खजुरा गाउँ पालिका – ४ स्थित सुरदास आश्रम शिव पार्वती मन्दिर परिसरमा कल्पबृक्ष रोपिएको छ ।

नेकपा ( एमाले ) बाँकेका नेता सतिश निरौलाले दिएको जानकारी अनुसार, माघी पर्वको अवसर पारेर निरौलाको आग्रहमा हरित अभियन्ता हेमन्तराज काफ्लेले कल्पबृक्ष रोपिएको हो । ‘यो अत्यन्तै ठुलो धार्मिक महत्व बोकेको बिरुवा भएकाले धार्मिक विधि र अनुष्ठान गराएर मन्दिर परिसरमा वृक्ष रोपिएको छ,’ पण्डित बोधराज प्याकुरेलबाट अनुष्ठान गरिएको जानकारी दिंदै निरौलाले भने ।
वृक्षरोपणमा पण्डित प्याकुरेलले पुराणहरुमा समेत यो बिरुवाको बिषयमा उल्लेख भएको र समुन्द्र मन्थन गर्दा निस्किएका १४ रत्न मध्य एउटा महत्वपूर्ण रत्न कल्पबृक्ष भएको जानकारी दिए ।
हरित अभियन्ता हेमन्तराज काफ्लेले आफुलाई जर्मनीबाट कल्पबृक्षको बिउ उपहार प्राप्त भएपछि आफैंले उमारेर तयार गरेको बताए । उनका अनुसार, अहिलेसम्म स्वर्गद्वारी प्युठान, छायांक्षेत्र सल्यान, हनुमानगढी नेपालगन्ज लगायतका धार्मिक स्थलमा रोपिएको कल्पबृक्ष खजुरा स्थित सुरदास आश्रममा रोपिएको हो ।
जन्मदिन लगायतका अवसरमा बिशेष गरि सितलचिनी(मोरिङ्गा) विभिन्न ब्यक्तिलाई उपहार दिंदै लामो समयदेखि हरित अभियानमा क्रियाशील काफ्ले प्रकृति संरक्षणको अभियानमा नेपालकै एक सक्रिय हरित युवा अभियन्ता हुन् जसले अहिलेसम्म राष्ट्रपति बिद्यादेवी भन्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, देखि सर्वसाधारण हजारौं बिरुवा उपहारस्वरूप दिएका छन् ।