पृष्ठभूमि
हुन त ईदुलफित्र खुशीयालीको पर्व हो जुन अल्लाहले रोजेदार हरुलाई रोजा बस्दा उपहार स्वरूप दिनुभएकोछ । जसमा नंया कपडा, नंया जुत्ता चप्पल, नंया सरसामान किनिन्छ । मिठो परिकार बनाईन्छ । साथी भाई आफन्तको जमघट हुने गर्छ । तर यो शायद इतिहासकै सबभन्दा दुखद ईदुलफित्र हो जसमा मानिसले कपडा भन्दा बढी कात्रो किनेछन् । मीठो परिकार त के पकाउनु दुई छाक टार्न नै धौ धौ परेछ । साथीभाई र आफन्तको जमघट कहां हो कहां मान्छे देखि मान्छे डराउने अवस्था सृजना भएकोछ । यस्तो महाविपदाको बेलामा ईदको लागि तयारी र खरिददारी नगरी आफुसंग रहेका रकम बचाउनुहोस् जुन भविष्यमा तपाईलाई आवश्यक परेको बेला काम लाग्नेछ यो विषय यस स्तम्भमा उठाउनुको मुख्य कारण यो छ कि यो सबै जिम्मेवारी अधिकांश महिलामाथि नै हुन्छ । यस कारण हामीले यस पाली ईदुलफित्र कसरी मनाउने भन्ने विषय आवश्यक ठानी बुर्काभित्र/बुर्काबाहिरको यस स्तम्भमा आज यसै विषयमा केन्द्रीत रही चर्चा गर्नेछौं ।
संसार भरी मनाईने मुस्लिम समुदायको महान पर्व ईद अर्थात ईदुलफित्र आइसकेछ । हामी सबैलाई थाहा भएकै कुरा हो कि ईदुलफित्र(ईद) रोजेदार (रमजान करीमको एक महिना रोजा बस्ने) हरुको लागि अल्लाहको तर्फबाट दिइएको उपहार हो । यस दिनलाई सेलिब्रेट गर्नका लागि मुस्लिम समुदायले विभिन्न योजना बनाएका हुन्छन् । जस्तै कुन ठांउमा घुम्न जाने , कस्ता लुगाकपडा चप्पलजुत्ता, चुरा गरगहना मेहन्दी आदि कहिले कुन ठांउको कुन पसलबाट कुन दिनमा गएर किन्ने र पुरुषहरु सैलून र महिलाहरु व्यूटीपार्लर कुन दिन कतिखेर जाने आदि योजना बनाई यसरी ईदको तयारी गर्छन् । नभन्दै तयारी पुरा हुन्छ र त्यो महान र खुशियाली वाला दिन आउंछ जुन दिन शरीयते इस्लाम अनुसार नुवाइ धुवाई गरी वृद्ध -वृद्धा, वयस्क, बच्चा महिला पुरुष सबैले आफ्नो हैसियत अनुसार राम्रो भन्दा राम्रो नंया लुगा जुत्ता चप्पल चुरा गरगहना लगाउने, श्रिंगार पटार गर्ने , इत्तर लगाउने र पुरुषहरु ईदगाहमा गई ईदुलफित्रको नमाज पढ्ने अनि महिलाहरु घरमा नफल नमाज पढ्ने गर्छन् । ईदको दिन सिवाईं , दहीवडा, छोयला, रोस्टेड, बिर्यानी जस्ता परिकार बनाउने र आफन्त ईष्ट मित्र नातागोता साथीभाईहरुलाई घरमा दावतमा बोलाईन्छ आफु पनि तिनीहरुकोमा गईन्छ । विगतका झैझगडा, रागद्वेष र मनमुटाव सबै बिर्सेर एक अर्कालाई अंगालो हालेर ईदुलफित्रको शुभकामना र ईदी स्वरूप हैसियत अनुसार केही दक्षिणा दिईन्छ ।
हाम्रो परिवेश
हाम्रो समाजमा हेर्ने हो भने ईदुलफित्रको किनमेल गर्ने र आफु र आफ्नो बच्चाहरु सबभन्दा राम्रो देखियुन् भनी महिलाहरुमा बढी उत्सुकता र उत्साह हुन्छ । अब जबकि हाल यो छ कि सबैको व्यापार कारोबार सब ठप्प छ, दैनिक ज्लायादारहरुले काम पाईरहेका छैन्न्, आम्दानीको कुनै श्रोत छैन् । बचत गरिएको रकम र ऋण लिएर गुजारा चलिरहेछ । कति परिवारका लागि त खाद्यान्न समेत नहुदां दीनदिनै भोकै बस्नु पर्ने अवस्था छ । अब यस्तो बेलामा हामीले ईद कसरी मनाउने भनी जनजनको मनमा चिन्ता छ ।
हामीले हेरीरहेकाछौं कोरोना भाईरसको त्रास बीच बजारमा ईदुलफित्र(ईद) को तयारी स्वरूप अधिकांशले खरिददारी कसरी गर्ने होला ईदुलफित्र कसरी मनाईने होला भनी पीर छ । कसैको घरमा वर्षकै ठुलो पर्व हो र मनाउनुपर्छ भनेर महिलाहरुले कपडा जुत्ता आदि किनिदिन ढिपी गरिरहेकी छिन् । उनी भन्छिन् बच्चालाई ईद जस्तो महान पर्वमा रुवाउने ? कोही भन्छिन् के सालभरीमा एक पटक मात्र आउने पर्व पनि सुख्खा सुख्खा मनाउने? कोही भन्छिन् बिना नंया कपडा नंया जुत्ता ईद त खल्लो हुन्छ । भने कोहीले भन्छिन् हामी त ल नलगाउलां नंया कपडा तर बच्चालाई त हुनै पर्छ । यिनै शब्दहरु हरेक घरमा दिनमा एक दुई पटक त सुनिन्छ नै ।तर के हामीले इस्लामको अर्को पहलुलाई हेरेकाछौं जहां परिस्थिति अनुसार गुजारा गर्न सन्देश दिएको छ आउनुस् हेरौं इस्लामको नजरिया ।
यस सन्दर्भमा शरीयते इस्लाममा
हो ईदुलफित्र पक्कै मुस्लिम समुदायको महान पर्व हो यसलाई खुशीयालीको साथ मनाउनुपर्छ । तर जतिबेला महामारी फैलिएको हुन्छ त्यति बेला के गर्ने भनी हदीश शरीफको एक मफूम छ । जतिबेला महामारी फैलिएको हुन्छ त्यतिखेर घरभित्रै बस यहां सम्मकी पुरुषलाई मश्जिदमा गएर नमाज पढ्नु अनिवार्य छ तर यस बेला घरभित्रै नमाज पढ्नुहोस् भनी आदेश छ त्यति बेला भने ईदको खरीददारी गर्न कसरी मिल्छ । अर्थात इस्लामले भन्छ “जो जहां छौ त्यही बस्नु । जहां महामारी फैलिएछ त्यो ठांउ (शहर)बाट अन्त कतै बाहिर नजाऊ र जहां महामारी फैलिएछ त्यो ठांउ(शहर)मा अन्यकतै बाट न आऊ ।” अर्थात जब इस्लामले यस्तो विषम परिस्थिति र महामारीको बेला घर बाहिर ओहोर दोहोर गर्न रोक लगाएछ भने यदि कसैले आवतजावत गर्छ भने त्यो इस्लामको आदेश विपरीत कार्य हुन आउंछ ।
हामी अधिकतर महिलाहरु सानो सानो समस्या होस् वा ठुलो विपदा होस् जतिखेर नि आत्तिहाल्छौं । अनि त्यही समस्याको बेला कुनै पर्व परिहाल्यो भने यो भएन् त्यो भएन् भनेर अनेक असन्तुष्टिहरु जाहेर गर्छौं । अल्लाहसंग गुनासो गर्न थाल्छौं । आफ्नो भाग्यलाई सरापना थाल्छौं अझ् पुगेन् भने छरछिमेकीसंग पनि दुखेसो पोख्छौं । कहिले कुरानपाक खोलेर हेर्यौं कि अल्लाहले यस्तो परिस्थितिमा गुजारा गर्न के फरमाउनुभयो हाम्रो लागि । आज कुरानपाकमा अल्लाहको फरमानलाई हेरौं भने अल्लाहको फरमान छ ” इन्नल्लाह मा अस साबिरीन” अर्थात अल्लाह शब्र (सहन)गर्ने हरुको साथ हुनुहुन्छ । कुरानपाकको अर्को आयातमा अल्लाहको फरमान छ ” इसतईनु बिस सबरी वस्सलात” अर्थात शब्र र नमाजको साथ मसंग मांग म दिन्छु । यस कारण जो जुन जस्तो अवस्थामा हुनुहुन्छ त्यसमा शब्र (सन्तुष्टी) गर्नुस् र अल्लाहको बारगाहमा शिर झुकाई इबादत गर्नुस् नमाज पढ्नुस् । अल्लाहको कृपा शब्र गर्ने र नमाज पढ्नेहरु माथि अवस्य नै हुनेछ र यस शब्र र शूक्रको बदला(सट्टा)मा आउने दिनमा अल्लाहले सहजता प्रदान गर्नुहुनेछ भन्ने कुरा प्रष्ट छ ।
साथै मनन गरौं पैगम्बरे इस्लाम हजरत मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पवित्र परिवारको रहन सहन कस्तो थियो । पैगम्बर मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम की छोरी हजरत खातुने जन्नत फातिमा जहेरा सलामुल्लाह अलैहा आफ्नो घरको कामकाज आफै गर्नु हुन्थ्यो । उति खेर इलेक्ट्रिक चक्की थिएन् उहांले जांतोमा गहुं आफै पिस्नु हुन्थ्यो । आजभोलि जस्तो बटन थिच्दै पानी आउने गरी समरसेबल थिएन् उतिखेर , तब उहां इनारबाट डोरीले तानेर पानी भर्नु हुन्थ्यो । घरको काम गर्न आजभोलि जस्तो नोकर चाकर थिएन्न् उहां आफ्नो घरको सारा काम आफै गरी आफ्नो बच्चाहरुको पालनपोषण र रेखदेख आफै गर्नु हुन्थ्यो । यहां सम्मकी उहांको हातमा फोकाहरु उठिहाल्थे । उहांले लगाउने कपडामा कैयौं टालो लगाइएका हुन्थे । दिनका दिन उहांको घरमा चुल्हो बल्थेन् दुई दुई तीन तीन दिन घरमा खाना पाक्दैन्थियो भोकै बस्नुहुन्थ्यो । तर पनि उहां कहिले अल्लाहको अगाडि असन्तुष्टी व्यक्त गर्नु हुन्थिएन् । हर हालमा अल्लाहको शुक्र (गुणगान) र बढाई गर्नुहुन्थ्यो । अनि रातरात जागेर अल्लाहको इबादत गर्नुहुन्थ्यो । उनको लागि सहज जीवन बिताउन कुनै ठुलो कुरा थिएन् यदि चाहनु हुन्थ्यो भने स्वर्गकी अप्सराहरु उनको खिदमत(स्याहार) र कामकाज गर्न हरक्षण हात बाधिंएर उभिएकी हुन्थिन् । खाना कपडा सब स्वर्गबाटै आउंथ्यो । तर उंहाले यस्तो गर्नु भएन् । कष्टदायक जीवन बिताउनु भयो जसको एउटा यो खास आशय थियो । कि मानिसहरुले उहांको जीवनबाट शिक्षा लेऊन् कि जब दुबै जहानका मालिक ओ मुख्तार की छोरी भएर पनि अल्लाहको रजा र खुशनुदीका लागि उहां यसरी जीवन बिताउनु भयो र त उहांलाई अल्लाहले जन्नती महिलाहरुको सरदार (हाकिम ) बनाइदिनुभयो ।भने हामी जो उहांको बाबाको उम्मत हौं हामीले पनि उहांबाट सिकौं र हरेक परिस्थितिमा शब्र अनि शुक्रका साथ जीवन बिताऔं । कठिन परिस्थितिमा सन्तुष्टिका साथ अल्लाहको गुणगान गरौं किनभने अल्लाहले यस्ता मोमीनलाई मन पराउनु हुन्छ ।
शरीयते इस्लामले भन्छ हामी जुन देशमा बस्छौ त्यस देशको कानून(इस्लामी शरीयतसंग नबाझिने )लाई पालना गर्नु हाम्रो कर्तव्य हो । इस्लाममा रियाकारी अर्थात देखावा गर्न मनाही रहेको कुराका साथै कुरानपाकको आयात र पैगम्बरे इस्लाम की शहजादी सय्यदा फातिमा सलामुल्लाह अलैहाको जीवनी साझा गर्नुको आशय यो छ कि हामी मनन गरौं ।
उसो भए हामीले अब के गर्ने त ?
यसपालि घरमा रहेको नंया वा पुराना जुन कपडा र जुत्ता आदि छन् तिनै कपडा र जुत्ता लगाएर ईदुलफित्र (ईद) मनाउनुहोस् । बजार न धाउनुहोस् किनकि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले हेरौं भने मानी लिऔं हामीलाई कोरोना लागेछैन् तर पसलेलाई छ भने, उसले हाछ्युं गर्दा वा खोक्दा उसको पसलको सामानमा भाईरस पर्न गयो जुन सामान तपाई किनेर घर ल्याउदैं हुनुहुन्छ त्यसबाट घरमा भाईरस पस्न सक्छ । यस कारण यस्तो अवस्थामा घरभित्रै बस्न भनी इस्लामले भन्छ यदि इस्लामले भनेको कुरा मान्नु भएन र यो वा त्यो बहानामा घरबाहिर बजार जानुहुन्छ भने त्यो इस्लामको खिलाफवर्जी हुन जान्छ ।
अनि एउटा अरु सबभन्दा महत्त्वपूर्ण कुरा यो छ कि फैलिएको यो महामारी कहिले सकिने हो कहिले सम्म संसार लकडाउन रहने हो भन्ने कुनै ठेगान छैन् । यस कारण यो अवस्था कहिले सम्म रहने हो , कुन बेला कति महिना पछि अवस्था सामान्य हुने हो यो कसैलाई थाहा छैन् । तसर्थ तपाईसंग रहेको बचत रकम सुरक्षित राख्नु होस् भोलिको दिनमा काम लाग्नेछ । ईदको शापिंगको नाममा फिजुलखर्ची नगर्नुस् एक अर्कालाई सहयोग गर्नुहोस् । हामीले संधै नै ईदमा नंया नंया कपडा लगाउने गरेकाछौं आफन्त साथीभाईका घुम्न जाने भनी तर यसपालि घरमै बस्नुपर्ने बाध्यता छ । जब घुम्न जानुछैन् भने किन सरसामान किनी आफुसंग भएको बचत रकम सकाउने हैन र । हामीले माथि हेर्यौं कि यस्तो परिस्थितिमा इस्लामिक, व्यवहारिक अनि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले बजार जानु सरसामान किन्नु कदाचित उचित छैन् । त्यस कारण आफु र आफ्नो बच्चाहरुलाई पुरानो कपडा वा घरमा राखिएको कपडा जुत्ता आदि लगाएर यस पालि ईदुलफित्र मनाऔं । एक अर्काको सहयोगी बनौं छरछिमेकीमा कोही असहाय छन् भने आफु सक्दो मद्दत गरौं ।
हामीले हेरेकाछौं यो महामारीको कारण यसपालिको ईदुलफित्रको बेलामा कपडा भन्दा बढी कात्रो किनिए । तसर्थ सतर्क रहौं सुरक्षित रहौं । अर्को वर्ष परिस्थिति सामान्य रहेमा त्यतिबेला पहिला जस्तै उत्साह र उमंगका साथ ईदुलफित्र मनाउनुहोला ।