चुनौ राम्रा उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनमा देशका सबै राजनीतिक शक्ति समुहको आम सहमति बन्ननसके पनि बिस वर्ष पछि हुनलागेको यस निर्वाचनका बहसहरु समाजका विभिन्न तहमा सुरु भएको छ । राजनीतिक शक्ति समुहका विवाद केन्द्रिय तहमा बढि र समुदाय तहमा न्युन रहेको पाइन्छ । निर्वाचन स्वस्थ्य बहसको वृहद मंच हो र यसमा हुने बहस, चर्चा, छलफल, वादविवादहरु समाजको नया गन्तब्यको मार्ग खोल्न सहयोगी बन्दछ ।

लामो संक्रमणकालले समाजमा निराशा बढेको र नया नया गतिरोधहरु थपेको थियो । स्थानीय तहको निर्वाचनलाई सक्रमणबाट बाहिर निस्कीने र समाजमा रहेको निराशालाई आशामा बदल्ने अवसरको रुपमा राजनीतिक दल, नागरिक समाज, पेशागत संगठनहरुले प्रयोग गर्न सक्दछन् । निर्वाचनको दौरानमा हुने सघन सामाजिक अन्र्तक्रियाले मत भिन्नतालाई मात्र प्रष्ट बनाउदैन, सामाजिक सदभावलाई पनि कसीलो बनाउन सघाउछ । आशालाग्दो विषय नयाँ तथा रचनात्मक उपायहरुको खोजी गर्न सक्ने ( लाखौ शिक्षीत युवा) नयाँ मतदाताको रुपमा अगाडि आएको छ र यो बृहद बहसमा भाग लिदैछ ।

स्थानीय तह छुन, छाम्न र भेट्न सक्ने सबै भन्दा नजीकको अधिकार सम्पन्न सरकार हो । नागरिकहरुको खाना पकाउने ग्यास नपाएको गुनासो सुन्ने मात्र होईन पुरा गर्ने दायित्व अब नगरपमलिका र गाँउपालीकाका प्रमुखले बोक्नु पर्दछ । संविधान र कानूनले बलियो स्थानीय सरकार बनाउदैमा नागरिकले प्रभावकारी सेवा प्राप्त गर्न सक्दैनन् । यसलाई संचालन गर्नसक्ने योग्य नेतृत्व पनि आवश्यक छ । निर्वाचन मार्फत नेतृत्व चयनको यो अवसरलाई आम मतदाताले सचेतनापुर्वक प्रयोग गर्न सक्नुपर्दछ ।

उमेदवारलाई सोधौ

समृद्धि र स्वाभीमानको एजेण्डा स्थापित गर्ने सरल र शालिन उपाय हो निर्वाचन । जनता (People) होईन नागरिक (Citizen) भएर उभिनु पर्दछ अब । सबै उमेदवारलाई नागरिक भएर सोधौ । दिगो मानविय र भौतीक विकासका योजना र कार्यक्रम भरपर्दा रहेका छन् ? कार्यान्वयन कसरी गर्ने ? नागरिकलाई शिक्षा र स्वास्थ्य सुरक्षाको प्रत्याभुत गर्न संविधान र कानूनको कुन दफा प्रयोग गर्नुहुन्छ ?  उदाहरणको लागि: शहर वा गाँउलाई सफा राख्छु, विकास गर्छु भनेर मात्र पुग्दैन अब । के गरेर गर्ने ? कसरी गर्ने ? कति समयमा गर्ने ? स्रोत जुटाउने र परिचालन गर्ने कौशल के हो ? आदिका प्रष्ट खाका भएका रचनात्मक छलफल गर्ने, उत्प्रेरीत गर्ने, रचनात्मक आलोचनाका बहस सिर्जना गर्न सक्ने उमेदवारलाई मात्र भोट गरौ ।

सपना र परिकल्पनामा फरक छ । सपना सुनाउने मात्र हो । परिकल्पना पुरा गर्न लक्ष्य, उद्देश्य र कार्यक्रम प्रस्तुत गर्न सक्ु पर्दछ । सपना बाडिएको हो कि परिकल्पना प्रस्तुत गरिएको हो विचार गरौ ।

घोषणापत्र पढौ

राजनीतिक दलले जारी गर्ने घोषणापत्र घोषणा गर्न मात्रै बनाएको लामो र तितो अनुभव छ हामीसंग । घोषणापत्र पढौ र यसलाई स्थानीय आवश्यकतामा आधारीत  प्रतिवद्धता वा संकलपपत्र बनाउन माग गरौ । उमेरदवारसंग प्रतिवद्धता मागौ मौखीक होईन लिखीत । विगतका झुठा घोषणपत्र र प्रतिवद्धतालाई सम्झाउने मौकाकोरुपमा प्रयोग गरौ । घोषणापत्र र कार्यक्रममा तालमेल मिलाउन नसकेका, नसक्ने नेतृत्वबाट केहिपनि आशा गर्न सकिदैन । घोषणापत्र केन्द्रबाट कि स्थानीय तहबाट बहस गरौं ।

शासनमा सहभागिता खोजौ

नागरिक परिक्षण (Citizen audit ) प्रर्वद्धन गर्ने नेतृत्वको आवश्यकता छ अब । नेतृत्वका निर्णयमा प्रश्न गर्ने, सेवाको गुणस्तर जाच्ने, सबै निर्णयमा नागरिक परिक्षणलाई स्थान दिने प्रणालीलाई व्यवस्थितरुपमा संचालन गर्न सकिएन भने अधिकार प्राप्त स्थानीय तह पनि हाम्रा आंकाक्षामा खरो उत्रन सक्दैन । हाल सम्मका हाम्रा कानूनहरुले प्रष्ट जवाफदेहिता तोकेका छैनन् । उदाहरणको लागि सुर्खेत रोडका खाल्डाहरु कसले पुर्ने ? सडक कार्यालय, उपमहानगरपमलिका वा को ?

चुनाव जितेपछि नागरिकहरुको सक्रिय सहभागिता प्रर्वद्धन गर्ने नेतृत्व को हुन सक्दछ ? विचार गरौ । जसले शासनमा नागरिकहरुको सहभागिता बढाउन जोड दिन्छ उनै  जवाफदहिताको कसीमा खरो उत्रन्छ ।

बलियो प्रणाली बनाउनेलाई रोजौ

स्थानीय संरचना संचालन गर्ने प्रणालीहरु कमजोर रहेका छन् । वा भएका प्रणालीहरु कामकाजी छैनन् । संरचना आफैले सेवाको वितरण गर्न सक्दैन र संरचना संचालको लागि बलियो प्रणाली बनाउनु पर्दछ । जवसम्म स्थानीय तह भित्र बलिया को प्रणालीको निर्माण हुदैन तब सम्म नागरिकले गुणस्तरिय सेवा प्राप्त गर्न सक्दैन । प्रणालीलाई कसरी आधुनिकीकरण गर्ने, विद्युतीय सेवामा कसरी लैजाने आदि सोच अबको नेतृत्वमा आवश्यक हुन्छ । त्यसैले सेवा प्रदान गर्ने तरिकामा उमेदवारलाई प्रश्न गरीयो भने उनीहरु प्रणालीलाई स्थापना गर्नेतर्फ सोच्न बाध्य हुन्छन् ।

उदाहरणको लागि नेपालगंज उपमहानगरपालिकाको फोहोर व्यवस्थापन मानविय, भौतीक स्रोतको अभावले जटील भएको होईन । मानविय र भौतीक स्रोतको परिचालन गर्ने प्रणालीको अभावमा जटील भएको हो ।

र अन्तमा स्थानीय तहमा अधिकारको वितरण वा म्भष्खिभच गर्न सक्ने र स्वायताको भारलाई थेग्न सक्ने नेतृत्वको आवश्कता हो । यदि गलत मनासाय बोकेको नेतृत्व पुगेमा हाम्रा स्थानीय तह झनै कुरुप बन्न सक्दछ । राजनीतिक दल भनेको साधन मात्र हुन् साध्य त आगामी पाँच वर्षमा हाम्रो समृद्धि र सहज जिवनयापन हो । आफुलाई प्राधिकार ठान्ने, जनतालाई नागरिक बन्न रोक्ने र राजनीतिलाई व्यवसाय बनाउन उद्यत सोचहरुलाई भत्काउने हाम्रै मतबाट हो ।

प्रतिक्रिया

प्रतिक्रिया