रेडियो कृष्णसार एफ एमले १२ वर्षको यात्रा पुरा गरि १३ औ वर्ष प्रबेश गरेको छ । १३ औ वर्ष प्रवेशका अवसरमा एफएमले यस वर्ष कुनै औपचारिक कार्यक्रम गरेन । तर सामाजिक तथा परोपकारी सेवाको उद्देश्यले जेष्ठ नागरिकको सम्मान गरेको छ ।
रेडियोले बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई शनिबार फलफुल, मिष्ठान भोजन र सामान्य यातायात खर्चवापत रकम वितरण गरेको छ । बढैयातालको कालिकास्थित सुदामा बृद्धा सतसंघ समुहमा रहेका जेष्ठ नागरिकहरुको सम्मानमा फलफुल वितरण गरिएको कार्यक्रम संयोजक माधव अधिकारीले बताउनुभयो ।
एफ एम कार्यालय र कृष्णसारकर्मीको संयुक्त पहलमा उक्त जेष्ठ नागरिकलाई फलफुल तथा मिष्ठान वितरण गरिएको हो । सतसंगमा रहेका करिब ७० जना जेष्ठ नागरिकहरुलाई एफ एम सञ्चालन गरेको संस्था समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष राकेशकुमार मिश्र, महासचिव तथा कार्यक्रम संयोजक माधव अधिकारी, सदस्य रामप्रसाद आचार्य लगायत कर्मचारीहरुले जेष्ठ नागरिकहरुलाई भोजन वितरण तथा खादाले सम्मान गर्नुभएको थियो ।
सतसंगका अध्यक्ष टुकप्रसाद घिमिरेको अध्यक्षतामा गरिएको वितरण कार्यक्रमको संचालन सचिव कमला सापकोटाले गर्नुभएको थियो । रेडियोले वार्षिकोत्सवका अवसरमा होटल रेष्टुरामा गरिने खर्चको कटौती गर्दै यसवर्ष सामाजिक सेवा तथा परोपकारी कार्यको शुरुवात गरेको छ ।
एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले रेडियोलाई निरन्तर माया, सहयोग र सहकार्यका लागि सम्पूर्ण स्रोता, सहयोगी, विज्ञापन दाता, सरकारी तथा गैरसरकारी क्षेत्र, सञ्चारकर्मी, एफएम परिवार लगायत सबैमा हार्दिक धन्यबाद र बधाई दिनुभएको छ । एफएमले स्रोता र सुभेच्छुकहरुको सुझाव र चाहनालाई सम्मान गर्दे प्रसारण सामाग्रीमा निरन्तर सुधार र परिमार्जन गर्दै आएको छ । कृष्णसार जत्तिकै तेज नाराका साथ १२ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्धारा स्थापित कृष्णसार एफएमले अरु भन्दा भिन्न, अरु भन्दा अघिको पहिचान वनाएको छ ।