नेपालगन्ज उप–महानगरपालिकाको आईसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेकी छन् । यसको मुल्य प्रति एकथान ८५ हजार रुपैया हो ।
कान्तिपुर नेपालगन्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगन्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिरोहिका तर्फबाट सहयोग हस्तान्तरण गरेका हुन् । पत्रकार श्रेष्ठका अनुसार, आफ्नो माइती थलो नेपालगन्जका लागि सिरोहियाले थप मेडिकल सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको अक्सिजन सहितको आइसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा आएको थियो ।
नगर प्रमुख राणाले आईसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपप्रमुख उमा थापा मगरका अनुसार आइसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ । यसैगरी विरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत दिइनेछ । उप–महानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेसन फोकल ब्यक्तिहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई आइसोलेसनमा राखिने भएको छ ।