काम नै भगवान : हिन्दु चाडको तयारीमा मुस्लिम हातहरु

शब्द/तस्वीर
बिशाल रानामगर

उसो त नेपालगन्ज धार्मिक सदभावको नमुना शहर हो । यो हिन्दु, मुस्लिम, बौद्ध, शिख तथा इसाई धर्म मान्नेहरु मिलिजुली बसेको शहर हो । नेपालगन्जमा धार्मिक सद्भावको पछिल्लो नमुना हेर्ने मन भए नेपालगन्जको रामलिला मैदान जान सकिन्छ । रामलिला मैदान जहाँ हरेक वर्ष घटस्थापनादेखि एघार दिनसम्म राम लिला मन्चन गर्ने गरिन्छ । अझ यो वर्ष त नेपालगन्जमा राम लिला मन्चन गर्न थालिएको १ सय ५०औं वर्ष हो । त्यसैले मेला सन्चालक समितिले भन्य रुपमा रामलीलाको आयोजना गर्ने तयारी गरिरहेको छ ।


विशेषत रावणलाई बध गरेर असत्यमाथि सत्यको जीतको रुपमा रामको राज्याभिषेकको कथा रामलिलामा देखाइन्छ । रामलिलाका लागि दैत्य राजा रावणको भिमकाय स्वरुप बनाइने गरिन्छ । जसलाई दशौं दिनमा रामको वाणले जलाएर नष्ट गर्ने गरिन्छ । यसवर्ष पनि ५२ फिट अग्लो रावणको मुर्ति बनाइँदैछ । र त्यो मुर्ति बनाउन एक सातादेखि ९ जना मुस्लिम समुदायका कारिगरहरु रामलिला मैदानमा रहेको मञ्चमा मेहनतसाथ काम गरिरहेका छन् । जसको नेतृत्व गरेका छन् भारत सीतापुर जिल्ला सहादतपुर भेकाका मसहुर आलमले ।

आलम यसरी रावणको मुर्ति बनाउन नेपालगन्ज आउन थालेको यो पाँचौ पटक हो । ‘म प्रायः एक ठाउँमा दुई पटक भन्दा बढि जाँदिन तर नेपालगन्जका आयोजकहरुले म नै आउनुपर्छ भनेकाले आउनै पर्छ’, रावणको शिर बनाउनको लागि बाँस काट्दै गरेको ३५ वर्षे मसहुरले नेपालगन्जले गरेको प्रेम दर्शाउँदै भने, ‘नेपालगन्जका आयोजकले साहै्र मनपराउनुहुन्छ ।’
उनका बाजेदेखि दशैंको बेलामा नेपाल तथा भारतका विभिन्न स्थानमा पुगेर मुर्ति बनाउने गरेको मसहुरले बताए । मसहुरको टोलीले रावणको खुट्टा, जिउ, हात लगाएतका अंगहरु बाँस, कपडा तथा कागजको प्रयोग गरेर बनाइसकेको छ । रावणको शिर र मृगजस्ता आकृतिहरु बनिरहेका छन् ।

 
उनिसँग टोलीमा रहेका मुनिर अहमद, नुर आलम, रियासत अलि, रफिक, रहमत, मुमताज सबै मुस्लिम हुन तर उनिहरु धर्म फरक भएपनि कामलाईनै भगवान मान्छन् । ‘हामी काम गर्ने हो, मेहनत गरेर खान कुनै जात वा धर्मले रोक्ने कुरा भएन’, रहमतले भने, ‘आत्मा र नियत सफा हुनुपर्यो ।’


मेला सञ्चाल श्री राम लिला संचालन समिति नेपालगन्जका प्रचार मन्त्री रवि नाथ भट्टराई मुस्लिम कारिगरले हिन्दुका लागि मुर्ति तयारी गरिदिनु सद्भावको एउटा उदाहरण भएको बताउँछन् । ‘हामीले पाँच वर्ष देखि मसहुरकै टोलीलाई रावणको मुर्ति बनाउन लगाउने गरेका छौं’, उनले भने, ‘रामलिलाको लागि कारिगर मात्र होइन, मेला सन्चालनकै लागि मुस्लिम समुदायका व्यक्तिहरुबाट समेत आर्थिक सहयोग पाउँछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया