एउटा खुट्टा नहुँदा ब्यहोर्नु परेका अपहेलना र दुर्व्यवहारका थुप्रै कथा छन्, उहाँसङ्ग । बसमा यात्रा गर्न खोज्दा धकेलेर चड्न नदिएको कारणनै उहाँले सहज यात्राको लागि साइकल सिक्नुभयो । साइकल सिक्नपनि त्यति कहाँ सहज थियो र कसले दिने साइकल ?
सतिश निरौला
उहाँ जब साइकल लिएर बाहिर निस्किनुहुन्छ त सबैका आँखा उहाँतिरै सोझिन्छन्, समूहमा साइकल कुदाइ रहँदा पनि सबै माझ उहाँ नै आकर्षणको केन्द्र बन्न पुग्नुहुन्छ उहाँ हुनुहुन्छ नयाँ मुलुक अर्थात सुदुरपश्चिमको कैलाली निवासी यमलाल रसाइली ।
४ बर्ष कै उमेरमा उपचार अभावले साधारण चोटपटक कै कारण दाहिने खुट्टा गुमाउन पर्यो उहाँले आज त्यही एउटा मात्र खुट्टा ले पेडलिङ्ग गर्दै साइक्लिङ्गमा हिड्दा उहाँ देशभर नै चिनिन पुग्नुभएको छ । धैर्यता, साहस र अपमान र अपहेलनाले नै उहाँ आज नेपालकै एक चर्चित राइडर बन्ने बाटो आफैंले बनाउनु भयो ।
एउटा खुट्टा नहँुदा ब्यहोर्नु परेका अपहेलना र दुर्व्यवहारका थुप्रै कथा छन्, उहाँसङ्ग । बसमा यात्रा गर्न खोज्दा धकेलेर चड्न नदिएको कारणनै उहाँले सहज यात्राको लागि साइकल सिक्नुभयो । साइकल सिक्नपनि त्यति कहाँ सहज थियो र कसले दिने साइकल ? कसैले बिश्वास नै गर्ने थिएनन् , दाइको साइकल लुकिछिपी गर्दै चलाउन सिक्नुभयो । महाकवि देवकोटाले भनेजस्तो – उद्देश्य के लिनु उडिछुनु चन्द्र एक । दुनियाँले अस्वीकार गरेको र तिमीले सक्दैनौ भनेको कुराले उहाँलाई पटक्कै छोएन निरन्तरको प्रयासले साइकल चलाउन सक्ने हुनुभयो यमलाल जी ।
२०३४ सालमा पर्वतमा जन्मिएका यमलाल रसाइलीले महाकाली देखी मेचीसम्मको नेपाल यात्रा एउटा पाइडलबाट २०५६ साल फागुन २६ गतेबाट शुरु गरि७८ दिनमा पुरा गर्नुभयो । यो उहाँ भित्रको दृढ इच्छा शक्तिको परिणाम थियो । उहाँले नेपालभित्र हुनेगरेका थुप्रै साइकलका इभेन्टहरुमा सहभागिता जनाउनु भएको छ भने नेपालगन्जमा भएका इभेन्टमा पनि सहभागी बन्नु भएको थियो ।
अतिनै सरल र मिजासिलो स्वभावका कारण पनि उहाँ सबै साइकलेहरु माझ प्रीय हुनुहुन्छ । त्यसैले त देशैभरि जतासुकै कार्यक्रम हुँदा पनि उहाँलाई निम्तो पुगिहाल्छ । पारा साइक्लिस्टहरुका लागि केहि कार्यक्रम हरु भैदिए अझै थुप्रैलाई हौसला पुग्ने उहाँको बुझाइ छ । धेरै का लागि उहाँ प्रेरणाका श्रोत हुनुहुन्छ ।
उहाँले साइक्लिङ्गमा अझै चुनौतीपूर्ण र साहसिक यात्रा समेत पुरा गरिसक्नु भएको छ कैलाली देखि मुगुको राराताल सम्म को एकल साइकल यात्रा गरेर जुन यात्रा साधारण स्वास्थ्य अवस्था भएका साइक्लिस्टहरुका लागि पनि निकै कठिन र चुनौतीपूर्ण छ । तर, १२ दिनमा उहाँ साइकल सहित रारा पुगेर महाकवि देवकोटा का ती पंक्ति लाई यथार्थ साबित गरिदिनु भो, उडि छुनु चन्द्र एक ।
समयमै राज्यले उहाँको प्रतिभा पहिचान गरेको भए सम्भवतः देशका लागी पारा साइक्लिङ्ग तर्फ थुप्रै मेडलहरु जम्मा भैसकेको हुन्थ्यो होला । तर, उहाँले आफुले त्यो अवसर नपाएपनि अन्य उहाँ जस्ता भाइबहिनीहरुका लागी राज्यले लगानी गरेर अवसर दिए उहाँको इच्छा पुरा हुने उहाँको भनाइ छ, यमलाल जीको आगामी दिन सुखद बनुन् शुभकामना । ( संवादका आधारमा)