‘ क.रविन्द्रको त्यो कल, जो मैले सुशील कोइरालालाई पास गरें ’

स्मृति

वि.के. शर्मा

सुशील कोइराला, कार्यवहाक सभापति नेपाली काँग्रेस । त्यो बेला प्रयोगमा रहेको सम्पर्क : मोबाइल नं. ९८४१४०९९२८
लगातार मोबाइल बजिरहन्थ्यो, २०६४ को संविधानसभा निर्वाचन मत गणना भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी…

 
२०६२/६३को जन आन्दोलन, प्रजातन्त्र पुनर्वहालीको आशामा पुरै देश आन्दोलित थियो, संसद पुनस्र्थापनाका लागि सातदल एकमत थिए भने माओवादी आफ्नो भूमिका खोज्दै थियो अर्थात सेफ ल्याण्डिङ्ग । त्यति नै बेला नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला आफ्नो जीवनको अन्तिम राजनीतिक दाउपेचमा थिए । सुशील कोइराला माओवादीसँगको सहकार्यको प्रक्रियाको विपक्षमा थिए न की शान्ति प्रक्रियाको ।

 
प्रजातन्त्रको पुर्नस्थापना उनको पनी लक्ष्य थियो तर अन्तर्राष्ट्रिय शक्तिको चलखेल उनलाई पाच्य थिएन, खासगरी भारतको । (सुशील दा भन्नुहुन्थ्यो अफ द रेकर्ड हामीलाई भारतले सधैं कमजोर बनायोे म यो चिर्छु ।) थुप्रै विवादका बीच संविधान जारी गर्दै उनले त्यो चिरेर देखाए पनि ।

 
तत्कालिन सहमहामन्त्री–(गणतन्त्र नेपालका पहिलो राष्ट्रपति) डा. रामवरण यादवले पार्टीका अक्सर विभिन्न बैठकको कोअर्डिनेशन गर्नुहुन्थ्यो, उहाँ पार्टी सभापतिका एक प्रमुख विश्वास पात्र हुनुहन्थ्यो । सुशील कोइराला एक समय आफ्नै पार्टीका सभापतिसँग सम्पर्क वाहिर हुनुहन्थ्यो, उतिबेला भारतको फैजावादमा बस्नुहभएको थियो, यो १२ बुँदे आसपासको अवधि थियो । किनकी लोकतन्त्रका नाममा माओवादीसँगको सहकार्य सुशील दा लाई स्वीकार्य थिएन ।

 
गिरिजा बाबु तुरुन्तै कम्प्रमाइजमा जानुहुन्थ्यो तर सुशील कोइराला सिद्दान्तका विषयमा कठोर थिए । नेपालगन्ज सहित तराईका जिल्लाहरुमा एक किसिमको राज्यका विरुद्दमा लगातार आन्दोलन चलेका थिए । नेपालगन्ज त्यसको एउटा उदगम विन्दु पनि थियो । सद्भावना पार्टी आनन्दीदेविको आडमा ब्याकग्राउण्डमा मधेशी जनअधिकार फोरम थियो अनि माअ‍ेवादी । पत्रकार प्रभात देवकोटा र म सवार पत्रकार सम थापाको मोटरसाइकल आगजनी भएको थियो, हामी दुवै माथि त्रिभुवन चोकमा आक्रमण समेत भयो । रेकर्डमा होला नहोला मधेश आन्दोलका नाममा आक्रमणमा मडिया एवम सन्चारकर्मीमाथि पहिलो पटक हामी माथि आक्रमण भयो ।

 
केही देखिने पात्रहरु सर्वदेव प्रसाद ओझा, हिरालाल लोनीया लगायतकाहरु मधेशको विषयमा बुझेर वा नबुझेर आन्दोलनको मोर्चामा देखिन्थे । त्यसको पृष्ठभूमिमा जनतान्त्रिक तराईको विजारोपण पनि भइसकेको थियो । बाँके देखी रौतहड त्यसको हराभरा भूमी थियो । कतिपय मानवअधिकारवादीका नाममा कतिपय पत्रकार र कति वकिलहरुले आर्थिक आयआर्जनको नाजायज फाइदा पनि उठाएका थिए, मधेश आन्दोलनका नाममा ।

 
प्रसङ्ग आज रवीन्द्र अधिकारीको जोड्न मन छ :
२०६४ को संविधानसभा निर्वाचन मत गणना नेपालगन्जमा जारी हुँदा सुशील कोइराला पराजित हुने लगभग तय देखिन्थ्यो, उतिबेला निर्वाचण हार्नुका पछाडिका कारण थुप्रै थिए होलान तर जब सुशिल कोइरालाले निर्वाचन हारेको अनौपचारिक रुपमा खबर बाहिरियो तत्कालीन अवस्थामा पराजयको उच्च नैतिक जिम्मेवारी लिंदै सुशील दाले कार्यवाहक सभापतिको पदबाट राजीनामा गर्ने घोषणा गर्नुभयो । मैले आफ्नै आँखाले देखेको त्यो समय कसैको कल रिसिभ गरिरहनुभएको थिएन । यति सम्मकी पार्टी सभापति गिरिजा प्रसाद कोइरालासँग सल्लाह नगरी कार्यवाहक सभापति पदबाट निर्वाचन पराजयसँगै राजीनामाको घोषणासम्म गर्नुभएको थियो । उति नै बेला मलाई लाग्छ लक्ष्मण ढकाल जो सुशील कोइरालाका सहयोगी हुनुहुन्थ्यो उहाँको कल मार्फत रविन्द्र अधिकारीले कुरा गर्न खोज्नुभएको खबर मलाई आयो लक्ष्मण दाजु बाटोमा रहनु भएकाले सम्पर्क सुत्रका आधारमा जब मेरै नम्बरमा रविन्द्र अधिकारीको कल आयो मैले मोबाइल सुशील दालाई पास गरें । उतिबेला सुशील दा बुद्धनगरमा बस्नुहुन्थ्यो, निर्वाचण परिणाम पछि काठमाडौं फर्किसक्नुभएको थियो कोइराला साथमा बाँके काँग्रेस नेता कृष्णमाण श्रेष्ठ हुनुहुन्थ्यो ।

 
निर्वाचन २०७० : जतिबेला सुशील दा बाँके सभापति स्व. डा.अरुण कोइरालाको निवासमा बस्नुभएको थियो । डा.कोइराला मतगणनाको अपडेट सुशील दालाई दिइरहनुभएको थियो, सुशील दाको अनुहारमा निर्वाचन हारिने हो की भन्ने तनाव प्रष्ट देखिन्थ्यो प्रतिद्वन्दी थिए धवल शम्शेर राणा जो अहिले नेपालगन्जमा मेयर छन् । मतगणना जारी थियो रातको करिव ११ बजे सुशील दाको कल आयो के छ बाबु अपडेट ?

मैले मतगणनाको ताजा अपडेट दिएँ ।
तत्कालै डा.कोइराला स्वयं मतगणना स्थल पुग्नुभयो । भैया दाजु (नरेन्द्र थापा) र म भेरी प्राविधिक शिक्षालय मतगणना स्थल मिडिया सेन्टरमा पत्रकारहरुको बाक्लै उपस्थिति थियो । सुशील दाको पक्षमा मत परिणाम आइसकेपछि भोलिपल्ट विहान संयोग भनौं या के उनै रविन्द्र अधिकारीले फेरि सुशील कोइरालालाई बधाई दिने माध्यम म बनें एउटा साक्षी म बन्न पुगें ।

 
कुनै पनि ब्यक्ति शत प्रतिशत असल हुनै सक्दैन र सफल पनि । यद्दपी स्व. अधिकारीमा उच्च राजनीतिक संस्कार थियो । राम्रा काम गर्नुपर्छ र देशलाई समृद्दी तर्फ लैजानु पर्छ भन्ने ‘मोटो’ बोकेका स्व.अधिकारी जति लोकप्रीय हुँदे थिए उनकै पार्टी पंक्तिमा उनको खरो आलोचना हुने गरेको कुरा कतै लुक्न सकेन ।

 
उनकै पार्टीका एक नेता योगेश भट्टराइले उनको हेकिप्टर दूर्घटना माथि आफ्नो शंका रहेको बोलिसकेको अवस्थामा म त्यता जान चाहिन तर सत्यतथ्य सार्वजनिक होस नकी मदन भण्डारी वा सुशील कोइरालाको जस्तो रहस्य वा दरवार हत्याकाण्ड जस्तो होस् ।

 
मलाई अर्को एउटा घट्ना सम्झना छ : नेपाल भारत सीमा अन्तरगत लक्ष्मणपुर बाँधलाई भत्काउनुपर्छ भन्ने उनको उद्घोषले नेपाली मन छोएको थियो जुन बाँध भारतले अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सन १९८५ मा बनाउन थाल्यो ।
अब उनको हेलिकप्टर यात्रालाई जोडौं ः नेपाल सरकारले बनाएको भिभिआइपी र भिआइपीको नीतिलाई वेवास्ता गर्दै सरकारी काममा प्राइभेट हेलिकप्टर चढेर जानु कति सान्दर्भिक थियो होला ? अथवा किन पठाइयो त्यति हतारमा जबकी पाथिभरा मन्दिर जाने कार्यक्रम त्यहाँको स्थानीय प्रशासनलाई समेत जानकारी रहेनछ ।

 
यसले राजनीतिज्ञहरुलाई प्रभाव पारेर आफ्नो दुनो सोझो पार्ने हाम्रो समाजको प्रवृत्तिलाई फेरी उदाङ्गो पारेको छ । उनको मन्त्री स्तरको कार्यकाल वा लेखा समितिको कार्यकाल या विकास समितिको कामले उनि केही असल काम गरौं भन्ने ब्यक्ति थिए भन्ने कुरा लुक्दैन फरक त के हो भने उनि पनि पार्टी कमाण्डमा बाँधिएकाले कहिलेकाहीं उच्च राजनीतिक दवाव र प्रभावबाट अछुतो रहन सक्ने कुरै थिएन ।

 
एउटा अर्को प्रसंग छ ः नेपाल प्रेस युनियनको ८ औं महाधिवेशन पोखरामा हुँदै थियो । संयोगले क.रवीन्द्र जीले कल गर्नुभयो, ‘के हुँदै छ यार युनियनको नयाँ सभापति ?’ आत्मियता देखाउँदै सोधे, ‘पार्टी र संगठन त फरक पर्यो तर पोखरामा के सहयोग गरौं यार भाई ?’ मेरो अन्तिम कुरा पनि त्यही थियो । त्यसयता न कहिलै कुरा भयो न त भेट नै ।
मलाई उनी मीडिया फ्रेण्डली लाग्यो तर विराटनगरमा केही पत्रकारहरुको विमान खरिद प्रकरण सम्बन्धि प्रश्नमा उनी भड्किएको अप्रत्याशित लाग्यो सायद केही दवावमा थिए झैं । हेलिकप्टर दुर्घटनाको अपुष्ट खबर सामाजिक सञ्जालमा आएसँगै मलाई केही पुराना कुरा याद आए र फेसबुकमा पोष्ट गरें । म आफ्नै व्यवसायिक जीवनमा रहें सुशिल कोइरालाको देहान्त पछि राजनीतिक कार्यक्रम र भेटघाटमा म प्रायः जान छाडिसकेको छु, यदाकदा निम्त्याउँदा बाहेक ।

अन्तमा, उनले रचना गरेको यो गीत
जोमसोमै बजारमा १२ वजे हावा सरर,
ए हजुर घर हाम्रो पोखरा….
स्व.क.रवीन्द्र अधिकारीको राजनीतिक संस्कारलाई सलाम । अस्तु !

(नेपालगन्ज, हाल : काठमाडौं)

प्रतिक्रिया

प्रतिक्रिया