ठाकुरबाबाका शिक्षक र जनप्रतिनिधीद्धारा विपत कोषमा सवा ४ लाख, सहयोग झण्डै १० लाख पुग्यो
भावुक योगी
कोरोना भाइरसले निम्त्याएको विपतमा गरिव तथा विपन्न वर्गलाई सहयोग गर्न ठाकुरबाबाका शिक्षक र जनप्रतिनिधीहरुले विपत व्यवस्थापन कोषमा सहयोगस्वरुप ४ लाख २४ हजार ७ सय रुपैँया प्रदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिकामा कार्यरत २०७ जना शिक्षकले आफनो एक दिनको तलब रकम एक मुष्ठ २ लाख १६ हजार रुपैँया नगरको विपत व्यवस्थापन कोषमा प्रदान गरेको नेपाल शिक्षक महासंघ नगर समिति ठाकुरबाबाका अध्यक्ष किरुलाल चौधरीले जानकारी दिनुभयो ।
यस्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष र सदस्यहरुले पनि विपत कोषमा एकमुष्ठ २ लाख ८ हजार ७ सय रुपैँया सहयोग प्रदान गरेका छन् । जनप्रतिनिधीहरुले आफ्नो सामाजिक दायित्व वहन गर्दै नगरको विपत कोषमा सहयोग गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।
यसैगरि बर्दिया भुरिगाउँको एन आई सी एशिया बैँकले एक लाख मुख्य बराबरको खाद्यान्न सामाग्री ठाकुरबाबा नगरपालिकालाई हस्तान्तरण गरेको छ । एनआइसी एसिया बैँक क्षेत्रिय कार्यालयका प्रवन्धक राकेश केशी र भुरिगाउँ शाखाका प्रबन्धक महेन्द्र बहादुर शाहीले ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, उपप्रमुख कृष्णा कुस्मा थारु, प्रशासकिय अधिकृत रामहरी रिजाललाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन ।
बैँकले एक लाख मुल्य बराबरको दाल, नुन, तेल खाद्यान्न सामाग्री खरिद गरि नगरपालिकालाई हस्तान्तरण गरिएको एनआईसी एशिया बैँकका शाखाका प्रबन्धक महेन्द्र बहादुर शाहीले बताउनुभयो । देश लकडाउनको अबस्थामा रहेका बेला विपन्न परिवारका परेको असरलाई सम्बोधन गर्न बैँकले नगरलाई दाल, नुन र तेल सहयोग गरेको शाखा प्रवन्धक शाहीले बताउनुभयो । नगरपालिकामा प्रयाप्त मात्रामा चामल रहेकाले दाल, नुन र तेल सहयोग गरिएको हो ।
स्थानिय समाजसेवी युवा एवं निर्माण व्यवसायी तिलक शर्माले विपत कोषमा ५५ हजार ५ सय ५५ रुपैँया सहयोग प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।
विपन्नलाई सहयोग सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको छ । नगरपालिकाको आह्वान अनुसार नगरका विभिन्न संघ, संस्था तथा व्यवसायीहरुले विपत कोषमा रकम सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।
बिहान बेलुकाको छाक ज्याला मजदुरी गरि खाने अति विपन्न घरपरिवार पहिचान गरी नगरले राहत स्वरुप खाद्यान्न वितरण गर्न थालेपछी विभिन्न संघ संस्थाले नगरलाई सहयोग गर्न थालेका छन् । ठाकुरबाबा नगरपालिकाको विपद व्यवस्थापन कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा हालसम्म १० लाख बराबरको खाद्यान्न तथा नगद सहयोग जुटेको नगरप्रमुख घननाराण श्रेष्ठले बताउनुभयो ।