खजुरामा ग्रिन सिटी कार्यान्वयनले देखायो सम्भावना

कृषिका योजनाले कृषक उत्साहित

बाँकेको खजुरा गाउँपालिकामा ग्रिन सिटी प्रोजेक्ट कार्यान्वयनमा आएको छ । खजुरामा कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउने उक्त योजना अन्तर्गत प्रोजेक्टको कार्यान्वयन चरणमा किसानका लागि अनलाइन तालिम दिइएको छ । ग्रिन सिटी परियोजना अन्तर्गत करिब १ करोड १८ लाखको बजेट पेश गरिएको थियो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकाको समुन्नतीका लागि यूएनओएसएसद्वारा ग्रिन सिटी योजना प्रस्ताव अघि बढाउँदै त्यस अन्तर्गत नै तालिम सुरु भएको बताए । ‘ग्रिन सिटी प्रोजेक्टको कार्यान्वयनले खजुरामा अनुभूति हुने राम्रो परिवर्तन देख्न सकिनेछ’, उनले भने, ‘ग्रिन सिटीको लक्ष्य व्यवस्थित सहर निर्माण गर्ने हो ।’

बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालक कृषकलाई अनलाइन तालिम मंगलबार सकिएको छ । तालिममा कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानको सहभागिता रहेको थियो । अध्यक्ष कक्षपतिले ग्रिन सिटी कार्यक्रमको सुरुवातमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । ‘कृषिको व्यवसायिकरणका लागि ग्रिन सिटी प्रोजेक्ट फलदायी साबित हुनेछ’, उनले भने ।

खजुरेली जनताले ग्रिन सिटीको सपना देख्न थालिसकेका छन् । गाउँका चोक चोकमा ग्रिन सिटी कस्तो बन्छ भन्ने चर्चा चल्न सुरु भैसकेको छ । खजुराका जनताको आयश्रोत उकास्ने मुख्य उद्देश्य राखिएको उक्त परियोजना जति सक्दो छिटो संचालन होस भन्ने खजुरेलीले चाहना राखेका छन् । ग्रिन सिटि परियोजनाले खजुराको मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी ग्रीन सिटी प्रोजेक्ट खजुराको विकासका लागि महत्वपूर्ण अवसरको रुपमा रहेको बताउँछन् । ‘ग्रिन सिटी परियोजना पछि खजुराकै पहिचान बन्नेछ’, उनले भने । किसान गेहेन्द्र धितालले कृषिमा राम्रो गर्नलाई खर्चिलो प्रविधि विनै पनि गर्न सकिने बताउँदै जसका लागि इच्छा शक्ति आवश्यक रहेको बताएका छन् ।
ग्रीन सिटी प्रोजेक्टमा विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।

‘दुई बर्ष कोभिडका कारण ग्रिन सिटी प्रोजेक्ट अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन, अब कार्यान्वयनमा आएको छ’, पालिका अध्यक्ष कक्षपति भन्नुहुन्छ, ‘अब निरन्तर रुपमा ग्रिन सिटी अन्तर्गतका कार्यक्रमलाई अगाडि बढाउने हाम्रो प्रयास रहन्छ ।’
गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट कुनै पनि हालतमा निरन्तरता पाउने बताउँछन् । खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्न पहल गर्ने उनी बताउँछन् ।

कृषि तथा पशुपालनका लागि उर्बर मानिएको खजुराले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको छ । खजुराले संघ, प्रदेश बाहेक पनि पालिकाको तर्फबाट आवश्यकता अनुसार किसानलाई प्रोत्साहित गर्ने खालको कृषि तथा पशु क्षेत्रका लागि कार्यक्रम ल्याउने गरेको छ । ‘किसानले माग गरेको कुरा पूरा गर्न हामी लागि परेका हुन्छौं’, अध्यक्ष कक्षपतिले भने ।

किसानका आवश्यकता र मागका आधारमा उनीहरुलाई कृषि तथा पशुपालनमा सहज होस् भनेर मागका आधारमा कृषि उपकरण, प्राविधिक सहयोग, पशु शिविर लगायतका कार्यक्रमहरु प्रत्येक बर्ष सञ्चालन भैरहेको पालिकाले जानकारी दिएको छ । यसबर्ष पनि पालिकाले त्यसलाई निरन्तरता दिएको अध्यक्ष कक्षपति बताउँछन् ।

‘कृषिलाई व्यवसायिक बनाउने हो भने समय अनुसारको प्रविधिको प्रयोग, ज्ञान, शीपको आवश्यकता पर्दछ’, अध्यक्ष कक्षपति भन्छन्, ‘त्यसैले हामीले कृषिका लागि स्थानीय आवश्यक बुझेर काम गर्दै आएका छौं ।’

खजुरा गाउँपालिकाले आफ्नो पालिकामा उत्पादिक कृषि उत्पादनको बजारीकरणमा समेत प्रयास गर्दै आएको बताउँछन्, पालिकाका योजना अधिकृत दिल बहादुर पौडेल । उनले कृषि तथा पशु क्षेत्रलाई करिब डेढ करोड रुपैयाँ पालिकाले सशर्त अनुदान बाहेक विनियोजन गरेको जानकारी दिएका छन् । जसमा पशुतर्फ कृषि तर्फ १ करोड र ४३ लाख रुपैयाँ पशुपालन तर्फ रहेको छ ।

चालु आर्थिक बर्षमा किसानलाई धेरै प्राविधिक सहयोग अनुदानमा गर्ने योजना खजुराले बजेटमा राखेको थियो । जस अन्तर्गत ५० प्रतिशत अनुदानमा पावर टेलर रिपर २३ वटा, मिनी टेलर ३१ वटा वितरण खजुराले गरिसकेको छ । ७५ प्रतिशत अनुदानमा १ सय ५० मोटर सिंचाईका लागि र ६२ वटा पम्पसेट पनि चालु आर्थिक बर्षको बजेटमा विनियोजन भएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले व्यवसायिक किसानहरुलाई घाँस, पराल काट्न मिल्ने चारा मेसिन वितरण गरेको छ । गाउँपालिकाको पशुसेवा शाखाले किसानहरुलाई ७५ प्रतिशत अनुदान सहयोगमा ८२ वटा चारा मेसिन वितरण गरेको हो । चालु आर्थिक वर्षमा विनियोजित बजेट बाट व्यसायिक किसानहरुलाई पशुपालनमा सहजहोस भनेर चारा मेसिन अनुदानमा वितरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । योजना अधिकृत पौडेलले गाईका लागि विछ्याउन काउम्याट पनि वितरण गरिने जानकारी दिएका छन् ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले सरकार र किसान विच सहकार्य गरि काम गरे त्यसको उपलव्धी लिन सकिने धारणा राख्नुहुन्छ । उनले किसानलाई अनुदानमा दिइएको प्राविधिको सदुपयोग गरेर त्यसबाट लाभ लिन किसानसँग आग्रह समेत गरेकी छन् । २५ प्रतिशत मात्र किसानको लगानी लागेको विद्युतिय चारा मेसिन पाएर किसानहरु दङ्ग छन् ।

खजुरा गाउँपालिकाले चालु आर्थिक बर्षमै कृषि तथा पशुपंन्छी विधेयक पारित गरेको छ । किसानका लागि काम गर्दा सहज होस् भनेर विधेयक ल्याएको पालिकाका उपप्रमुख विक बताउँछिन् ।

खजुरा गाउँपालिकाले कृषि तर्फ ५० प्रतिशत अनुदानमा तरकारीको बिउ बाँडेको छ भने ३ वटा पशु शिविर पशु उपचारका लागि चालु आर्थिक बर्षको योजनामा छन् । ‘पालिकामा कृत्रिम गर्भाधानलाई निःशुल्क बनाइएको छ’, योजना अधिकृत पौडेलले भने । बार्षिक ३ हजारसम्म कृत्रिम गार्भाधान हुन थालेको जानकारी दिंदै योजना अधिकृत पौडेलले त्यसतर्फ किसानको आकर्षण रहेको बताउँछन् ।
बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान समेत सुरु भएको छ । जसमा खजुरामा रहेका ८ वटा वडाका करीब ३ हजार परिवारलाई जोड्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत १ हजार ८ सय परिवार सहकारीमा आवद्ध भैसकेका छन् । थप १ हजार २ सय परिवारलाई पनि अभियानमा जोडिने गाउँपालिकाले जानकारी दिएको छ ।

व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी पनि सहकारी मार्फत गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेल बताउँछन् । गत माघ महिनाबाट संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रममा खजुराका हरेक वडाबाट २ सय महिला र गाउँपालिका भरी करीब २ सय युवा उद्यमी आवद्ध छन् ।

प्रतिक्रिया

प्रतिक्रिया