बाँकेका ६० जना पत्रकारहरुको विहीवार निःशुल्क आँखा जाँच गरिएको जनाएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।

संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय अनुसार विहव्ािर आँखा जाँच गरिएको संघका अध्यक्ष राकेशकुमार मिश्रले जानकारी दिए ।
आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले जानकारी दिए ।
निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले जानकारी दिए ।
प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताए ।
अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको १५ वर्ष पुरा भएको छ । त्यसक्रममा अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिताबारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने अध्यक्ष मिश्रले बताए ।
अध्यक्ष मिश्रका अनुसार, विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।