
हुन त आमा बुवाले यो सोचेर आफ्नी छोरीको विवाह गर्छन् कि उनकी छोरी विवाह गरी आफ्नो पतिको घर गएर सुखमय जीवन बिताऊन् । तर सबैको भाग्यमा वैवाहिक जीवनको सुख कहां हुन्छ । यस्तै एक महिला छिन् परसपुरकी जेबा इद्रीसी उनको विवाह भारतको बहराइच जिल्लामा भयो । आज हामी तिनका बारेमा चर्च गर्नेछौं जो नेपालगन्जभित्र नभइ नेपालभरी नै अधिक संख्यामा छिन् । नेपालगन्जकै कुरा गर्ने हो भने यहाँ विभिन्न ठाउँमा यस्ती महिला छिन्, जसको विवाह भारतमा भयो तर घरेलुहिंसा, दाईजोको माग पुरा नगर्न सकेका, छोरी जन्माउने कारणले उनीहरु आफु र आफ्ना बच्चाहरु सहित माईतीमा बसेर कष्टपूर्ण जीवन बिताइरहेकी छिन् ।
हुन त दुबै देशमा महिलाका पक्षमा बलिया कानून छन् तर समुदायको शैक्षित स्तर हामी सबैलाई थाहा नै छ । कानूनी अज्ञानता, अडचन, लामो । र जटिल प्रकृया कै कारण आज धेरै नेपालीचेलीहरु जसको विवाह भारत भयो तर उनीहरु माईतमा निकै समस्या झेल्दैछिन् । उनकी सन्तानहरु राम्रो शिक्षादिक्षाबाट बन्चित छन् । गरीबीका कारण उनीहरुका साना साना बच्चाहरु बालश्रम गर्न बाध्य छन् दुई छाक टार्न धौ धौ पर्छ । शरीर ढाक्न ढंगको कपडा हुँदैन खुट्टामा चप्पल हुदैंन् तर पनि विचराहरु मजदुरी गर्न अर्को खेत र पसलमा जानुपर्छ । आमाबुवाको माया ममता पाउनुको सट्टा साहुहरुको गाली बेज्जती सहनुपर्छ । महिलाहरुको अवस्था पनि दयनीय नै छ माईतीघर घरेलुकामदार सरह काम गर्नुपर्छ दुई छाक खाना र शरीर ढाक्ने कपडा लाउन आमाबुवा, दाई भाउजुको मुख ताक्नुपर्छ । अरुको घरमा समेत काम गर्नुपर्छ तैपनि समुदायको चार थरी कुरा सुन्नुपर्छ कि विवाह भएर पनि पतिको घरमा गरी खान सकिन् फेरी माईती नै बस्न आइहालिछे । यस्तै समस्या सहेर पनि आफ्ना तीन सन्तानहरुको साथमा माईतीमा कष्टपुर्ण जीवन बिताइरहेकी ३५ वर्षीय जेबा इद्रीसी (सकिला) को विवाह १५ सालको उमेर भारतको बहराईच नवाबगंजमा भयो । उनको तीन सन्तान छन् ।जेठी छोरी महेक १४ वर्षकी, माईली छोरी मुस्कान १२ वर्षकी र कान्छाछोरा नौशाद ७ वर्षका भइसकेछन् । छोरा नौशाद ५ महिनाको गर्भमा छदां माइत आएको तब देखि बसिरहेकीछिन् । उनीसंग गरिएको कुराकानीको केही भाग उनको अनुमतिमा हामीले यहाँ साझा गरेका छौं ।

आरामै हुनुहुन्छ ?
हजुर आरामै छु भन्नु पर्छ जे जस्तो दुख कष्ट भएनि ।
के कस्तो व्यस्तता छ आजभोलि ?
खासै व्यस्तता त छैन् म त्यति पढेलेखेकी छैन् त्यसकारण कतै नोकरी गर्न सक्दिन् तर आफ्ना बच्चाहरुलाई पालनपोषण गर्न र आफ्नो खर्च निकाल्न लकडाउन सुरु हुन भन्दा तीन महिना अघि मात्र एउटा मदरसामा सरसफाई गर्ने काम सुरु गरेकी थिएं तर लकडाउनका कारण मदरसा तब देखि बन्द नै छ । माईतमा बसेकीछु त्यस कारण घरको कामकाज गरेरै समय बिताउदैंछु आफ्नो भाग्यलाई श्राप्दै बसेछु ।
तपाईले आफ्नो माइतीमा किन बसिरहनु भएको छ ?
दुई छोरी पछि तेस्रो पटक म गर्भवती थिएँ जब मेरो पतिले मलाई अब पनि छोरी जन्मि भने तिमीलाई तलाक छ, तिमीलाई तलाक छ, तिमीलाई तलाक छ तीन पटक भनेर मर्ने गरी कुटपिट गरेर मरी सके होली भनी घर भन्दा टाढाको एउटा बगैंचामा फाल्दिएका थिए म बेहोश थिएं । त्यहाँका एक जना पण्डितले मेरो नातादारको घर खबर पुर्याए उनीहरुले नेपालमा मेरो माइत फोन गरे अनि सबै जनाले मलाई अस्पताल लगे । अस्पतालमा मलाई तीन घण्टा पछि होश आयो अनि डाक्टरले औषधी दिएपछि मलाई मेरो दाईले बहराइचबाट नेपालगंज ल्याउनुभयो । तब देखि यही छु । अहिले छोरा सात वर्षको भइसकेछ म सात वर्षदेखि गरीब माईतमा तीन जवान हुदैं गरेका सन्तानहरुको साथ आस्रित जीवन बिताउन बाध्य छु ।
कति वर्ष जति भयो माईत बस्न थालेको ?
कति वर्ष होइन म त यही नै धेरै जसो बसे किन भने मेरो पति कपडा सिलाउने काम गर्नु हुन्थ्यो । अनि आएदिन मलाई कुटपिट गरी माईत ल्याएर छाडेर जान्थे । मलाई कुटपिटबाट लागेको घाउचोट निको भएपछि आमा बुवाले यो सोचेर मलाई फेरी पतिको घर पठाउन्थे कि छोरीको एक नांउबाट दुई नांउ नहोस् । म एक महिना त्यहां बस्थे त्यहाँ बस्दा ममाथि कुटपिट हँुदा चोटपटक लाग्थ्यो त्यो दुई तीन महिनामा निको हुन्थ्यो अनि फेरी जान्थे । वर्षको बाह्र महिनामा म मुश्किल ले तीन चार महिला त्यहाँ बस्थे बाँकी समय माइतमा बस्नु पथ्र्यो । यही क्रममा तीन सन्तानहरुको आमा बनें हुन त आमा बन्नु एउटा विवाहित महिलाका लागि शौभाग्य हो तर एउटा श्राप नै थियो मेरो लागि पहिलो सन्तान छोरी जन्मिएकोले ।
तपाईको घटनाक्रमबारे विस्तृत जानकारी गराउनु हुन्छ ?
हरेक आमा बुवाको साथ छोरीको पनि सपना र आशा हुन्छ कि ऊ बिहे पश्चात आफ्नो पतिसंग उसको घरमा राम्ररी बसुन् । उनीहरुको सपना र अपेक्षा हुन्छ कि छोरीको सुखमय वैवाहिक जीवन होस् । तर मेरो भाग्य फुटेको हुनाले नै होला मेरो विवाह पछि केही समय राम्ररी बित्यो । त्यसपछि साना साना निहुमा मलाई कुटपिट गर्न सुरु गरियो । मेरो पतिको अर्कै महिलासंग चक्कर थियो यसकारण उ संग छुटकारा चाहन्थ्यो जसले गर्दा अझ् त्यसमाथि पहिलो र दोस्रो सन्तान छोरी जन्मिइन् जसले गर्दा ममाथि हिंसा बढ्दै गयो । अनि तेस्रो पटक गर्भवती हुँदा त हदैसम्म अत्याचार गरे मलाई मर्ने गरी कुटपिट गरी घर भन्दा टाढाको बगैंचामा लगेर फाल्दिएका थिए । मसंग घरका सारा कामकाज गराइन्थ्यो तर मलाई खाना पेटभरी दिईदैन्थ्यो । मेरा छोरीहरुलाई कपडा मलाई कपडा मेरो माइतबाट आएपछि मात्र लगाउन पाउन्थे । उनीहरूले कपडा समेत किनेर दिदैन्थे । शारारिक यातनाका साथै मानसिक यातना समेत दिइन्थ्यो । पटक पटक रकम माग गरिन्थ्यो थोरै भ एकोले आमाबुवाले जेनतेन गरी दिएर पठाइदिन्थे । अन्तिम पटक मेरो पतिले भने कि म विदेश जान्छु कमाउन त्यसकारण कि त मलाई पचास हजार माईतबाट ल्याएर देऊ कि आफु पनि उतै गएर बस् ।
तपाईको पारिवारिक अवस्था बारे जानकारी गराउनु हुन्छ ?
पतिको परिवार तर्फ पतिको अर्की पत्नी उसका बच्चाहरु पतिकी आमा भाई, बुहारी र उनीहरुका बच्चा छन् । माईत तर्फ आमा, चार दाजुभाई अनि म लगायत तीन दिदी बहिनी छौं । जसमध्ये दुई भाईको बिहे भएको छैन् बाकी सबैको विवाह भईसकेछ । दुई दाजु भाउजु उनका आठ बच्चाबच्ची म र मेरा तीन बच्चा मेरी आमा अनि दुईटा अविवाहित भाईहरु यसै घरमा बस्छौं । जहाँ यो कोठामा मेरी आमा अनि म आफ्ना तीन बच्चाका साथ एउटै खाटमा सुत्नु पर्ने बाध्यता छ । न अरु कोठा छ न त खाट नै त्यस कारण एउटै खाटमा खुट्टा तेस्रियाएर सुत्दा खुट्टा राख्ने ठांउ नपुग्दा कुर्सीमा खुट्टा राखेर सुत्छौं ।
तपाईका तीन वटा सन्तानहरु छन् तिनको अधिकारका लागि र तपाई माथि जुन अत्याचार भयो त्यस विरुद्ध कहिले कुनै कारबाही गर्न गराउन पहल गर्नु भएन् ?
आफु माथि भएको अत्याचार बारे हरेक पटक माफ गरे तर अन्तिम पटक त मर्ने गरी कुट्दा त्यस बारे उजूरी गरे कुनै सुनुवाई भएन् । अनि आफ्नो बच्चाहरुको अधिकारका लागि अदालतमा मुद्दा समेत हाले । तर भारतको कानून आफुलाई केही थाहा नभएकोले त्यहां कुनै सुनुवाई भएन् । उनीहरुले जज र वकिललाई किनिहालेका थिए हाम्रो वकिलले भन्यो तपाई नेपालको भएकोले तपाईको सुनुवाई दरो हुदैंन् उनीहरु यहीका स्थानीय नागरिक भएकोले उनीहरुको पक्ष बलियो छ त्यसकारण तपाईहरु अब मुद्दा नलडनुस् पैसा र समय मात्र खेर जान्छ जीत भने उनीहरुकै हुन्छ । वकिलले नै यस्तो भनिदिएपछि हाम्रो पनि आशा मर्यो हामी मुद्दा नै नलडेर फिर्ता आयौं । अहिले छोरी पनि जवान हुदैंछिन् उनको विवाह शिक्षा सुरक्षा आदिको चिन्ताले निन्द्रा लाग्दैन ।
जीवन त अझै धेरै लामो छ सो भविष्यको बारे के सोच्नु भएछ ?
आफ्नो भविष्यको कुनै चिन्ता छैन किन भने आधा उमेर त गइसक्यो अब बाकी रहेको जीवन पनि कटिहाल्छ मिहेनत गरेर । चिन्ता भनेको सन्तानहरुको बढी छ उनीहरु शिक्षादिक्षा, पालनपोषण खाना खर्च कसरी व्यहोर्ने होला भनी ।
उसो भए तपाईको कुनै माग छ पति तर्फबाट ?
मलाई मेरो लागि केही पनि चाहिदैंन् बरु उसले आफ्नो दुबै छोरी र छोराको पालनपोषण खर्च विवाह, उच्च शिक्षा आदिको जिम्मा लिईदिए त्यही नै काफी हुन्छ ।
अन्तमा केही भन्नुछ ?
म यति भन्न चाहन्छु कि महिलाको विवाह पश्चात उनीहरुको भाग्यको जिम्मा आखिर कसले लिने ? विवाह गराउँदा सबैले पति र परिवार राम्रै खोज्ने गर्छन् तर पछि पतिले नै साथ छाडिदिदां महिलाको भविष्य अन्धकार भइहाल्छ । अझ् छोराछोरीको जिम्मेवारी महिलाकै कांधमा आइदिए महिलालाई झन् झन् गाह्रो हुन्छ । त्यस कारण विवाह गरिसकेपछि महिला र पुरुषले आफ्नो आफ्नो जिम्मेवारी पूर्ण रुपले निभाएमा कुनै समस्या नै रहदैंन् । यस कारण हामीले चाहे त्यो महिला होस् वा पुरुष आ आफ्नो जिम्मेवारी निभाउनुका साथै एक अर्का माथि विश्वास गर्नुपर्छ । आ आफ्नो मर्यादाको पालना गर्नुपर्छ तब मात्र सभ्य समाजको सृजना हुनेछ ।
अवस्था
नेपाल र भारत बीचको रोटीबेटीको सम्बंध शदियौं देखि चलिआएको छ । नेपाली चेली भारतमा विवाह गरेर जाने र भारतीय चेली नेपालमा विवाह भएर आउने गर्छिन् यसरी नै यी दुई देश बीच पारिवारिक सम्बंध कायम छ । तर हाल यो सम्बंधलाई दाईजो र घरेलुहिंसाको धमिरो लागेको हुनाले जहां पहिला सुखशैलका साथ वैवाहिक कुशल दामपत्य जीवन बिताउन्थे त्यही आज हिंसा र विभिन्न समस्याको सिकार हुदैंछिन् । अहिले धेरै नेपाली चेली जसको विवाह भारतको विभिन्न ठांउमा भयो तर कारणवश वैवाहिक सम्बन्ध टिकेन अनि उनीहरु आफ्ना सन्तानहरुको साथ माईतमा कष्टकर जीवन बिताउन बाध्य छिन् ।
चुनौती
महिलाका हितमा दुबै देश बलियो कानून रहे पनि यी महिलाहरुलाई न्याय दिलाउन फरक देशका फरक कानूनी व्यवस्था र फरक कानूनी भाषा एउटा ठुलो चुनौतीको रुपमा छ । यसका साथै राजदूत वास मार्फत कानूनी प्रकृयामा जादां निकै जटिल, लामो र यस बारे सही जानकारी नरहेकोले धेरैलाई अडचन र समस्याको सामना गर्नुपर्छ ।
सिकाइ र आशातित उप्लब्धि
समुदाय स्तरमा छलफल गरी सबै विषयवस्तु बारे विस्तृत जानकारी लिईसके पछि यो कुरा प्रष्ट भयो कि यदि यस्ती पीडित महिलाहरुलाई न्याय दिलाउन सजिलो बाटो र सहज प्रकृया भइ दिए धेरै महिला र उनका सन्तानहरुले न्याय पाउनुका साथै आफ्नो अधिकार पनि पाउनेछन् । दुबै पक्षलाई मनोशामाजिक परामर्श गरिदिने सहज निकाय भइ दिए धेरै घर परिवार टुट्नबाट जोगिन सक्छन् । जसको फलस्वरूप तिनका सन्तानहरु आफ्नो आमाका साथै पितृस्नेह र परिवारको साथ र माया पाउन सक्ने छन् ।
गर्नु पर्ने पहल
हुन त प्रहरी निकायले यस विषयमा गम्भीरता साथ देख्ने गर्छ तर महिलाहरु प्रहरी निकाय सम्म पुग्न सक्ने वातावरण छैन् भने अर्को तिर प्रहरी निकायले पहल गर्दा आफ्नो घरमा प्रहरी किन लिएर आइस् भनी मानमर्यादामा ठेस पुग्ने कारण पनि राख्ने गर्दा प्रहरीमा उजूरी गर्ने महिलालाई सहर्ष स्वीकार गरिन सक्ने सोच र वातावरण छैन् । यसकारण महिलाहरुलाई न्याय र बच्चाहरुलाई पितृस्नेह र माया दिलाउनका लागि दुबै देशका पदाधिकारीहरुले छलफल गरी कुनै सहज तरिका खोज्नुपर्छ । जहां पीडित महिला र पुरुष सहजै पुगेर आफ्ना समस्या राख्न सकुन् ।
परिदृश्य रपरिकल्पना
दुबै देशको साझा पहलमा यदि महिलालाई न्याय र अधिकार दिलाउने समाजले स्वीकार गर्न सक्ने सहज वातावरण तयार भयो भने धेरै महिलाहरुले न्यायको अनुभूति गर्नेछिन् । साथै उनको अधिकार र परिवार पनि सुरक्षित रहनेछ । बच्चाहरुलाई उनको आमाबुवा सहितको परिवार स्नेह, मायाममता, साथ, सहयोग प्राप्त हुनेछ ।