मेरा कुरा
नेपालगन्ज अरु सहर भन्दा फरक छ । यहाँ विविधतामा एकता छ । यहाँका मानिसहरू मिलेर बसेका छन् । धार्मिक सहिष्णुताको एक उदाहरणीय सहर हो यो । हिन्दुको चाड पर्वमा मुस्लिम रमाउँछन् र मुस्लिमको चाड पर्वमा हिन्दु रमाउँछन् । निकै अनौठो तरिकाले मिलेका छन् यहाँका मानिसहरु ।
एक बेग्लै सद्भावको सहरको रुपमा चिनिएको छ । नेपालभरिका मानिस बस्ने सहर हो यो अझ भनौ भने नेपाल मात्र नभैइ भारतबाट पनि ब्यापार गर्न यहाँ आएका छन् । नेपालगन्जलाई स्वच्छ ब्यापारिक केन्द्र बिन्दुको सहरको रुपमा पनि चिन्न सकिन्छ । नेपालगन्ज आज होइन सयौंबर्ष देखि कर्णाली र सुदुरका मानिसहरुको किनमेल गर्ने थलो हो ।
नेपालगन्ज बजारमा पहाडका मानिसले हाट जाने भन्थे र पहाडका जडिबुटी सिलाजित, पाँचऔले, कटुकी, चिराईतो, जटामसीलाई यहाँ बेच्ने गर्थे र लत्ताकपडा, नुन, तेल, गुड, चावल, दाल आदि अत्यावश्यक बस्तु लिएर जान्थे त्यही भएर नेपालगन्जलाई हटारुहरुको सहर पनि भनिन्थ्यो एक समयमा । ब्यापारिक दृष्टिकोणले हेर्ने हो भने निकै थुप्रै अवसर र सम्भावना बोकेको सहर हो यो । अहिले नेपालगन्जमा ब्यापार संघको चुनावी माहोल गरम भएको छ, गरम हुनु पनि स्वभाविक नै हो । सबैभन्दा धेरै चुनाव राजनीतिकर्मीलाई लागेको छ । यो चुनावले उहीँ कुनै पार्टीको सांसदको चुनावको झल्को दिएको छ ।
स्वच्छ ब्यापार र ब्यापारीको चुनाव त यहाँ राजनैतिक जितका लागि चुनाब भए जस्तो देखिएको छ । होमिएका छन् नेताहरू, गफिएका छन् मानिसहरू मजाले चुनाबी माहोलमा तातेको छ यो सहर । चिया पसल देखि उद्योगसम्म फरक प्रकारको चुनाव लागेको छ । नेपालीलाई चुनाव अलि बढी लाग्छ अझ त्यसमा पनि नेपालगन्ज चुनाबको लागि विशेष मानिन्छ । कहिले अत्याधिक मतले त्यही मानिसले जित्छ त फेरि जमानत नै जफत त्यही मानिसको भएका घटनाहरु थुप्रै छन् । अब चुनाव हो हार जित हुन्छ नै । के यो चुनाव पार्टीको हो त कि पार्टीकै जित हार हुने हो र । होइन यो चुनाव त स्वच्छ ब्यापारीहरुको चुनाव हो भन्ने सबैले बुझ्नु पर्छ । यिनी प्यानल त्यस्तै हो, हामीले अनुहार र पार्टी हेरेर भोट दिनु हँुदैन । जो ब्यापारीको वास्तविक हितमा बोल्न सक्छ । जो सँग यो सहरमा ब्यापार ब्यवस्थापन उद्योग धन्दा फस्टाउन सक्ने क्षमता छ । विविध नयाँ–नयाँ तरिकाले सहर चिनाउने योजनाहरु छन् । त्यस्तालाई जिताउनु पर्छ । नेपालगन्जमा ब्यापारीको चुनौती भनेको मानिसहरु किन मेल गर्न रुपैडिहा जान्छन् र त्यहाँको ब्यापार निकै राम्रोसँग फष्टाएको छ । मानिसमा चेतना वा लोभले होला तर वास्तवमा मूल्य र त्यहाँको दुःख अनि भाडा हेर्ने हो भने नेपालगन्जमै सजिलो र सस्तो पर्न आउँछ । अबको नेतृत्वले निकै जटिल तरिकाले सोच्नु पर्छ यो एक संवेदनशील विषय बनेको छ ।
उद्योग ब्यापार संघले वास्तवमा नेपालगन्जमा केही गरे जस्तो देखिदैन । उहीँ व्यापार मेला लगाउँछ र केही रकम संकलन गरेको छ । अनि आर्थिक पारदर्शिताको कुरा उठिरहन्छ । अबको नेतृत्व पारदर्शी हुनुपर्छ हरेक चिजमा ब्यापारीका वास्तविक समस्या बुझ्न सक्ने हुनुपर्छ । नेपालगन्ज सम्भावनाको सहर हो गर्न खोज्यो भने धेरै गर्न सकिन्छ । नेपालगन्ज मध्य र सुदुरको केन्द्रबिन्दु हो । धेरै समस्याले जेलिएको छ, नेपालगन्ज पहिलो समस्या त सरसफाइ हो । सरसफाई नेपालगन्जको ठूलो चुनौती हो । जस्ले जितेपनि उसको एजेन्डा सहर सरसफाइ नै बनाउनु पर्छ । यहाँ त दुई चार पाने फोकटको अपत्यारिलो घोषणा पत्र बनाइन्छ तर त्यसको कुनै औचित्य नै छैन लागु नै गर्दैनन् । अर्थ बिनाका तिनी योजनाको के काम । यहाँ उद्योग बाणिज्य संघ भनेको ठेला ब्यापारी देखि ठूला उद्योगपति सम्मको संस्था हो । यस संस्थाले सम्पूर्ण ब्यापारीहरुको हक हितमा काम गर्नुपर्छ । ब्यापारीहरुको पीडामा मलम लगाउनुपर्छ । ब्यापार ब्यवसायहरुको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । राज्यलाई आवश्यक परेको बेला रचनात्मक सल्लाह तथा सुझाव दिन सक्नु पर्छ । यसका अतिरिक्त उद्योग बाणिज्य संघका व्यापारी हकहितका लागि थुप्रै कार्यहरु रहेका छन् । निकै ठूलो अवसर पनि हो यो सहरका लागि व्यापारी चुनाव । ब्यापारी निकै अब्बल छन् । यो ठाउँका निकै बुझेका छन् । आफ्ना नेतृत्वलाई अब भोट हाल्दा निकै सोचेर भोट हाल्ने छन् र एक सफल योजनाकारलाई जिताउने छन् ।
सहरको बिकासका लागि भिजन भएका ब्यापारी नेताको निकै खाँचो छ । व्यापार संघको चुनाव यो कुनै पार्टीको पेवा होइन र कुनै पार्टिको पुच्छर कै रुपमा भोट हाल्नु हँुदैन स्वच्छ । विवेकी भोट हाल्नु पर्छ । हाम्रो होइन ब्यापरी हकहितका लागि योजना भएका राम्रो ब्यक्तिले जित्नु पर्छ र वास्तविक एक विवेकी सफल व्यावसायिक बजार ब्यवस्थापन गर्न सक्ने सबैको हक हितका लागि आवाज उठाउन सक्नेको जित होस् ।