बिहान घाम नझुल्किदै बगैचामा रहेको लिचिको झ्याममा सारौंहरु कराएको सुनेँ । दृष्टि लगाएको त सारौंहरुको झगडा परेको रहेछ । केही सारौं लिचिको रुखबाट भुइमा झरेर एकले अर्कालाई भुत्ल्याउन थालेका रहेछन् । अरु सारौंहरु लिचिको रुखबाटै भुइमा लडिरहेका सारौंहरुलाई देखेर कराउदै रहेछन् । मैले उनीहरु कराएको त सुनेँ । लडाइ भएको पनि देखेँ । झगडा र लडाइको कारण के होला त्यो भने बुझ्न सकिन । उनीहरुसँग सोधपुछ गरेर लडाइको कारण बुझ्नका लागि मसँग भाषा पनि भएन । यस्तैमा मनमा विभिन्न विचारहरु आए । पोथी सारौंलाई भाले सारौंले हेला ग¥यो कि ?सँगै बस्न नसकेर पोथी सारौं भाले सारौलाई छोडेर अन्तै भागीकि ? अर्को परिवारको फटाहा सारौं आएर आक्रमण पो ग¥यो कि ? गासबास पो पुगेन कि ? छोराछोरीलाई रेखदेख गर्न कतैबाट कञ्जुस्याइ भयो कि ? एकले अर्कालाई बुझ्ने र तदनुसारको आचरण गर्ने कुरामा सुझबुझमा फरक प¥यो कि ?कसैको सम्मान र मर्यादामा ख्याल गरिएन कि ?मान्छेको बीचमा हुने झगडा र विवादको कारणहरु जस्तै मैले पनि यस्तै यस्तै अनुमानहरुको आँकलन गर्दै सारौंको झगडालाई मैले पनि रमिते भएर अवलोकन गरेँ ।
एकपटक नेपालगञ्जको पुष्पलालचोक स्थित थकाली भान्साघरमा खाना खान जाँदा आँगनमा दुइवटा कुकुरहरु आत्मीयतापूर्वक लडिबुडी गरेर खेलिरहेका देखेँ । मैले ‘यिनीहरु कति मायाले जिस्किरहेका’ भन्दै भान्साघरको साहुनीतिर फर्केँ । साहुनीले जवाफमा भुक्तभोगीले झै गम्भीर हुदै एउटा छुट्टै रहस्य यसरी बताइन – ‘पशुपंक्षीहरु पहिले झगडा गर्दछन् पछि यसरी नै एकअर्कालाई मार्या गर्दछन् । यी दुइवटा कुकुर पनि सुरुसुरुमा झगडा गर्थे अव भने एकले अर्कालाई यसरी नै यत्ति धेरै माया गर्दछन् । मान्छेमा भने प्रेम र झगडाको यो नियम फरक हुन्छ । मानिस पहिले माया गर्छ वा माया गरेको बाहना गर्दछ अन्ततः माया गरेकै मानिससँग झगडा र विवाद सुरु गर्दछ ।’ साहुनीको कुरा सुनेर त्यसलाई मन्थन गरिसकेपछि भने सारौंहरुको बीचमा भएको झगडाको कारणको सम्बन्धमा मैले गरेको उल्लिखित अनुमान सत्यको नजीक भएन किभन्ने लाग्यो । बरु सारौंहरुको आफ्नो समुदायमा अर्को समूह र समुदायको सारौं आएको कारण सुरुसुरुमा खटपट परेको हो कि झै पनि लाग्यो । किनभने साहुनीले भने झै उनीहरु सुरुसुरुमा खटपट गर्दछन, पछि भने मिलेर बस्दछन् मानिस भन्दा ठिक विपरित किसिमले ।
मानिस पशुपंक्षीभन्दा बढि महत्वाकाङ्क्षी र बढि भविष्यउन्मुख भएका कारणबाट पशुपंक्षी र मानिसको सम्बन्ध प्रक्रियामा फरक परेको हो जस्तो लाग्छ । मानिस अरुबाट आफूले धेरै कुरा प्राप्त गर्ने अपेक्षा गर्दछ । आफूले अरुलाई दिएपछि आफूलाई पनि प्राप्त हुन्छ भन्ने कुरा कहिल्यै पनि हेक्का राख्दैन । उसले आफ्ना महत्वाकाङ्क्षाहरु पूरा गर्ने क्रममा आफूसँग परिचित र आफन्तहरुलाई भरेङ बनाउने योजना बनाउछ । सोचे अनुसार आफ्नो महत्वाकाङ्क्षाको योजना सफल नहुने भएपछि क्रमशः परिचित र आफन्तहरुसँग उसको खट्पट्सुरु हुन्छ । यसैक्रममा आफन्तहरु विराना हुदै जान्छन् । विराना मात्र होइन दुष्मनमा परिणत हुन्छन् । पति र पत्नीकै बीचमा अविश्वासका खाडलहरु गहिरिन्छन् र एउटा अर्कोदेखि डराएर भाग्नुपर्ने हुन्छ । आफैले जन्माएका सन्ततीहरु समेत दुष्मन जस्ता लाग्ने गर्दछन् । पति–पत्नी र सन्ततीहरुको बीचमा दुष्मनी बढेपछि अरु बाँकी नै के पो रह्यो र ? आज हरेक मानिस यसरी नै अरुलाई दुष्मन देखिरहेको छ । बनको बाघलाई नियन्त्रण गर्न सफल मानिस आज आफ्नै मनभित्र रहेको बाघलाई नियन्त्रण गर्न नसकेर उसैसँग हरबखत त्रसित छ र सशंकित पनि ।
सन्तहरुको भनाइमा प्रेम भनेको अर्को व्यक्तिलाई निशर्त रुपले गरिने भावनात्मक सामिप्यता र त्यसबाट उत्पन्न हुने समर्पणभावको नाउ हो । यसरी प्रेम गर्ने मानिसहरु प्रेम गरेर कहिल्यै थाक्दैनन् र कहिल्यै अघाउदैनन् । यो प्रेम न त कसैको जवानी र रुपलावण्यसँग सम्बन्धित हुने गर्दछ न त कसैको सम्पत्ति र शक्तिमाथि नै । त्यसकारण पनि यो प्रेम जवानी हुँदा जस्तो हुने गर्दछ बुढ्याइ लाग्दा समेत त्यही कायम रहन्छ । यो प्रेम सम्पन्न हुँदा जस्तो हुने गर्दछ विपन्न हुँदा पनि घट्नुको सट्टा झन पल्लवित हुने गर्दछ । यो प्रेम कोही सत्ता र शक्तिमा हुँदा जस्तो हुने गर्दछ र सत्ता वा शक्ति बाहिर हुँदा पनि त्यत्तिकै चम्किलो र उज्यालो हुने गर्दछ । यस्तो प्रेम सम्पन्नता र बैभवतामा भन्दा पिडा र अभावमा फक्रने गर्दछ । यस्तो प्रेम मुस्कान र खुसीमा भन्दा आँशु र रोदनमा जीवन्त हुने गर्दछ । यस्तो प्रेमको उपमाको रुपमा बाल्मीकीको रामायणमा रामलाई सीताले गरेको प्रेम, लक्ष्मी प्रसाद देवकोटाको मुना र मदनमा मुनाले मदनलाई गरेको प्रेम आदि प्रसङ्गलाई लिन सकिन्छ । अहिले भने प्रेम पैसा, उपहार, जवानी, सम्पत्ति र विभिन्न शर्तबन्देजहरुको वरिपरि फन्को लगाइरहेको हुन्छ, जसलाई प्रेमको उपमा दिन पनि उपयुक्त देखिदैन ।त्यो त केवल स्वार्थका निम्ति गरिएको नाटक हो । त्यसकारण त हिजोआजका प्रेमहरु जोडिन नपाउदै टुक्रिरहेका हुन्छन् ।
आज मानिस झन पछि झन दुखी र तनावमा हुनुको प्रमुख कारणमा मानिसको मानवता प्रतिको आकर्षण भन्दा बस्तु प्रतिको आकर्षण प्रमुख देखिएको छ । कतै मानिसहरु दुर्घटनामा परेर सख्त घाइते भए भने उद्धारका नाममा घटनास्थलमा जाने कतिपय मानिसहरु दुर्घटनामा परेका मानिहरुको उद्धारतिर भन्दा त्यहाँ भएका बेवारिसे सामान र सम्पत्तितिर आकर्षित भइरहेका हुन्छन् । कुनै पनि सामान र सम्पत्ति आफैमा मित्र र दुष्मन हुदैन । त्यसलाई हामी कसरी प्रयोग गर्छौँ भन्ने कुराले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सामान र सम्पत्तिलाई महत्व दिने मानिसहरुले मानिस र मानवताको मूल्य र महत्वलाई बुझ्न सक्दैनन् । आखीर मानिसलाई चाहिने भनेको मानिस र मानवता हो न कि सामान र सम्पत्ति । सामान र सम्पत्तिलाई महत्व दिनेहरु आफ्नै सन्ततीको महत्वलाई बुझ्न सक्दैनन् र यसैले सन्ततीहरुले पनि आफ्नै जन्मदिने बाबुआमाको महत्वलाई बुझ्न सक्दैनन् । यसैले पनि कतिपय मानिसहरुको स्वर्गजस्तो घर दुर्गन्धित नर्क जस्तो हुने गर्दछ र एकबार पाएको स्वर्णीम र अनुपम जीवन कुहिगन्धले भरिएको रक्षानमा परिणत हुने गर्दछ ।
कतै अध्ययन गरेको एउटा प्रसङ्गको याद आइरहेको छ, एकपटक एकथान दम्पत्ति मिलेर सँगै बस्न सक्ने स्थिति नभएपछि सम्बन्ध विच्छेदका लागि अदालतमा गएर न्यायाधिस समक्ष निवेदन दिएछन् । न्यायाधीसले उनीहरुलाई भनेछन् – तिमीहरुको यो निवेदनमाथि एकमहिना पछिमात्र कार्वाही गरी न्याय दिने काम हुन्छ । त्यो भन्दा पहिले तिमीहरु एकमहिनाका लागि दुबै चिडियाखानामा गएर बस्नु पर्छ ।’ न्यायाधीसको आज्ञा बमोजिम गरे ती पतिपत्नीले । दुवैजना हरेक दिन विहानै चिडियाखानामा जान्थे र दिउसभरि चिडियाखानाको विभिन्न दृश्यहरु अवलोकन गरेर कोठामा फर्किन्थे । चिडियाखानामा दिउसभरि दृश्यहरुको अवलोकन गर्ने क्रममा चराहरुका कुनै पनि भालेपोथीले झगडा गरेको देखेनन् उनीहरुले । बरु कहिलेकाही पोथीलाई माया गरेर भालेले फकाएको र भालेलाई माया गरेर पोथीले फकाएका दृश्यहरु हेर्ने अवसर पाए । साना बचेराहरुलाई भालेपोथी दुबैले मिलेर चारो खुवाएका दृश्यहरु हेर्ने अवसर पाए उनीहरुले । चिडियाखानामा उनीहरुले अवलोकन गरेका दृश्यहरुले उनीहरुको मनमा गहिरो प्रभाव पा¥यो । उनीहरुले आत्मसमीक्षा गरे दुबैले । सम्बन्ध विच्छेदका कारणहरु त्यस्ता ठूला र महत्वपूर्ण केही थिएनन् । एकअर्कालाई सम्मान नगर्ने बरु अनावश्यक किसिमले शंका र अविश्वास गर्ने जस्ता झिनामसिना थिए । त्यसपछि भने उनीहरु दुबैले मिलेर न्यायाधीसलाई भेटी सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएर घर फर्के । त्यसपछिको बाकी जीवन साँच्चिकै परेवा र ढुकुरका जोडीजस्तै भएर विताए ।
थाहा छैन, पशुपंक्षीहरुले कहाँबाट सिके यत्ति पवित्र प्रेमको अनुकरण गरी जीवनलाई प्रेममय बनाउन ? प्राणीहरुलाई यत्ति मिठो पवित्रा प्रेमको पाठ सिकाउने विश्वमा त्यस्तो विश्वविद्यालय कुन होला ? हाम्रा विश्वविद्यालयहरुले त प्रेम गर्न त सिकाउछन्, प्रेमका लागि प्रेमपत्र लेख्न पनि सिकाउछन् । तथापि हाम्रा विश्वविद्यालयहरुले सिकाएको प्रेमले मानिसलाई प्रशन्नता भन्दा कैयौंगुना बढि पीडा दिइरहेको छ । प्रेम र विश्वासले भरिनु पर्ने मन र मस्तिष्कहरु स्वार्थ र अविश्वासले भरिएका छन् । जव उनीहरुको बीचमा स्वार्थहरु बाझिन सुरु हुन्छ त्यसपछि उनीहरु पनि टाढिन आरम्भ गर्दछन् । अन्ततः तिनै प्रेमजोडीहरु ज्यानी दुष्मनको रुपमा परिणत गर्दछन् । यस्तै यस्तै स्वार्थपरक सोचका कारणले नै कतिपय प्रेम बिबाहहरु असफल सावित भएका छन् । किन कि प्रेमको आधार नै खराब थियो जसमा हार्दिकता र पवित्रताको स्थान नै थिएन ।
मानिसले सूचना र जानकारीको हिसावले त संसार नै आफ्नो मष्तिष्कमा राख्न सफल भयोे । संसारका प्रतिभाशाली व्यक्तिहरुलाई प्रदान गरिने पुरष्कार र सम्मान पनि जित्न सफल भयो । तथापि उसले अरुलाई सहयोग र सम्मान गर्न सकेन, अरुको समस्या र पीडामा हार्दिकता पोखेर सहयोग गर्न सकेन, अरुका मनका कुरा बुझेर तदनुरुप आचरण र व्यवहार गर्न जानेन र सिकाइलाई सन्दर्भ अनुसार प्रयोग गर्न सक्ने गरी सिर्जनात्मक हुन सकेन भने मष्तिष्कमा सङ्ग्रह गरी राखिएका सूचना र जानकारीहरुको कुनै अर्थ रहदैन न त उसले प्राप्त गरेका पुरष्कार र सम्मानको नै कुनै अर्थ रहन्छ । प्रेमको भण्डारण गर्ने ह्दयमा पैसाको भण्डारण गर्न थालियो भने पनि मानवता सङ्कटमा पर्दछ र आजको यथार्थता पनि त्यही हो । घर देखि दुनियासम्म मानिसको बीचमा हुने कलह र बैमनष्यताको कारण पनि यही हो । मानवता, मूल्यनिष्ठ समाज र बसुदैव कुटुम्बकमको मर्मलाई व्यवहारमा उतारेर समाजलाई सुन्दर बनाउनका लागि हरेक व्यक्तिले आफूस्वयम्बाटै थालनी गर्नु आवश्यक छ । हामीले अरुलाई मित्रको व्यवहार गर्न थाल्यौं भने अरुले पनि हामीलाई मित्रको व्यवहार गर्न थाल्छ नै । अनि पो हुन थाल्छ प्रेम र मित्रताको वर्षा । जीवनभरि निहित स्वार्थ र छलकपटको खेती गर्ने अनि फल भने प्रेम र विश्वासको फलोस भन्ने । विष रोपेर पनि अमृत फल्छ र !