यो सातामात्रै १ करोड ४० लाख बराबरको सहयोग हस्तान्तरण गरेको दामियन फाउन्डेशनले गत वर्ष कोभिडविरुद्धको लडाईंमा २५ लाखबढीको सहयोग गरेको थियो ।

कोभिड महामारीविरुद्धको अभियानमा सहयोग गर्दै आइरहेको संस्था दामियन फाउन्डेशनले १ करोड ४० लाख बढीको स्वास्थ्य सामग्री वितरण गरेको छ । यो वर्ष झण्डै दुई करोडको सहयोग पु¥याएको फाउन्डेशनले यो साता १ करोड ४० को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
फाउन्डेशनले बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न १० वटा जिल्लाका स्वास्थ्य संस्था तथा त्यस क्षेत्रका क्षय कुष्ठ रोगका विरामीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
पछिल्लो एक सातामा अस्पताल, सामाजिक संस्था तथा क्षयरोग तथा कुष्ठरोगका बिरामीहरुलाई उक्त सहयोग सम्बन्धित ठाउँमैं पुगेर फाउन्डेशनका देशीय प्रतिनिधि डा. सुशील कोइरालाले हस्तान्तरण गरेका थिए ।
गत साता देखि सुरु भएको अभियानमा विरामीको लागि मोनिटर, पीपीई, अक्सिजन कन्सन्ट्रेटर, मास्क, ग्लोब्स, साबुन, स्यानिइटाजर, अक्सिमिटर तथा डिग्नीटी किट लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको डा. कोइरालाले जानकारी दिए ।
बागमतीमा चितवनको भरतपुर अस्पताल देखि सुरु भएको सहयोग सुदूरपश्चिमका डडेल्धुरास्थित डडेल्धुरा अस्पताल पुगेर टुंगिएको बताए । खासगरी अस्पतालमा उपचारका लागि आवश्यक पर्ने सामग्री तथा बिरामीका लागि दैनिक प्रयोग हुने सामग्रीहरु उपलव्ध गराइएको डा. कोइरालाको भनाइ छ । डा. कोइरालाका अनुसार, नेपालगन्जस्थित भेरी अस्पताल, टीवी नेपाल नेपालगन्ज, आइएएनएफ बाँके, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेलाई सहयोग हस्तान्तरण गरिसकिएको छ ।
बर्दिया जिल्ला अस्पताल गुलरिया, लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र कैलाली, सेती अस्पताल धनगढी, महाकाली अस्पताल कञ्चनपुर, धरमपुर शहरी स्वास्थ्य क्लिनिक कञ्चनपुर, बेदकोट नगरपालिका, डडेल्धुरा अस्पतालमा पनि स्वास्थ्य सामग्री वितरण गरिएको फाउन्डेशनले जनाएको छ ।
त्यस्तै, चितवनको भरतपुर अस्पताल, नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल, पश्चिम नवलपरासीको चिसापानी अस्पताल बर्दघाट, पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, सिद्धार्थ चिल्ड्रेन आम्दा अस्पताल बुटवल, नयाँ जिवनका लागि हातेमालो भन्ने कुष्ठरोगमा काम गर्ने गैरसरकारी संस्था, कपिलवस्तु जिल्ला अस्पताललाई पनि सहयोग प्रदान गरिएको डा. कोइरालाले बताए ।
दामियन फाउन्डेशनले गत वर्ष २५ लाखबढीको स्वास्थ्य सामाग्री देशका विभिन्न ठाउँमा सहयोग गरेको थियो । ‘यो वर्ष करिब १ करोड ८५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ,’ डा. कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘यो सातामात्रै हाम्रो टोलीले १ करोड ४० लाख बराबरको स्वास्थ्य सामाग्री फिल्डमै पुगेर हस्तान्तरण ग¥यो ।’ उनका अनुसार वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा प्यासेन्ट मोनिटर ४७ वटा, पीपीई १९३४ वटा, अक्सिन कन्सन्टेटर १० लिटरको १४ वटा र ५ लिटरको १३ वटा वितरण गरिएको छ ।

डिग्नीटी किट ९ सय ३० वटा, ग्लोब्स २० हजार ४ सयवटा, सेनिटाइजर ५ सय एमएलको १ हजार ३४० वटा, साबुन ७ हजार १२० वटा वितरण गरिएको फाउन्डेशनले जनाएको छ । यस्तै सीपीएपी मास्क ८८, सर्जिकल मास्क ८८ हजार, पल्स अक्सिमिटर ५६, रेडकलर फेवरिक व्याग, २ हजार ७८० वटा वितरण गरिएको समेत डा. कोइरालाले जानकारी दिए ।
फाउन्डेशनले नवलपुर र डडेल्धुरामा क्षय कुष्ठ रोगका विरामीका लागि बनाइएको भवनमा कोभिडको समयमा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिएको जनाएको छ । कोभिड शुरु भएदेखिनै सक्रिय रुपमा फाउन्डेशनले सहयोग गरिएको जानकारी दिंदै डा. कोइरालाले महामारीको अवस्थामा संस्थाले आवश्यकता अनुसार योगदानका लागि हातेमालो गरेको बताए ।