जीवन शर्मा
विभिन्न व्यवसाय संचालन गरि आफ्नो जिविकोपार्जन गर्ने व्यापारिक संस्थाको हक हित, सुरक्षा, सल्लाह तथा परामर्शका लागि व्यापार संघको स्थापना गरिएको हो । यसैको एउटा अंगको नेपालगन्ज उद्योग व्यापार संघ । भर्खर नेपालगन्ज उद्योग व्यापार संघको नयाँ कार्यसमिति निर्वाचन माध्यमबाट चयन प्रक्रिया सम्पन्न भएको छ ।
प्रजातान्त्रिक मुलुकमा हरेक व्यक्तिलाई आफ्नो अधिकार प्रयोग गर्न पाउनु तथा इच्छा अनुसार अगाडि बढ्न पाउनु छुट छ । व्यापारीको हक हित र सुरक्षा जस्ता विषयलाई अगाडी सारेर हिड्ने संस्थामा देखिएको यो चुनावी चहलपहल त्यति राम्रो सन्देशमुलक हुन भने सकेन । त्यो हरेक व्यापारीको लागि दुःखत र सम्बन्धित संस्थाबाट हुने कामको भविष्य अन्योल तर्फ नै गई रहेको पक्कै हो । किनकी गुट उपगुटले कही कतै नै कतै चिसो राखि राख्छ, जसले व्यापारीको पक्षमा वकालत गर्दा त्यसले फरक अवश्य छुट्याउने गर्छ र गर्ला पनि । त्यो विभिन्न क्षेत्रमा विगतमा देखिएका उदाहरण हामीहरु माझ नभएका होइनन् ।
यति हुँदाहुँदै पनि हामी यस नवनिर्वाचित कार्य समितिबाट आशा गर्ने धेरै विषयहरु छन् । नयाँ कार्य समितिमा कुनै गुट उपगुट नगरि २ देखि ३ उपसमिति गठन गरि व्यापारिले के चाहन्छन र वास्तवमै के समस्या छ, त्यसलाई विभिन्न चरण र क्षेत्रमा गई त्यसको वास्तवविकता छानविन गरि वास्तविकता पत्ता लगाउनु पर्दछ ।
त्यसपछि आफ्नो कार्य योजनालाई अगाडी बढाउन बुदाँ बुँदामा छलफल गरी कुन बुँदा कहाँ र कुन क्षेत्रबाट जाँदा सफल र सहि हुन्छ, त्यसतिर पहल कदमी गर्नुपर्दछ भने त्यसलाई भरोसामा परिणत गरी आफ्नो संघका सदस्यको व्यापारिक समस्या हल गर्न अगाडि बढ्ने हो भने जुन विगत देखि आजसम्म जिउका तिउ छन् ती समस्या जसमा नेपालगन्ज र रुपैडिहा बजारको व्यापारिक मार्ग खुल्ला भई यता सुक्ने सिमापारी फुक्ने प्रमुख बुँदामा आउँदछ । यसलाई दुवै गुटले आफ्नो चुनावी दौरान जोडतोडले उठाएको र नारा बनाएको हामीले देखेका छौ ।
नेपाल भारत सिमाबाट हुने कारोवार रोक्न देशको केन्द्रीय स्तरबाट कुनै ठोस कदम नचाले सम्म कसैले चहाँदैमा र भन्दैमा समाधान हुने वाला छैन । चाहे त्यो जुन गुट या व्यक्ति भनोस या नारा बनाओस्, त्यो सबैलाई थाहा भएकै कुरा हो । तर पनि यो कार्य समितिले केन्द्रीय स्तरमा व्यापार महासँघको माध्यमबाट अगाडि बढी देशको नितिमा परिवर्तन ल्याउने सक्ने सम्भावना छ ।
त्यसका लागि अलि बलियो पहल जारी छ । नेपालमा उपलब्ध हुने हरेक सामान सिमा पारीबाट लिएर आउँदा भन्सारमा लाग्ने कर तिर्दा, यता सस्तो र सहज हुने हिसाबले निति बनाउन सक्ने र आफ्ना व्यापारिक सदस्यहरुलाई व्यापार व्यवसाय स्वच्छ, प्रतिस्पर्धी र माग भए बमोजिम सामान उपलब्ध गराउन सक्ने हो भने यसले एक न एकि दिन सफलता पक्कै पाउने छ । तर विडम्वना भनौ उखु किसानका ति आँसु अनि मुखदर्शक सरकारी संयन्त्रबाट देशमा चिनि उत्पादन र उखु खेती जस्तो चलिरहेको कामलाई उत्साह जनक र निर्यात गर्न सक्ने अवस्था हुँदा हुँदै पनि किसानले आँसु बगाउन बाध्य छन्, ऋणले टाउको नाँधी सक्यो । व्याजको कुरै नगरौं । यस्तो परिस्थितीमा मौन रहने देशको सरकारबाट ठुलै परिवर्तन हुन सक्ने अवस्था झिनो छ ।
व्यापार संघले हरेक संयन्त्रको सहयोग र साथ लिएर चल्न सक्ने अवस्थाको सिर्जना पहिला गर्नुपर्दछ । जसमा विभिन्न राजनितिक दल, त्यस्तै नगरपालिका लगायत अन्य बुद्धिजीवि पेशागत संगठनलाई हातमा हात थाप्ने र समस्याको लागि जो कोही राजनितिक विचारधाराबाट माथी उठेर सबैको एउटै आवाज नाकामा कडाई र स्वदेशी उत्पादन र व्यापारमा जोड दिन र पहलका लागि एक ढिक्का बनाउन सकियो भने यसले केन्द्रलाई अवश्य पनि दवाव पक्कै पर्ने छ र परिवर्तनको आशा गर्न सकिन्छ ।
त्यस्तै अर्को विगतको कार्यकालमा गुमेको दश विगा जमिन दरिलो पहल गरि फेरी फिर्ता ल्याउने र त्यसको सहि सदुपयोग गरी संस्था बलियो र व्यापारिक प्रयोजन तथा उपयोगका लागि निर्माण गरी दिगो योजना बनाउने जरुरी छ ।
अघिल्लो समयको जस्तो नगरी आर्थिक पारदर्शिता तथा स्वदेशी मालको विक्रि वितरणका लागि समय समयमा विभिन्न व्यापारिक मेला, योजना, प्रचार प्रसार तथा जनमानसमा जानकारीमूलक विषय विभिन्न संचार माध्यमबाट प्रसारण गर्ने ।
त्यस्तै बजारमा व्यापारिक प्रयोजनका लागि आएका ग्राहकहरुका लागि उपयुक्त बाटो, खानेपानी, शौचालय, सुरक्षा, पार्किङ्ग, डुवानको पिडाबाट मुक्त गर्न यहाँ स्थानिय सरकार तथा प्रदेश र केन्द्रीय सरकार सँग समन्वय गरि यस्तो समस्या समाधान गर्न सके व्यापारका लागि आएका व्यक्तिले सहज र सुरक्षित तरिकाले किनमेल गर्न सक्नेछन् ।
जसले यहाँको व्यापार व्यवसाय फस्टाउने र उभो लाग्नेछ । यी माथिका समस्या समाधान गर्न विभिन्न टोली तथा टिम बनाई एक आपसमा आपसी सरसल्लाह र सहयोगी रुपमा अगाडि बढ्ने हो भने पक्कै केहि न केहि फरक महशुसको अनुभव हुनेछ र देखिने छ ।