दिला शाह
मानिस सामाजिक प्राणी भएकै कारण समाज छरछिमेक इष्टमित्र सहकर्मी सबैसँग घोलिनुपर्ने हुन्छ । घोलिनुका पनि अनेक रंगहरू छन् । हाम्रो उपस्थितिले समाजका असल कामहरूमा सरिक भएर खुसीलाई दुगुना बनाउन सक्छौं भने दुःख र अफ्ठ्याराहरूमा साथ दिएर सँगै रून सक्छौं । आँसु पुछिदिन सक्छौ । आफ्ना घर परिवार, आमा, बुवा, छोराछोरी, साथीहरूसँग मीठा यादहरू बनाउँन सक्छौ।जीवन लाई कलरफूल बनाउन सक्छौं । आफ्नो पेसा व्यबसायमा सफल र सक्षम हुन सक्छौं । पेशागत रूपमा सफल हुँदैमा जीवन सफल हुनैपर्छ भन्ने ग्यारेन्टी छैन । पेसागत सफलता त्यसको आयाम मात्र हो।यतिले मात्र जीवन खुसी हुन सक्दैन।किनकि जीवन बहुआयामिक छ ।
अर्को हाम्रो नितान्त नीजी जीवन पनि छ।यो जीवनको पाटोलाई आमा बुवा छोराछोरी कसैले पनि चियाउन पाउनन्न । तिनले मात्र ठाउँ पाउँछन् जस्लाई हामी ठाउँ दिन चाहन्छौं । कोही साधक होला संगीत सुन्न रूचाउला । कोही योग ध्यान गर्लान् । कोही साहित्य कलामा रमाउलान् या एक्लै बस्लान् यही हो निजी जीवन । आफ्ना नितान्त खुसीमय इच्छाहरूलाई मारेर समाज र परीवारकै खुसीमा मात्र बाँच्छौ भने हामी यान्त्रिक जीवन बाँचिरहेका छौ । हाँसिरहेका छौ तर अनुहारमा त्यो चमक छैन । मान्छे अहिले अनाहकमा ब्यस्त छ । अहिलेको पुस्ताको आँखामा दशौं थान हेडलाइट एकैपटक परेको अवस्था छ । बरू अध्यारोमा बाटो पहिल्याउँछ मान्छे तर तीरिमीरी उज्यालोमा बाटो बिराउँछ मान्छे । टि.भी, मोबाइल, नेट, इन्टरनेट, फेसबुक आदि इत्यादिको गलत प्रयोगले युवा पिढी गलत बाटोमा गइरहेको अवस्था छ । समयको ब्यबस्थापन छैन । मान्छे दिनप्रतिदिन आक्रामक भइरहेको छ । आफै तनावमा भएको मानिसले कसरी अरूलाई खुसी दिनसक्छ ? रिसको झोकमा मान्छेले कतिको मन दुखाउँछ त्यही दुखाइलाई ब्यक्तिगत इख बनाएर कुनै ठाउँमा मौका पाउँदा बदलाको भाव पोख्छ मान्छे । आक्रामक भएको बेला ब्यक्तिका भित्र जतिसुकै असल गुण भएपनि गुमाउँछ मान्छे । ब्यक्तिको ब्यवहार जे देखिन्छ त्यसैलाई मुल्यांकन गरिन्छ । उस्को ब्यवहार पछिको पृष्ठभूमि विश्लेषण गरेर कोही बस्दैन । बाहिर जे देखिन्छ त्यही उस्को सार्वजनिक छवि बन्छ । आफ्नो अनुहारको धूलो नदेखेर जीवनभरि ऐना पुछ्दै बस्न बिवश छ मान्छे ।
आफ्नै मनको द्वन्दमा मिचिएर घायल छ मान्छे । आफैसँग टाढा कतै गुमनाम छ मान्छे । आफैसँग टाढिएकोले टेन्सनमा छ मान्छे । आफूभित्रको यात्रा गर्न नसकेर हराएको छ मान्छे । सारा दुनियाँमा फनफनी घुमेर पनि आफैभित्र प्रवेश गर्न असमर्थ छ मान्छे । यही असमर्थता नै आधुनिक समाजको तनावको मूल कारण हो सायद । मानिससँग भएको एक मात्र समय वर्तमान हो । विगत बितिसक्यो भविष्य आएकै छैन तर पनि त्यही विगत र भविष्यमा अल्झिएर सुनौलो वर्तमानलाई नचिन्नु हाम्रो दुःखको कारण हो । जति समय जुन कामको लागि छुट्याइन्छ त्यसलाई उपलब्धिमूलक परिणाममूलक बनाउन समय ब्यवस्थापनमा हामी सजक हुन जरुरी छ । ‘समय’ जो सबैभन्दा दुर्लभ बस्तु हो त्यही बस्तुलाई राम्ररी सम्हाल्न सकेनौं भने अरू चिज कसरी सम्हाल्न सकौला हामी ?
मान्छे कोही पनि छुट्टै खालको बिलक्षण भएर जन्मिएको छैन । आफू वरिपरिको वातावरण पढ्दै, बुझ्दै, सिक्दै, मेहनत गर्दै गर्दा प्राप्त हुने एउटा अबस्थामा मात्र हो । यो कुनै विशेष गुण होइन । जीवन सिकाइको बिशाल पाठशाला हो । साँघुरो घेरा भित्रको वातावरणमा बस्नेले फराकिलो सोच राख्न सक्दैन । आकाश सबैका लागि उत्रै छ हामी कति ओगट्न सक्छौ यो हाम्रो खुबीमा भर पर्छ । गल्ती मानिसको सीकाइको अर्को खुट्किला हो । गल्ती कमीकमजोरी प्रती लघुताभास राखेर आफूलाई सीमित दायरा भित्र खुम्च्याउनु हुँदैन । नजानेका कुराहरूलाई सिक्न कहिल्यै पनि दकस नमानेर जीवनलाई फैलाउन सक्नुपर्ने रहेछ । संसारमा कुनै पनि मानिस अर्को मानिस जस्तो हुन जरुरी छैन । हामी सबै बराबर रूपले बिशेष वा साधारण छौ । किन कोही कोही जस्तो हुने ? आफू आफू जस्तो हुने । आफू भन्दा माथिल्लो स्तरकोलाई हेरेर दुःखी हुनु वा तलकोलाई हेरेर हाँस्नु हाम्रो स्वभाव होइन । हरेक चम्किलो बस्तु हीरा हुँदैन । बाहिरी तिरीमिरीले मात्र जीवनलाई साँचो अर्थमा चम्काउँदैन । ती चमक देखिने जीवन भित्र पनि अथाह कष्टहरू हुनसक्छन् । हामी अरूको सफलता देखेर दुःखी छौँ । अरूको बारेमा सोचेर दुःखी छौ । हामी अधुरो भएकोले दुःखी छौ । अधुरो यसकारण छौं किनभने जीवन बाँच्ने कला प्रति बेहोस छौ । नानाथरी डङ्गुरलाई जीवनमा थोपरेर जीवनलाई बेकारमा जटिल बनाईरहेका छौ ।
काम, क्रोध, लोभ, मोह, अहङ्कार हाम्रा स्वभाव होइनन् तर पनि हामी दिन दिनै यसैमा भासिएका छौ । वास्तविक अर्थमा जीवन के हो ? म को हुँ ? कहाँबाट आएँ ? मेरो कर्तव्य के हो ? किन म दुःखी हुन्छु ? किन मलाई रिस उठ्छ ? के गर्दा मलाई खुसी प्राप्त हुन्छ ? यो जीवन काल पछि म कहाँ जान्छुु ? यस्ता यावत प्रश्नको जवाफ खोज्न म आफूभित्र प्रबेश गरेर आफैलाई महसुस गर्न चाहन्छु । अज्ञात, ज्ञात र अज्ञेत के हो ? म आफैभित्रको रहस्यमय यात्रा गर्न चाहन्छु । जीवन रहस्य त माइक्रोस्कोपले मात्र होइन तारा हेर्ने टेलिस्कोपले पनि बताउँछन सक्छ किनकि हामी ती नै रसायनबाट बनेका छौं । जुन रसायनबाट अन्तरिक्ष सृजित छ । जीवनको परिधि र केन्द्र,सतह र गहिराइबिच कति फरक रहेछ ?
अरूलाई उपदेश दिए जस्तो सजिलो छैन आफूले आफैलाई चिन्न । अरूको आवरण, प्रस्तुति, हिडाइ, बोलाइ आनिवानी देखेर उस्लाई सजिलैै चिन्छौ । तर, हामीले आफूलाई साँच्चै चिनेका छौ त ? के हामी आफ्नो साथी आफै बन्न सकेका छौ त ? के यो सम्भव छ त ? अवश्य छ । असम्मभ के छ र ? यो दुनियाँमा । दृढआत्मबिश्वासमा बाँचौ । जीवनलाई समयको लम्बाईबाट होइन गहिराइबाट बुझ्न जरुरी रहेछ ! मानिस आफूसित बाहेक अरूसँग आजन्म नबस्ने रहेछ ! अब आफैमा हराएर आफैसँग रमाएर खुसी र स्वस्थ बाँचौ । बिन्दास बाँचौ । बाँच्नुको पागलपनमा बाँचौ । अनि हेरौ जीवनलाई उस्तै देखिनेछ, जसरी उदाउँदाको सूर्य अनि अस्ताउँदाको सूर्यको रापमय रंग एकैै हुन्छ । जयगुरुदेव !!