करोडको लागतमा सितापुरमा यसैबर्ष खानेपानी

बाँकेको खजुरा गाउँपालिकाको सितापुरमा यसैबर्षदेखि खानेपानी सेवा सुरु गरिने भएको छ । संघीय सरकारले खानेपानीका लागि एक करोडका रुपैयाँ बजेट उपलब्ध गराएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले निर्माण प्रक्रियाका लागि टेण्डर खोलिसकेको छ ।

मंगलबार सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैठकले यसै बर्ष खानेपानी सेवा सुचारु गर्ने गरी काम अगाडि बढाउन पहल गर्ने निर्णय गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, वडाध्यक्ष देविलाल खनालको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको समितिका सचिव भीम ओलीले जानकारी दिए ।


‘प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ’, पालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘अपुग बजेटमा वडा र आवश्यक परे पालिकाबाट थप बजेट पनि उपलब्ध गराइनेछ ।’ भूमिगत जलस्रोतमा निर्भर खजुरा पालिकाको वडा नं. २ सितापुरलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरुप समिति सक्रिय भएको सचिव ओलीको भनाइ छ ।

खानेपानीका अध्यक्ष मान बहादुर ओलीको अध्यक्षतामा भएको बैठकले २०७० सालदेखि सुरु भएको खानेपानी योजनालाई यसै बर्ष पूरा गरेर छाड्नु पर्ने र त्यसका लागि सबैको साथ सहयोगको अपेक्षा गरे । खजुरा–२ सितापुरमा रहेका झण्डै ३ हजार ५ सय जनसंख्या सुरक्षित खानेपानीको अभावमा रहेकाले शुद्ध खानेपानीका लागि ६ बर्ष अघि समिति गठन भएको सचिव भीम ओलीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया