
आजभोलि हरेक नेपालीको मूखमा एउटा कुरा झुण्डिएको छ त्यो हो ‘आजको व्यवस्था भन्दा त पञ्चायत ठिक थियो, राणा शासन नै ठिक थियो, राजतन्त्र नै ठिक थियो ।’ आदि इत्यादि । यी सबैकुराहरुको पछाडिको मनोविज्ञान भनेको ठ्याक्कै नेपाली त्यै उखान ‘फुत्केको माछो दश धार्नी’ भने जस्तै हो । जहिले पनि मानवीय जीवनमा वर्तमानमा भैरहेको कुरामा सधैं असन्तुष्टि मात्रै रहन्छ । हिजो अर्थात बितेका सबैकुराहरु नै राम्रा गतिला, आज ती पाए हुन्थ्यो जस्तो मात्रै लाग्ने गर्छ । तर हरेकको जीवनमा जे हिजो थियो त्यो आज कदापि हुँदैन । जे जस्तो हिजो थियो त्यस्तो पनि न आज हुन्छ न भोलि हुनेछ भन्ने कुरा मानवले सधैं बिर्सिन्छ । तर पनि उ त्यहि हिजोका कल्पनामा आजको आशक्ति पालिरहेको हुन्छ ।
मानव स्वयंको जिवनमा धेरै कालखण्डहरु रहेका हुन्छन् । हिजो बाल्याकाल हुँदाका बखतको जस्तो आज कल्पना मात्रै त हुन्छ तर यर्थात भने हुँदैन । हिजोका ती बालापनका सम्झनाहरु आजका दुःख भुलाउने र केहिबेर मनशान्त पार्ने क्षणहरु मात्रै हुन । ती आजको जीवनका न त यथार्थ हुन न त्यसलाई फर्काएर ल्याउन सकिने चीज हुन ।
हिजोका बालापनका क्षणहरु पनि आजका बालकका बालापन जस्तै हुँदैनन् । हिजोका ती दिनचर्याहरु जस्ता आजका पनि हुँदैनन् । हिजोको जस्तो प्रकृति, सँस्कृति अवस्था पनि ठ्याक्कै त्यस्तै दोहोरिनै सुक्दैन । यो संसार त नियमित आकस्मिकता हो । उहि पुरानै कुराको पुनराबृति त हुँदै होइन भन्ने सामान्य बुझाइ पनि राख्न नसक्दा जीवन जगत नै निकै अन्धकार हुन्छ । राज्यको शासन प्रशासन पनि निकै अनिष्ठकारी नै हुन्छ ।
हिजो जे थियो त्यो त बितिगयो, त्यो अब फर्केर आउँदैन त्यसमा पश्चातापको कुनै अर्थ नै छैन । किनकि अब ठ्याक्कै त्यो फर्केर आउँदैन । आज जे छ त्यो तिम्रो सामुन्ने छ, त्यसलाई माया गर । त्यसको उपयोग गर । त्यसबाट के सत्कर्म सम्पादन हुनसक्छ त्यसमा ध्यान लगाउ । जे भोलि हुनेछ त्यो तिम्रो वशमा नै छैन, त्यसमा तिमीले चिन्ता गरेर आफ्नो बचेको जीवनलाई व्यर्थ नगर । आज गरेको सत्कर्मले भविष्यको गर्भमा रहेको प्रतिफल स्वयं तिम्रो चरणमा आउने छ । त्यसैले सत्कर्ममा समय लगाउ, पश्चाताप र चिन्तामा होइन ।
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ” भगवत गीताको यो ज्ञान हरेक मानिसलाई अति उपयुक्त छ । चाहे नाश्तिक होस् या आश्तिक । बीना कर्म फल त प्राप्त हुनै सक्दैन । यसैले पनि कर्ममा विश्वास गर । कर्मलाई गौण राखेर फलको आशा नगर ।
हिजो त राम्रो पनि थियो होला, या नराम्रो पनि । हिजोले राम्रो गरेको पनि हुनसक्छ या नराम्रो पनि । त्यो हिजोको कुरालाई आज दुरुस्तै ल्याउँछु भनेर खोक्नेहरु भनेका सबै भ्रमजाल फैलाउनेहरु मात्रै हुन । हो हिजोबाट पाठ सिक्न सकिन्छ, या हिजोका राम्रा कुराहरुलाई आधार बनाएर भोलिको मार्ग सहज बनाउन सकिन्छ तर हिजो नै स्थापित त गर्नै सकिँदैन । यसैले हिजोका असल कुराहरुलाई स्थिति गर्दै आजका कुरामा विज्ञान प्रविधि सहित आजलाई गतिशील बनाउन सक्नु पर्दछ । प्राचीनतम् देखि आधुनिकतम् सम्मको संयोगलाई नै स्थितिगत्यात्मक प्रगतिवाद भनिन्छ । बीना स्थितिको गतिशीलता पुङ्गो हुन्छ । इतिहास बीनाको आज जसरी अपुरो हुन्छ त्यस्तै हो ।
नेपालमा अहिले धेरै मानिसहरु हिजोवादी मात्रै भएका छन् । यो हिजोको कुरामा मात्रै रमाउनु भनेको त आजलाई बिर्सनु या आजलाई मूल्याङ्कन गर्न नसक्नु हो । मरेपछि सम्मान गर्ने जिउँदोमा कुनै वास्ता नगर्ने, मरेपछि मात्रै उसका सबै गुणैगुण देख्ने परिपाटिले सधैं वर्तमान अस्तव्यस्त भएको हो । जे मूल्याङ्कन गर्न सकिन्छ त्यो वर्तमानमा नै हो गर्ने अनि मात्रै गतिशील समाजको निर्माण हुन्छ ।
नेपालका वर्तमान राजनीतिक पार्टीहरु र यसका नेतृत्ववर्ग पनि हिजोवादी त्यो पनि नेपालको होइन विदेशीको भूमिमा त्यहाँको कुनै विशिष्ट परिस्थितिमा भए घटेका कुनै कालखण्डका घटना परिघटनालाई, वाद र प्रतिमानलाई नै ठ्याक्कै उस्तै गरि प्रयोग गर्ने डम्फू बजाइरहेका छन् । जहाँ जुन कुराले महत्व कुनैबेला पायो त्यहि कुराले छुट्टै परिवेश भएको नेपालमा त्यो पनि वर्तमानमा महत्व राख्दैन भन्ने कुरा हेक्का राख्नुपर्दछ ।
नेपालमा आजलाई हेर्ने कम छन् जस्तो लाग्न लागिसक्यो । सबैलाई हिजोको कुराप्रति मात्रै मोह बढेको छ । सबैले हिजोलाई जस्ताको तस्तै उतार्न खोज्नु, त्यो भन्दा दायाँबायाँ हुन्न भन्नु नै हिजोवादी चिन्तन हो ।
यदि हिजोका कुरा मात्रै सहि र अकाट्य हुने हो भने त युग परिवर्तन नै हुने थिएन । सत्य, त्रेता, द्धापर र कलि युग पनि आउने थिएन । प्रविधिमा आएको आविष्कारले ल्याएको मोबाइल फोन नोकियाको देश भनेर चिनिएको फिनल्याण्ड र यो ब्राण्डको बलियोपनाको स्थिति बाहेक अर्को कुनै परिचय नै चाहिने थिएन । हरेक कुरामा स्थिति सँगै गशिीलता पनि चाहिन्छ ।
हिजोको नेपालका सबै शासन प्रशासन, व्यवस्था र अवस्था राम्रै राम्रा मात्रै थिएनन् न नराम्रा मात्रै थिए । हिजोका नराम्रा कुराहरु मात्रै देखेर नेपालको इतिहासलाई नै सधैं गाली गरिरहनेहरु र हिजोका नराम्रा कुराहरु लुकाएर राम्रा कुराहरु मात्रै देखाउँदै आज त्यस्तै हुनुपर्छ भन्ने यी दुबैथरि हिजोवादी नै हुन । आजपनि त सबै राम्रो मात्रै कहाँ हुन्छ र ? आजपनि धेरै कुराहरु नराम्रा भएका छन् र राम्रा पनि भएका छन् । आजका नराम्रा कामहरुलाई मात्रै लिएर भोलि आजका राम्रा कामहरु गौण बनाउनु भनेको त इतिहास माथि नै अन्याय गर्नू हो ।
नेपाल मात्रै हिजोवादले बन्नै सक्दैन । जहाँसुकैको हिजोका कुराहरु नेपालमा प्रयोग गर्नुहोस् नेपालको व्यवस्था र अवस्था झनझन् जर्जर बन्दै जाने हो । नेपाललाई वास्तवमा नै सहृदयी नेपाल, समुन्नत नेपाल, खुशहाल नेपाल, अस्तित्वपूर्ण नेपाल बनाउन नेपालका हिजोका असल कुराहरुलाई स्थिति गर्दै आजका राम्रा कुराहरुलाई जोडेर त्यसमा गतिशीलता ल्याएर प्रगति गर्नुपर्दछ । हिजोवाद मात्रैले नेपाल कहिल्यै बन्दैन ।