कोरोना कहरमा बालसुधार गृहमा रहेका बालकहरु स्वास्थ्य उपचारबाट बन्चित छन् । कोरोना संक्रमणको त्रासमा रहेका बालकहरु उपचार नपाउदा थप पीडामा परेका हुन ।
७५ जनाको क्षमता रहेका बालसुधार गृहमा हाल १०० जना बालक छन् । बालसुधार गृहमा भिडभाड कम गर्न सुधार गृहमा रहेका बालकलाई आवश्यक प्रक्रिया पु¥याएर अभिभावकको जिम्मामा छाड्ने भनी सर्वोच्च अदालतको फुलकोटको निर्णय भए पनि लकडाउन पश्चात ४६ बालबालिका छुटे पनि सुधार गृहमा बालक आउने क्रम रोकिएको छैन । लकडाउन पश्चात बिभिन्न जिल्लाबाट ११ बर्ष देखि १६ बर्ष उमेर समुहमा ७ बालक बालसुधार गृहमा आएका छन् ।
सुधार गृहका देखिएका समस्या ः
क्षमता भन्दा बढी बालकहरु, सिमित कोठामा कोचाकोच बसाइ, मुद्धाको कारवाही बारे बेखवर, नियमित स्वास्थ्य जाँच नहुँने, स्वच्छ खानेपानीको समस्या, शौचालयको सेफ्टी टंकीको ब्यवस्थापनमा नहुनु, औपचारिक शिक्षाबाट बन्चित, पुस्तकको अभाव, खेलकुद सामाग्रीको अप्रयाप्तता बालसुधार गृहका प्रमुख समस्या रहेको अनुगमन पुगेका अधिकारकर्मी सामु बालसुधार गृहमा रहेका बालकहरुले गुनासो गरेका छन् ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ आसमानपुरमा रहेको बालसुधार गृह साढे चार बिगाहा क्षेत्रफलमा रहेको छ । कम्तीमा ५ बिगाहा क्षेत्रफलमा बालसुधार गृह हुनु पर्नेमा जमित कम छ । त्यो जमिन पनि स्थानिय समाजसेवी जे.के सिंहले दान दिएका हुन । सिंह भन्छन् ‘बालसुधारका लागी जग्गा दिएको हो तर सुधारमा आवश्यक मापदण्ड पुरा नहुँदा दुख लागेको छ’ ।
२ वटा भवन रहेको बालसुधार गृहका ३ कोठा र २ वटा सभाहलमा बालकहरु कोचाकोछ बस्न बाध्य छन् । कोरोना संक्रमण फैलिने जोखिम रहेका बेलामा एउटै हलमा ३० जनासम्म बस्नु परेको सुधार गृहमा रहेका बालकहरुले बताएका छन् ।
सुधार गृहका बालकहरु छालाको रोगबाट हैरान
बालसुधार गृहमा रहेका कुल सख्या १०० को झण्डै आधा बालकहरु छालाको रोगबाट पीडित बनेका छन् । छालाको गंभिर रोग लाग्दा समेत उनीहरुको उपचार हुन सकेको छैन । शरिरै भरि दाद रोगले रातै हुदा बालकहरुले औषधी पाएका छैनन । छालाको गंभिर रोग लागी उपचार गर्न नपाउदा बालकहरुको दिन शरिर चिलाउदैमा बित्ने गरेको पीडित बालकहरु बताउछन् । शरीर भरिको रातै दाग देखाउदै अनुगमनमा पुगेका अधिकारकर्मी समक्ष बालकहरुले आवश्यक उपचारको ब्यवस्थापन मिलाई दिन अनुरोध गरेका थिए ।
कोरोना संक्रमणबाट बच्न डुडुवा गाउँपालिकाले मास्क दिए पनि सुधार गृहमा साबुन, सेनीटाईजर लगायतका अत्यावयिक बस्तुहरुको अभाव छ । आवश्यक बजेट अभावमा नियमित स्वास्थ्य उपचार हुदैन । कुनै रोगको उपचार गर्नु परेमा बालकहरु आफैले पैसा तिर्नु पर्दछ । सुधार गृहमा छालाको मात्रै होईन एक बालक मानसिक र बेहोस हुने समस्याका बालकहरु समेत रहेको पाइएको छ ।
सुधार गृहमा भवन मात्रै, बालकहरु औपचारिक शिक्षाबाट बन्चित
सुधार गृहमा अध्ययनका लागी बिद्यालय भवन बने पनि संचालनमा आउन सकेको छैन । केन्द्रिय बालकल्याण समिति, महान्यायधीवक्ता, जिल्ला प्रशासन कार्यालयले बिद्यालय स्वीकृती र शिक्षकको ब्यवस्थापन गर्न भने पनि कार्यान्वयन हुन सकेको छैन । बालसुधार गृह संचालक युसेफले एक शिक्षकको ब्यवस्था गरे पनि प्रभावकारी अध्यापन हुन सकेको छैन । सुधार गृहमा बिषयगत शिक्षक र पुस्तकको समेत अभाव रहेको छ ।
सुधार गृहमा स्वच्छ खानेपानीको ब्यवस्था छैन । सुधार गृहमा फिल्टरको ब्यवस्था नहुदा वालकहरु बालुवा मिसिएको पानी खान बाँध्य छन् । सुधार गृहको शौचालयको सेफ्टी टंंकिको उचित ब्यवस्थापन नहुदा शौच खुल्ला बग्दा गर्मिमा दुगन्ध फैलिने जोखिम उत्तिकै रहेको छ ।
सुधार गृहका बालकको माग ः समानताको आधारमा सर्वोच्चको आदेश कार्यान्वयन होस
बालसुधार गृहमा रहेका बालहरुले कोरोना संक्रमणबाट बचाउन सर्वोच्च अदालतले सुधारगृहमा रहेका बालबालिकाको भिडभाड कम गर्न अभिभावकको जिम्मा लगाउने भने पनि त्यसको कार्यान्वयनमा बिभेद भएको बताएका छन् । उस्तै मुद्धामा परेका केही बालकहरु छुटे पनि केही बालकहरु नछुटेको भन्दै सर्वोच्च अदालतको आदेश बमोजिम सबै बालकहरु छुट्नु पर्ने सुधार गृहमा रहेका बालकहरुको माग छ । कोरोना कहरको बर्तमान संकटपुर्ण अवस्थामा सर्वोच्च अदालतको आदेश बमोजिम छुट्न नपाउँदा, डिप्रेसन जस्तै भएको एक बालकले गुनासो गरे ।
अप्रयाप्त सिधा खर्चले खानाको न्यून गुणस्तर ः
बालसुधार गृहमा रहने बालकहरुका लागी कारागारमा रहेका कैदी बन्दीलाई जस्तै दैनिक ६० रुपिया र ७०० ग्राम चामल दिईन्छ । बर्षको २ जोर कपडा र प्रत्येक २ बर्षमा एक जोर ओड्ने ओछ्याउने बिस्तार दिने ब्यवस्था छ । यो सिधार रकम अप्रयाप्त रहेको सुधार गृहमा रहेका बालकहरुले बताएका छन् । सुधार गृहमा रहेका बालकलाई साँझ बिहान खाना र दिउँसोमा प्राय चियासंग पालै पालौ बिस्कुट, चिउरा, भुजा, दालमोट, नास्ताको रुपमा दिने गरिन्छ । यस हिसावले हेर्दा खाना नास्ताको गुणस्तर त्यति राम्रो नदेखिएको अनुगमनमा गएका अधिकारकर्मी वसन्त गौतमले बताए ।
अधिकारकर्मीद्धारा अनुगमन ः
यसै बिच अधिकारकर्मीको एक टोलीले आईतबार बालसुधार गृहको अनुगमन गरेको छ । अनुगमन टोलीमा अधिकारकर्मी वसन्त गौतम, नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, फियान नेपालका सुरेश कुमार गौतम, नेपाल मानव अधिकार संगठनका प्रह्लाद बहादुर कार्की, सुचना र मानव अधिकार अनुसन्धान गृहका बिश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले बालसुधार गृहमा देखिएको समस्या सम्बोधनका लागी आईतवारै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बीर बहादुर वलीको ध्यानाकर्षण गराएका छन् । अनुगमन टोलीले बालसुधार गृहको मापदण्ड, सुद्ध खानेपानी, शिक्षा, औषधोउपचारमाु तत्काल कदम चाल्न अनुरोध गरेको जनाएको छ ।
यसै गरि अनुगमन टोलीले औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्मासंग सम्पर्क राखी आवश्यक सहयोगको अनुरोध गरेकोमा शर्मा तत्कालै बालसुधार गृहमा पुगी सहयोगको प्रतिवद्धता गरेका थिए ।