नेपालगन्जमा बुधवार योग समिति नेपालको पाँचौ स्थापना दिवस मनाइएको छ ।
योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगन्ज बाँकेले बुधवार नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा पाँचौ स्थापना दिवस मनाएको हो ।
एकाविहानै प्रभातफेरीपछि नेपालगन्ज उपमहानगर परिसरमा आयोजित कार्यक्रममा योगका विभिन्न अभ्यासहरु गरि मनाइएको योग समिति नेपालको पाँचौ स्थापना दिवसमा उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताए । नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने भन्दै उनले आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहन आग्रह गरे ।
योग प्रशिक्षक गिरिराज भट्टराईले नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताए । प्रशिक्षक भट्टराईले नेपालगन्जका विभिन्न स्थानमा नियमित योग गराउँदै आएका छन् । योग समिति नेपालले नेपालगन्जमा योग संस्कृतिको विकास गरेको छ ।
योग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको प्रशिक्षक भट्टराईले बताए ।