कोरोना नियन्त्रणका लागि गरिएको निरन्तरको निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गका मजदुरहरुका लागि लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलले खाद्यान्न अभियान शुरु गरेको छ ।
फुड बैंकका नाममा शुरु गरिएको अभियानलाई मंगलवार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभारम्भ गरे । क्लब अध्यक्ष भावना सापकोटाले दिएको खाद्यान्न राहत प्याकेज एक बेरोजगार महिलालाई हस्तान्तरण गर्दै अभियान शुभारम्भ गरेका नगर प्रमुख डा. राणाले नगरभित्र गरिब निमुखा जनतालाइ हातमुख जोर्न समस्या देखापर्न थालेको बताए ।

बागेश्वरी मन्दिर परिसरमा रहेको बुद्ध विहारमा ५१ हजार रुपिया बराबरको खाद्यान्न क्लब सदस्यहरुबाटै संकलन गरेर शुरु गरिएको खाद्यान्न अभियानलाई मनकारी दाताहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष सापकोटाले बताइन् । हुनेखानेले भोकाहरुका लागि पुण्य गर्ने अवसर पनि हो, सापकोटाले भनिन्, जसले जे जति सकिन्छ, सहयोग गरेर भोको पेट भरौं ।

कोरोनाको प्रभावले निषेधाज्ञा रहुन्जेलका लागि अभियानलाई निरन्तरता दिइने योजना सुनाउँदै अध्यक्ष सापकोटाले भनिन्, अतिविपन्न ज्यालादारी मजदुरहरु भोकै परेको खबर पाएपछि यो अभियानलाई मूर्त रुप दिनुपरेको हो । चामल, दाल, नुन, तेल, तरकारीसहित ६ सय रुपिया बराबरको प्रति प्याकेजको राहत कम्तिमा ६ सय परिवारलाई वितरण योेजनाका साथ अभियान थालिएको उनको भनाइ छ । सहयोग जुटेसम्म अझै व्यापक र विस्तार गरिनेछ, सापकोटाले भनिन् ।
अभियान शुभारम्भमा नेपालगन्ज २ का वडाध्यक्ष सुनिलसिंह हमाल, बौद्ध बिहार प्रमुख गुरुमाँ यशोधरा, क्लब उपाध्यक्ष कृष्णादेवी पाण्डे लगायतले अभियानबारे बोलेका थिए ।