनाको तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विहीवार जिल्ला पार्टी सभापति गौडेलले भने, ‘पार्टी चलायमान राखिरहन यसको ठुलो महत्व छ ।’


‘सम्मेलनले सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण र त्यसमा छलफल बहस गर्नेछ,’ सभापति गौडेलले भने, ‘प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेहरुलाई सम्मान पनि गरिनेछ ।’


सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने जानकारी दिंदै सभापति गौडेलले कांग्रेस बाँकेको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पु¥याउन सक्रिय भइरहेको बताए ।

‘हाम्रो सुझबुझपूर्ण निर्णयले स्थानीय तहदेखि प्रतिनिधिसभा सम्मका निर्वाचनमा अपेक्षित परिणाम आएका छन्,’ सभापति गौडेलले अबपनि जिल्लामा सबैतिर देखिने, सुनिने र अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु गरिरहेको उल्लेख गर्दै भने, ‘चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टीपंक्ति लागिपरेको छ ।’


‘पार्टीलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने कुरामा विधानले गरेका हरेक व्यवस्थालाई कार्यान्वयन गरिरहेको’ उपसभापति गोपालप्रसाद अधिकारीको भनाइ छ । ‘सम्मेलन त्यसैको एउटा उदाहरण हो,’ अधिकारीले भने । सभापति अधिकारीका अनुसार, जिल्ला सम्मेलन अघि गाउँ, प्रदेश र क्षेत्रीय सम्मेलन भइरहेका छन् ।


पार्टी सभापति कृष्ण कार्की, सहसचिवद्वय रेण सिंह ठाकुर र विनोदकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत सहभागी कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । काँग्रेसले सम्मेलनसँगै गाउँ–गाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको पनि जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया