अरबपतिदेखि रोडपतिसंगै बिताएको रात

स्मृति

तेजबिक्रम शाह


बैशाखको महिना नेपालगन्जमा गर्मी लगभग चर्की सकेको थियो । गर्मी मौसममा नेपालगन्जबाट काठमाडौं पुग्दा एकै पटक खुला एसी मा पुगेझै लाग्ने गर्छ । २०७२ साल बैशाख १२ गते काम बिशेषले मलाई काठमाडौं जानु परेको थियो । बुद्ध एअरको बिहानको फ्लाइट बाट काठमाडौमा ल्याण्ड गरेर भरखरै सुन्धारा स्थित एउटा गेष्ट हाउसमा आराम गर्ने तरखर गर्दै गर्दा अचानक आफु बसेको रुम हल्लिन थाल्यो ।
भूकम्पको महाकम्पनबाट सुरक्षित हुनको लागि भित्ताको सहारा लिएर आफु सुरक्षित हुने प्रयास गर्दा गर्दै एक मिनेट जतिमै त्यो महाकम्पन रोकियो । ४ तला माथि बाट तल दौडेर झर्दै गर्दा गेष्ट हाउसमा भएका पाहुना र गेष्ट हाउसवाला सबै भागिसकेका थिए ।

गेष्ट हाउसबाट लगभग १०० मिटरको दुरीमा रहेको सुन्धारामा दौडेर पुग्दै गर्दा पटक पटक वरपरका गगनचुम्बी घरहरुबाट किच्चिन्छु कि जस्तो लाग्थ्यो । जसोतसो म पनि दौडेर सुन्धाराको खुला ठाउँमा पुग्न सफल भएँ, जहाँ हजारौं हजार मानिसहरु जम्मा भईसकेका थिए ।
लगभग ५० मिटर नजिक रहेको धरहरा ढलिसकेको थियो र धरहरा ढल्दा धेरै मानिसहरु धरहरा भित्र पुरिएका छन् भन्ने थाहा पाएपछि म दौडिएर त्यतातिर पुग्दै थिएँ, ठिक त्यसै बेला इन्सेक नेपालगन्जमा कार्यरत सुशील चौधरी आफ्नो भतिज धरहरा चढेको थियो, के भयो होला भन्दै हरभराउँदै धरहराको भग्नावशेष तर्फ हानिंदै थिए ।
ढलेको धरहराको भग्नावशेष नजिक पुग्दा केहि सडकमै जिन्दगि जिउनेहरू र तल्लो बर्गका मजदुरहरु जस्ता देखिने केहि मानिसहरुले धरहरा भित्र पुरिएकालाई उद्धार गर्ने काम शुरु थालिसकेका थिए भने सुकिला मुकिला देखिने पढेलेखेका र जागिरवाला जस्ता देखिनेकेहि मनुवाहरू मोबाइलबाट उद्धार कार्यको फोटो खिच्दै थिए । धरहरा ढल्दा पुरिएका थुप्रै मानिसहरुको उद्धार कार्यमा मैले पनि लगभग ४ घण्टा बिताएको थिएँ । उद्धार कार्यमा संलग्न हँुदै गरेको अबस्थामा लगभग एक घण्टा पछि नेपाली सेना धरहरामा पुगेको थियो र ढिलो आएकोमा सर्बसाधारणले आपत्ति जनाएका थिए ।
धरहरा ढल्दा थुप्रै मानवज्यान किचिएका थिए भने अनगिन्ती मानिसहरु धरहरा ढल्दा तलतिर पुरिएका थिए र तिनीहरुलाई हामीहरुले उद्धार गरेका थियौं । मलाई अहिले पनि सम्झना छ, कुनै एउटा भरखरको युवा जसलाई भग्नावशेष बाट निकाल्दा २ खुट्टा एक हात भाँच्चिएको अबस्थामा थियो र जब उनलाई बाहिर निकालियो उसले बचेको एक हातले हात हल्लाएर हामीलाई धन्यबाद दिएका थिए ।
लगभग ४ घन्टाको उद्धार कार्यमा संलग्न भैसके पश्चात बाहिर निस्कँदा लगभग ४ बजिसकेको थियो । एउटा सामान्य टिसर्ट र ट्रयाकमा रुममा आराम गर्न लागेको बेला लगाएको कपडा बाहेक न्यानो कपडा म संग थिएन, तसर्थ म आफु बसेको गेस्ट हाउसमा पुग्दा ताला लागेको थियो । केहि न्यानो कपडा किन्नु पर्यो भनेर खिचापोखरी तिर लागेको त त्यहाँ पनि सबै पसलहरु बन्द भैसकेका थिए ा
न्यानो कपडाको अभावमा खुला आकासमा रात गुजार्नु बाहेक अर्को बिकल्प केहि थिएन । तसर्थ, सुरक्षित हुनको लागि रात काट्ने तरखर गर्दै गरेका लाखौँ मानिसहरुको भिड तर्फ लागे । म करीब ७ बजे टुँडिखेलमा नेपाली सेनाको भिआईपी बस्ने प्याराफिटमा पुगे जहां हजारौं मानिसहरु पहिलेनै आश्रय लिईसकेका थिए । त्यहाँ सुत्ने ठाउँको त कुरै नगरौं, बस्ने ठाउँ पाउनु पनि अहोभाग्य जस्तो लाग्थ्यो ।
रात छिपिंदै थियो, पटक पटक भूकम्पका पराकम्पन आउने लाग्दा चराहरु उडेर संकेत गर्दथे । खै कसरी थाह हँुदो हो चराहरुलाई भूकम्प आउने जाने कुरा । त्यो रात मलाई दुई वटा समूहले सहयोग गरे, पहिलो ३ जनाको केटाहरुको समूह थियो । उनीहरुले आफुहरुले खाँदै गरेको केहि चाउचाउ मलाई खान दिएका थिए भने अर्को एउटा ४ जनाको भाई बहिनीहरुको समूह थियो । तिनीहरु मध्य एउटा बहिनीले मलाई जाडोले कांप्दै गरेको थाह पाएर त होला, आफ्नो पछ्यौरी मलाई दिएकी थिइन् । उनिहरु को थिए, कहाँका थिए ? थाह भएन तर काठमाडौं मध्यरातको जाडोमा त्यो पछ्यौरीले धेरै गुण लगाएको छ ।
दोस्रो समूह जसले मलाई जाडोबाट बच्न सहयोग गरेका थिए, तिनीहरु करिब ४ बजेतिर आफ्नो गन्तब्य तर्फ लागे । तर, जाडो अझै सकिएको थिएन िहजारौ मानिसहरुको बिचमा बसेर रात काट्दै गर्दा पनि जाडोले प्रहार गर्न छोडेको थिएन । कसरी २ घण्टा कटाउने भन्ने पिरलो परिरहेको थियो । त्यो क्षण काठमाडौंमा घर भएका र घर नभएर भाडामा बस्नेहरु, अर्थात अरबपति, करोडपति, लखपति र रोडपति एकै साथ् टुंडिखेलमा रात बिताएको क्षण थियो । टुंडिखेलभरी अलग अलग परिवारहरु अलग अलग ठाउँमा आगो तापेर बस्दै रात कटाउदै गरेको दृश्य देख्न सकिन्थ्यो । म जाडोले हैरान भईरहेको अबस्था थियो तसर्थ, मैले ५,७ वटा परिवारले बालेको आगो तापेर रात काटेको सम्झना छ ।
महाबिनासकारी भूकम्पको कारणले कल्पनै गर्न नकिने धनजनको क्षति भईसकेको थियो भने भूकम्पका पराकम्पन लगातार आईनै रहेका थिए । कुनै बेला पनि फेरि ठुलो भूकम्प आउन सक्छ भन्ने मानसिक तनाऊ लगातार भइरहेकोले तुरुन्तै म नेपालगंज फर्कने तरखर गर्न थाले प्लिेनहरु सबै बन्दको अबस्थामा थिए तसर्थ, हवाई सेवाबाट नेपालगन्ज फर्कन सक्ने सम्भव नभएकोले बस बाटनै भए पनि अब नेपालगन्ज गईहाल्नु पर्छ भन्ने मनमा लागिरहेकोले बस बाटनै नेपालगन्ज जाने निधो गरें । तर, बसको सेवा पनि उपलब्ध छैन भन्ने कुरा जानकारीमा आएपनि बरु बस पार्ककै खुला ठाउँमा रात काट्ने तर सुन्धाराको गेष्टहाउसमा एकछिन पनि नबस्ने सोंच बनाएर आफु बस्दै गरेको नमस्ते गेष्ट हाउस तर्फ लागें । गेष्टहाउसमा पुगेर चेकआउट गरेर सामान लिन ४ तला माथिको रुममा पुग्दा सयौं पटक भूकम्प आएर मारिने हो कि भन्ने चिन्ताले सताईरह्यो । दौडेर रुममा पुगेर तल ग्राउण्ड फ्लोरमा कुन बेला पुगेछु, होसै लगभग थिएन ।
गेष्ट हाउसबाट निस्केपछि बसपार्क जानलाई कुनै सवारी साधननै नचलेको कारणले गर्दा पैदलनै भएपनि बसपार्क गईछाड्ने अठोटका साथ् आफुसंग रहेका केहि पुस्तकहरु र कपडाहरु राखिएको झोला बोकेर गंगबु बसपार्क तर्फ लागें । ठमेलबाट गंगबु नजिकको चक्रपथ सम्म पुग्दै गर्दा त्यहाँको सागुरो गल्लीमा पटक पटक भूकम्प आएर मरिछ कि भन्ने त्रासले हैरान हुदै चक्रपथ पुगेछु । चक्रपथ पुगे पछि अलि होस् आएजस्तो भयो र अब त बाचिन्छ कि जस्तो लाग्न थाल्यो । केहि समयमै म गंगबु बस पार्कमा पुगें र ठिक त्यसै बेला नेपालगन्ज जाने एउटा बस हिड्ने थालेको रहेछ र म तेही बसमै चढेछु । बसमा बसे पछी बसको हेल्परलाई पानी किनिदेउन भनेको त बसपार्कमा पानि सकिसक्यो, पाइदैन भनेपछि हाम्रो बस नेपालगन्ज तर्फ लाग्यो । बसमा बसिसकेपछि मलाई आरामले बस्ने सिट थियो, चक्रपथको खुला बाटोमा बस हिड्दै थियो र अब बाचिन्छ जस्तो आभास हुँदै थियो ।

प्रतिक्रिया

प्रतिक्रिया