
पृष्ठभूमि
बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा हामी महिला विशेष मुद्दा उठान गर्ने गरेका छौं । खास गरी विभिन्न हिंसा पीडित महिलाहरुको संघर्षलाई उजागर गर्ने, समुदायभित्र शसक्त रुपमा आत्म निर्भर भइ जीवनयापन गर्दै गरेकी महिलाहरुको सफलताको कथा अनि महिलासंग सीधा सरोकार राख्ने विषयवस्तुमा चर्चा परिचर्चा गर्ने गर्छौं । यस स्तम्भ मार्फत हामीले स्थानीय निकायमा रहेका महिलाहरुका अनुभव निरन्तर साझा गर्दै आइरहेका छौं । यसै क्रममा आज हामी पुरैनी किंगरियनपुरवा कि एक शसक्त महिला नेतृ रजिया शेख किंगरिया ।
जो लामो समयदेखि आफ्नो समुदायको नेतृत्त्व गर्दै आज स्थानीय निकायसम्म पुग्न सफल भएकीछिन् । उनको जीवनानुभव र राजनीतिक पृष्ठभूमि बारे जानकारी लिन उनकै वडा कार्यालय पुगेका थियौं तर उनी फोन गरेको एक घण्टा पश्चात हस्याङफस्याङ गर्दै बल्ल आइपुगिन् । यसको कारण थियो समुदायमा हँुदैं गरेको एउटा घरायसी झगडा मिलाउनु । उनी विगत लामो समय देखि सामाजिक कार्यमा सकृय थिइन् टोलछिमेकका झगडा घरेलुहिंसा जस्ता घटनामा उनी दुबै पक्ष बीच छलफल गराई मिलापत्र गराउने र झगडा नमिले सम्बन्धित निकाय सम्म पुर्याउने काम गर्दै आइरहेकी छिन् । उनी एक सशक्त हाजिरजवाफ महिलाको रुपमा समुदायमा स्थापित भइसकेछिन् । उनीसंग भएको छलफलको केही अंश उनको अनुमति लिइ साझा गरिएको छ ।

तपाईको परिचय पाऊ न ?
मेरो नाम रजिया शेख किंगरिया हो । अनि म बस्ने घर नेपालगंज पुरैनीको किगंरियनपुरवामै छ । म हाल स्थानीय चुनाव जितेर आएकी छु र स्थानीय जनप्रतिनिधिको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दैछु ।
तपाईको विवाह कहिले भएको थियो कति वर्ष उमेरमा ?
(हाँस्दै) यस बारेमा के भनूं मलाई आफै थाहा छैन् कि मेरो विवाह कति वर्षको उमेरमा भएको थियो धेरै सानी थिंए म जब मेरो विवाह भयो । मलाई समय पनि स्मरण छैन् कि कति सालमा भयो ।
हाल तपाईको उमेर कति भइसक्यो ?
हाल मेरो उमेर पचासको हाराहारी पुगिसक्यो होला वा पचास भन्दा केही कम वा बढी पनि हुन सक्छ ।
तपाईको बारेमा थप केही जानकारी छ भने साझा गर्न सक्नु हुन्छ ?
मेरो माइत भारतको नवाबगंज बहराइच जिलामा पर्छ । मेरो विवाह नेपालगंज किंगरियापुरवाका बासी अकबर अली किंगरिया संग भयो । तर उहां अहिले हामी माझ हुनुहुन्न करिब पांच वर्ष भयो उहांको देहांत भएको । मेरा चार सन्तान छन् सबैको विवाह गरिदिइसकेछु ।
तपाई कुन दलबाट चुनाव लड्नुभयो ?
मैले नेपाली कांग्रेस पार्टीबाट चुनाव लडेकी थिएं र जीते पनि आफ्नो पुरै पैनलको साथमा ।
तपाई यो दलमा कहिले देखि आबद्ध हुनुहुन्छ ?
मलाई तीन दशक जति भयो यो दलमा आबद्ध भएको । मेरो पतिको हजुरबा यही पार्टीमा हुनुहुन्थ्यो त्यसपछि मेरो ससुरा पंचायतकाल पंचप्रधान हुनुभयो । उहांले पछि मलाई पनि पार्टी लाग्न आग्रह गर्नुभयो र राजनीतिमा सकृय हुन सक्ने वातावरण पनि तयार बनाउनुभयो । जसको फलस्वरूप आज म सकृय रुपले राजनीति गर्दैछु ।
कस्तो खाले वातावरण तयार पार्ने कुरा गर्नुभयो ?
उहिले बुहारीलाई घरधन्दामा मात्र सीमित राखिन्थ्यो । महिलाहरु राजनीति बाट टाढा हुन्थिन् । ठुलाबडाले मात्र राजनीति गर्थे हामी जस्तालाई सहज थिएन् राजनीति गर्न किनकि समुदायले महिलालाई राजनीति गरेको स्वीकार गर्दैन्थ्यो । त्यसकारण मेरो ससुराले समुदायलाई बुझाउने काम गर्नु भयो मुस्लिम महिलाको राजनीतिमा आवश्यकता रहेको बारे छरपष्ट पार्नु भयो । जसले गर्दा समुदियले बुझ्दै गएपछि मलाई राजनीतिसंग आबद्ध हुन सफलता मिल्यो ।
नेपाली कांग्रेस पार्टीमा नै आबद्ध हुनुको कारण के छ होला ?
नेपाली कांग्रेस पार्टीमा आबद्ध हुनुको एउटै कारण थियो कि त्यस दलमा परिवार पहिले देखि आबद्ध थियो जसको कारण मलाई आबद्ध हुदां त्यति गाह्रो भएन् । अरु दलमा आबद्ध हुदां स्थापित हुन अलि गाह्रै हुनेथियो होला ।
राजनीतिसंग आबद्ध भएपछि तपाईले आफुमा के कस्ता परिवर्तन पाउनुभयो ?
राजनीतिक दलमा आबद्ध भए देखि धेरै परिवर्तन भयो । उहिले आफ्नो परिचय दिन हिच्किचाउने म, आज आफ्नो समुदायका मुद्दाहरु सम्बंधित निकायमा राख्न सक्ने भएकीछु । समाजमा उभिएर बोल्न सक्ने आंट आएको छ । पीडित महिलाहरुलाई न्याय दिलाउन पहल गर्न सक्ने भएकीछु ।
के तपाई आफ्नो पद र पाएको जिम्मेवारीबाट सन्तुष्ट हुनुहुन्छ ?
हजुर पूर्ण रुपले सन्तुष्ट छु, किनभने हामी जितेर आए देखि समुदायका लागि धेरै कामहरु गरेका छौं । पहिला खुल्ला दिसामुक्त अभियानका कारण घरमा चर्पी नहुनेहरुको सबै सिफारिश, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता आदि रोकिएका थिए । हामीहरु आइसकेपछि सबैका लागि सिफारिश र घटनादर्ता खुल्ला गर्यौं किनभने समुदायको वास्तविक अवस्था हामीलाई थाहा छ । समुदायमा यस्ता परिवार छन् जोसंग बस्न घर बनाउने जग्गा छैन उनीहरुले चर्पी कहांबाट बनाउनेछन् । यस कारण अवस्था बुझेर हामीले जनतालाई सहजता प्रदान गर्यौं । कोरोनाकालमा राहत सामग्री वितरण गर्यौं र अरु संघ संस्थालाई भनसुन गरी उनीहरु मार्फत पनि राहत वितरण गर्न लगायौं ।
तपाईले कुन यस्तो काम गर्नुभयो जसले गर्दा तपाईलाई लाग्छ कि तपाई फेरि चुनाव लड्दा जनताले तपाईलाई भोट दिएर जिताउनेछन् ?
हुन त म पढेलेको छैन मसंग कुनै डिग्री छैन् तर पनि हामीले मिलेर समुदायका लागि धेरै काम गरेकाछौं जस्तैः गाउँको मस्जिदमा सोलार लगाएका छौं र मन्दिर बनाएका छौं । जुन गल्लीमा निस्किनै गाह्रो हुन्थ्यो त्यो ठाउँमा सडक बनायौं । कोरोनाका कारण लकडाउन लागेका बेला जनतालाई भोकै मर्न नपरोस् भनी राहत वितरण गरायौं । हाम्रो कार्यकालमा ५०० जना जति हराएको जन्मदर्ता विवाहदर्ता नागरिकताका लागि सिफारिश आदि गरायौं । अझै पनि बाकी कार्यकालभित्र जनताको हित हुने काम गर्नेछौं र आवश्यक बजेटहरु छुट्याउनेछौं ।
तपाईले भन्नुभयो कि तपाई त पढ्न लेख्न सक्नु हुदैन अनि तपाईलाई कामकाज गर्दा गाह्रो हँुदैन ?
हेर्नुस् काम गर्नेलाई इच्छाशक्तिको आवश्यकता हुन्छ म सँग डिग्री छैन तर पनि म आफ्नो काम इमानदारी साथ गरिरहेकी छु । पढेलेखेको व्यक्ति संग त कहिले काहीं कलम चलाउँदा गल्ती हुन पनि सक्छ । तर मलाई कति पनि गाह्रो हँुदैंन म आफुले नजानेका कुरा पढेलेखेकाहरु संग सोध्छु अनि मात्र निणर्य गर्छु । त्यसकारण मलाई कति पनि गाह्रो लाग्दैन ।
उसो भए नपढेकाले नै राजनीति गर्नुपर्छ भनी भन्न खोज्नु भा हो त ?
हैन, त्यसो त होइन पढेलेखेकाहरुलाई जतिको सहजता नपढे लेखेकोलाई हँुदैन । म पनि कहिले काहीं सोच्छु कि यदि मेरो आमाबुवाले शिक्षा दिएको भए म अझ राम्ररी काम गर्ने थिए । जब नपढेर यतिका जिम्मेवारी निर्वाह गर्दैछु भने पढेको भए त अझ् राम्ररी गर्ने थिए ।
अन्तमा केही भन्न चाहनु हुन्छ ?
म यही भन्न चाहन्छु कि जसरी हामी राजनीतिमा सकृय रुपले अगाडि बढेका छौं त्यसरी नै अरु महिलाहरु पनि अगाडि बढ्नु पर्छ । उनीहरुलाई राजनीतिमा अगाडि बढ्न सक्ने वातावरण तयार पार्नुपर्छ ।
परिवेश
आज हाम्रो सामाजिक परिवेशको कुरा गर्ने हो भने करिब दुई दशक पछि मात्र स्थानीय चुनाव भएको हो । संविधान ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्यको प्रावधान आयो जबको फलस्वरूप प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य राख्नु पर्यो । तर महिलाको कोटा पुरा गर्ने उद्देश्यले पार्टीका सदस्यको परिवार, आफ्ना नातागोता, आफन्त, नजिकका परिवार आदिबाट राजनीतिक सामाजिक कार्यको अनुभव नभएकै महिलाहरुलाई उठाइयो । अवस्था यो छ कि उनीहरुलाई आफ्नो काम कर्तव्यका दायरा र जिम्मेवारी अधिकार क्षेत्र बारे पुर्ण जानकारी छैन् । कसै कसैलाई जानकारी हुदैं गइरहेछ । उनीहरुले सिक्दै आफ्नो काम गर्दैछिन् । सुरुमा कुनै अनुभव बिना नै चुनावमा उठेपनि अनुभव हुँदै जाँदा उनीहरुमा राजनीति प्रतिको चासो र इच्छा पनि बढ्दै गइरहेको छ । कहीं महिला वा पहिलाको परिवार सदस्य दरो रुपमा उभिंदा काम गर्न सजिलो छ जहां जहां महिला कमजोर छिन् त्यहाँ उनीहरुलाई दबाइएर राखिएछ । समग्रमा हेर्दा यो एउटा ठुलो राजनीतिक क्रान्ति हो । एक त महिलाहरु आफै स्थानीय निकायको काम काजमा कुनै चासों लिदैनन् यो भनेर कि यो अध्यक्षले गरे वा हेरे भइहाल्छ । भने अर्को तिर पुरुषहरु नै प्रमुख भएर आएका हुनाले उनले महिलाहरुलाई नटेर्ने उनीहरुको कुनै अस्तित्व नै रहेको झै व्यवहार गर्दैछन् । कहीं कदम कदाचित कुनै महिलाले आंट गरेर स्थानीय निकायका काम काजमा रुची राख्दा उनीहरुमाथि दबाब सृजना गरिन्छ यो व्यवहार खास गरी बजेट बिनियोजन र बजेट निस्कासनको बेलामा गरिन्छ ।
तर, नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा त्यस्तो अवस्था नरहेको भनी महिला जनप्रतिनिधि रजिया शेख किंगरिया भन्छिन् उहांको भनाइ अनुसार उनको कार्यालयमा महिला जनप्रतिनिधिलाई काम गर्न त्यति गाह्रो छैन । अध्यक्षले सबैको सहमति र उपस्थितिमा मात्र कुनै पनि निर्णय गर्छन् । हरेक काम कारबाही उनलाई जानकारी गराएर मात्र अगाडि बढाइन्छ । उनी अगाडि भन्छिन् कि आफु पढ्न लेख्न नजाने पनि सहयोगी अध्यक्ष पाएकोले काम गर्न निकै सहज र महिलामैत्री वातावरण छ ।
चुनौती
संधै घरको पर्खालभित्र सीमित रहने हुनाले राजनीतिक र सामाजिक कार्यको अनुभव नै नभएका महिलाहरु आएका हुनाले स्थानीय निकायमा सेवाग्राहीहरु समस्या खेप्नु पर्ने अवस्था सृजना भएको हुन्छ । कार्यालयमा बसेर कार्य गर्न सम्बन्धित विषयमा आफु विज्ञ नहुँदा गरिएका कार्यमा दक्षता नहुन सक्ने सम्भावना बढी रहन्छ । अधिकांश जनप्रतिनिधिहरुलाई नियम कानून बारे पुर्ण जानकारी छैन् जसले गर्दा उनीहरुलाई अरुको सहयोगको खांचो पर्ने गर्छ । महिलाहरुप्रति जनसमुदायको विश्वास कम छ जसले गर्दा उनीहरुलाई असक्षम ठानी उनीहरुलाई महत्वपूर्ण निर्णयहरुमा समेत सहभागी गराइँदैन । पुरुषको नेतृत्वमा काम गर्नुपर्ने हुँदा महिला भएकै कारण कतिपय ठाउँमा गाह्रो हुन्छ ।
सिकाइ
हाम्रो देशमा गणतन्त्र स्थापना पछिको भएको पहिलो स्थानीय चुनावले धेरै कुरा सिक्ने अवसर प्रदान गरेकोछ । अहिलेको स्थानीय निकाय र जनप्रतिनिधिहरुको सकृयता, इच्छाशक्ति र अवसरले मानिसलाई दक्ष बनाउंछ भन्ने सिकाइ भयो । हालको अनुभव समेटेर अगामी दिनमा महिलाहरुले नेतृत्वकारी भुमिका निर्वाह गर्न सक्नेछिन् । महिलाहरुप्रति जनविश्वास बढाउन आवश्यक छ साथै उनीहरु स्थानीय निकायका एक महत्वपूर्ण व्यक्तित्व हुन् भनी महसुस गराउन जरुरी छ । यसका साथै महिला जनप्रतिनिधिहरुलाई कानून सम्बन्धी बेला बेला जानकारी मुलक तालिमहरुको आयोजना, कार्य अनुभव साटासाट, वार्षिक समिक्षा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्नु आवश्यक छ । जसले गर्दा अगामी दिनमा समुदायलाई सहजता र फाईदा पुगोस् ।
परिकल्पना
सदियौं देखि महिला र पुरुषको साझेदारीबाट चलिरहेको हाम्रो समाजभित्र भित्र अझ सकारात्मक परिवर्तन हुनेछ । महिला पुरुष एक अर्काको सहयोगी भएर एक अर्काको काम कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आ आफ्नो स्थानबाट साथ र सहयोग गर्नेछन् । जसको फलस्वरूप अगामी दिनमा महिला जनप्रतिनिधिहरु सक्षम भइ आ आफ्नो स्तर र स्थानबाट सफल राजनीतिक नेतृत्वकर्ताको रुपमा स्थापित गर्न सक्नेछिन् । महिलामैत्री निकाय र महिलामैत्री समाजको निर्माण हुनेछ ।
यसै सन्दर्भमा
वडा नम्बर २२ वडा अध्यक्ष विद्याराम वर्मा ज्यूसंग यसै सन्दर्भमा कुराकानी गर्दा उहांले भन्नुभयो “सरकारले ३३ प्रतिशत महिला अनिवार्य को जुन कानून लागु गर्यौ त्यो सह्रनीय छ । ३३ प्रतिशत महिला अनिवार्यको अवधारणाले धेरै सकारात्मक असर देखियो । घरभित्र बसेका महिलाहरुलाई सामाजिक क्षेत्रमा अघि बढ्ने मौका प्राप्त भयो । आज राजनीतिमा पनि यही कारणले महिलाहरुको उपस्थिति सन्तोषजनक पाइएको छ । यद्यपि कहिल्यै घरबाहिर ननिस्केका र पढ्न लेख्न नसक्ने महिलाहरुलाई अलि गाह्रो भएको कुरा महसुस गरेका छौं तथापि सरकारद्वारा गरिएको यो एउटा राम्रो र सह्रनीय पहल हो । हामी आशावादी छौं कि यसले अगामी दिनमा अझ सकारात्मक असर र प्रतिफल दिनेछ ।