कोरोना कहरले प्रभावित बनेका द्वन्द्व पीडितले पीडित लक्षित कार्यक्रम ल्याउन स्थानिय सरकार समक्ष माग गरेका छन् । महिला कानून र बिकास मञ्चद्वारा बाँकेको बैजनाथ ४ नेउलापुरमा आयोजना गरिएको सामुदायिक सम्बाद कार्यक्रमका सहभागी द्वन्द्व पीडितहरुले कोरोना कहरले आफुहरु अझ बढी मारमा परेको भन्दै कोरोना परिक्षण, उपचारमा प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए ।
द्वन्द्व पीडित पार्वती बुढाले न्यायका प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरु कोरोना कहरले मारमा परेकाले पीडित लक्षित कार्यक्रम ल्याउन माग गरेकी थिइन् ।
कोरोना कहरले द्वन्द्व पीडितलाई पारेको प्रभाव र स्थानीय सरकारको भूमिका बिषयक सामुदायिक सम्बाद कार्यक्रमलाई सहजिकरण गर्दै अधिकारकर्मी बसन्त गौतमले कोरोना कहरले अन्य समुदायका साथै द्वन्द्व पीडितहरु बढी नै मारमा परेकाले कोरोना परिक्षण, उपचारमा स्थानीय सरकारले सहयोग पुर्याउनु पर्नेमा जोड दिएका थिए । द्वन्द्व पीडितका बालबच्चालाई पढनपाढन र चुलो बोल्न नसकेका पीडित परिवारलाई स्थानिय सरकारले हेर्नु पर्नेमा गौतमले जोड दिएका थिए ।
सम्बाद कार्यक्रममा द्वन्द्व पीडित, बैजनाथ गाउपालिका वडा नं ४ का वडा अध्यक्ष कालि बहादुर सिंह, वडा सचिव तिलक खत्री, न्यायिक समिति सदस्य मनमाया चुनारा, शिक्षक तारा प्रसाद कुवर, लगायतका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोरोना कहरले द्वन्द्व पीडितलाई प्रभावित पारेकाले द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउनु पर्नेमा पीडितहरुले जोड दिएका थिए । सम्बाद कार्यक्रममा बिशेष गरि सरकारी सेवा सुबिधाका बारेमा प्रभावकारी सुचना प्रवाह गरिनु पर्ने, द्वन्द्व पीडितका बालबालिकालाई छात्रबृत्तिको ब्यवस्था हुनु पर्ने, वेपत्ता पारिएका श्रीमतीलाई सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिनु पर्ने, कोरोना परिक्षणमा द्वन्द्व पीडितलाई सहज ब्यवस्था गरिनु पर्ने, कोरोना संक्रमित द्वन्द्व पीडितको उपचारको ब्यवस्था गरिनु पर्ने, द्वन्द्व पीडितका लागि शिप मुलक कार्यक्रम संचालन गरिनु पर्ने र कोरोना कहरले हातमुख जोड्नमा समस्या भएकालाई सहयोग गरिनु पर्ने माग गरेका थिए ।
कार्यक्रममा न्यायिक समिति सदस्य मनमाया चुनाराले अन्यायमा परेका द्वन्द्व पीडितलाई न्यायिक समिति मार्फत न्याय दिलाउन सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । यसै गरि वडा अध्यक्ष कालिन बहादुर सिंहले असक्षम र गरिव द्वन्द्व पीडितलाई कोरोना परिक्षण र उपचारमा सहयोग गरिने प्रतिवद्धता जनाएका थिए । इन्टरनेशनल एलर्टका शोभा चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे परियोजना अन्तरगत भएका कार्यहरुको बारेमा प्रकाश पारेका थिए ।