शिविरबाट ६७८ को स्वास्थ्योपचार

कतार च्यारेटीले नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि ६७८ को स्वास्थ्योपचार गरेको हो

स्वास्थ्य चेतना र उपचारका दृष्टिले बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुरमा मंगलवार विशेषज्ञ चिकित्सकहरुको टोली पुगेको छ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको स्थानीयको स्वास्थ्य उपचारका लागि विशेषज्ञ चिकित्सक टोली नरैनापुर पुगेको हो ।

नरैनापुर गाउँपालिका, नेपालगन्ज मेडिकल कलेज र नेपाली सेनाको भैरव प्रसाद गणसँगको समन्वय तथा सहकार्यमा गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुर एकै दिन ६ सय ७८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएका हुन् । बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीका अनुसार, उपचारका लागि आएका सबै महिला पुरुष र बालबालिकालाई आयोजकले निःशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी उपलब्ध गराएको छ । ‘अझै धेरै जना छुटेकाले बुधवार पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइनेछ,’ क्लबका संरक्षक सिद्दीकीले दैनिक नेपालगन्जसँग भने ।

स्वास्थ्य परीक्षण गराएका ६ सय ७८ जना मध्ये जटिल किसिमका रोग भएका १८४ जनाको भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षण गरिएको क्लबले जनाएको छ । ‘प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित विशेषज्ञ चिकित्सक गाउँमै स्थानीयले निकै खुशी व्यक्त गरे,’ शिविर लिएर नरैनापुर पुगेका क्लब अध्यक्ष राजेन्द्र चौधरीले भने ।

शिविरमा नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ वरिष्ठ चिकित्सकहरु हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी विशेषज्ञ डा. दिवस थापा, छाला तथा यौनरोग विशेषज्ञ डा. सविन कँडेल, रेडियोलोजि विशेषज्ञ डा. त्रिदेव चौरसिया, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा, नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसीलगायतका चिकित्सक विरामीको स्वास्थ्य परिक्षणमा सक्रिय थिए ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरका प्रमुख डा. सुर्य प्रकाश साह, डा. रामगोपाल तिवारी लगायतका स्वास्थ्यकर्मी, कर्मचारीले आयोजनामा सहजीकरण गरिरहेको शिविरमा विशेषज्ञ चिकित्सकहरुसहित फार्मेसीको टोली र ठुलो संख्यामा अन्य स्वास्थ्य सहायकहरुको पनि सहभागिता थियो ।

बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, नेपालगन्ज मेडिकल कलेजका प्रतिनिधि अब्दुल हुसेन खाँलगायतले प्रत्यक्ष खटिएर शिविरमा सहजीकरण गरेका थिए ।

‘यसखालका शिविरले स्वास्थ्य चेतनासँगै उपचारका लागि आउने प्रेरणा पनि बढ्छ,’ स्वास्थ्य केन्द्र प्रमुख डा. साहले ल्याबसहितको सुविधा र आवश्यक औषधीका लागि मेडिकल पसलको अभाव औल्याउँदै भने, ‘यो शिविरबाट धेरै जनताले लाभ लिन सकेका छन् ।’ उनले नरैनापुरमा आवश्यक औषधीसहितको पसल खुल्न आवश्यक भएको औल्याए । ‘हामीले सिफारिस गरेका औषधी किन्न नपाइँदा विश्वास घट्दो रैछ,’ सरकारले व्यवस्था गरेका औषधीहरु स्वास्थ्य केन्द्रबाटै प्रदान गरिरहेको जानकारी दिंदै डा. साहले भने, ‘राम्रो औषधी पसलको अभाव छ ।’

प्रतिक्रिया

प्रतिक्रिया