विद्यालयको कब्जा जग्गा खाली गर्न सुरु, उपयुक्त विकल्प नदिएको गुनासो

नेपालगन्ज–२० गायत्री नगरमा रहेको आदर्श माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा बनाइएका घर, टहरा भत्काउन सुरु गरिएको हो । शनिबार डोजरको प्रयोग गरी पहिलो चरणमा नौ वटा घर भत्काइएको छ । हालसम्म अतिक्रमण गरी बनाइएका झण्डै एक दर्जन घर हटिसकेका छन् ।


आर्दश मावि राँझा चोक र गायत्री नगरबाट सञ्चालित छ । नेपालगन्ज विमानस्थलले राँझा चोकमा रहेको विद्यालयको जग्गा अधिग्रहण गर्दैछ । ‘विमानस्थलले चोकमा रहेको विद्यालय सार्न पटकपटक ताकेता गर्दैछ’, नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले भने, ‘उता भवन सहित जग्गा छाड्नु पर्दैछ, यता (गायत्रीनगरमा) विद्यालयको जग्गामा घर, टहरा बनाएर कब्जा गरिएको छ ।’ आदर्श माविको नाममा गायत्री नगरमा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गा रहेको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य बताउँछन् । ‘तर, अतिक्रमणका कारण अहिलेसम्म विद्यालयले उक्त जग्गा उपभोग गर्न पाएको छैन’, प्रअ आचार्य भन्छन्, ‘विद्यालयका १ हजार ४ सय विद्यार्थीको भविष्य बचाउने जिम्मेवारी छ ।’


२०३६ साल असार १० गते नै विद्यालयको नाममा दर्ता गायत्रीको नगरको जग्गा रहेको कागजात वडाध्यक्ष कार्की देखाउँछन् । तर, द्वन्द्वकालमा संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले मनपरी विद्यालयको जग्गामा बस्ती बसाएको अध्यक्ष कार्की बताउँछन् । विद्यालयको जग्गामा नबस्न र भविष्यमा कुनै पनि बेला विद्यालयले आफ्नो जग्गा लिने बताउँदा पनि अटेरी गरेर केही व्यक्तिले बस्ती बसाएको स्थानीयबासी नै बताउँछन् । ‘आदर्श माविका पूर्व अध्यक्षदेखि प्रअसम्मले विद्यालयको जग्गा हो नबस भन्दा पनि केही व्यक्तिको लहैलहैमा बस्ती बसेको हो,’ स्थानीय एक व्यक्ति भन्छन्, ‘अन्तत विद्यालयले आफ्नो जग्गा लिएर छाड्ने भो, जनताले दुःख पाए ।’


विद्यालय १५ दिनभित्र विद्यालयको अतिक्रमित भएको पुरै क्षेत्र खाली गराउने योजनामा छ । विद्यालय अतिक्रमति जग्गा खाली गर्न सघाउनका लागि गृह मन्त्रालयले समेत जिल्ला प्रशासन कार्यालय लगायतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले विद्यालयको जग्गा सम्बन्धमा अघि बढेको कारवाहीका सम्बन्धमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरेको छ । गृहको पत्र पछि मंसिर २६ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले अतिक्रमण हटाउने निर्णय गरेको थियो ।


विद्यालयका प्रधानाध्यापक आचार्यले पटकपटक नापी गरी विद्यालयको क्षेत्र सुनिश्चित गरिएकाले कुनै पनि हालतमा विद्यालयको जग्गा फिर्ता लिएरै छाड्ने प्रतिक्रिया दिएका छन् । वडाध्यक्ष कार्कीले पहिलो चरणमा खाली घर, भाडामा दिइएका घरहरु भत्काइएको जानकारी दिएका छन् । ‘क्रमशः सुकुम्बासीलाई व्यवस्थापन गरेर सबै घर भत्काउँछौं’, वडाध्यक्ष कार्कीले भने ।
शुक्रबार घर, टहरा भत्काउने क्रममा तनाव समेत उत्पन्न भएको थियो । तनावको स्थिति पछि प्रहरीले महिला प्रहरी र सशस्त्रको बल थपेको थियो । विद्यालयको जग्गामा बस्दै आएकाले सबै जग्गा विद्यालयलाई आवश्यक नभएकाले सोही ठाउँमा बस्न दिनुपर्ने माग गर्दै आएका छन् । ‘लामो समय बस्दा आफुहरुको लालपुर्जा, बिजुलीबत्ति र मालपोत समेत तिर्दै आएको’ स्थानीयबासीले जानकारी दिएका छन् ।


जनप्रतिनिधि आएपछि विद्यालयका लागि नयाँ बस्तीमा भवन समेत बनाइएको छ । त्यसका लागि अतिक्रमण गरी बनाइएका घरहरु पनि हटाइएका थिए । ‘अब बस्ती पुरै व्यवस्थित नगरी विद्यालयका लागि पर्याप्त जग्गा पुग्दैन’, वडाध्यक्ष कार्कीले भने । उक्त स्थानमा ९ देखि १२ सम्मका कक्षा सञ्चालित छन् । ‘अब पुरै विद्यालय यहीबाट सञ्चालन हुनुपर्ने अवस्था आइपर्दैछ’, वडाध्यक्ष कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि पुरै बस्ती व्यवस्थित नगरी सम्भव छैन ।’

लालपुर्जा दिलाउछौं भन्दै असुली ः सुकुम्बासी

आदर्श माविको जग्गामा घर बनाएर बस्ने क्रम द्वन्द्वकालको अवस्थामा ह्वात्तै बढेको हो । तर, जग्गा कब्जा गरेर बस्ने सबै सुकुम्बासी भने होइनन् । विद्यालयको नाममा रहेको जग्गा कब्जा गर्ने वास्तविक सुकुम्बासी, अन्त पनि घर भएका र फरक क्षमता भएकाहरु रहेका छन् ।


आदर्शमा माविको जग्गामा हाल ८४ घर परिवारले घर, टहरा बनाएर बसिरहेका छन् । उनीहरु मध्ये कतिपयलाई लालपुर्जा दिलाउँछौं भन्दै केही व्यक्तिले आश्वासन दिएर बसाएको पाइन्छ । ‘लालपुर्जा दिलाउँछौं भन्दै पटकपटक रकम समेत लिएर गएका छन्’, स्थानीय शोभा पुनले भनिन्, ‘अहिले पैसा पनि गयो, जग्गा पनि छाड्नु पर्ने अवस्था आयो ।’


नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयको जग्गामा बसेकाहरु वास्तविक हुन् कि होइनन् भने बुझ्नका लागि देउमल सुनारको संयोजकत्वमा समिति बनाएको थियो । समितिले बसोबास गर्दै आएका आधाको अन्य स्थानमा पनि घरजग्गाग रहेको प्रतिवेदन उपमहानगरपालिकालाई दिएको थियो ।


वडा कार्यालयले सुकुम्बासीका लागि व्यवस्थापनको प्रयास नगरेको होइन । तर, वडाले भनेको जग्गामा टहरा बनाएर बसेकाहरु उपयुक्त विकल्प नभएको भन्दै पुनः पहिलेकै ठाउँमा सरेका छन् । ‘केही व्यक्तिको उक्साहटमा वास्तविक सुकुम्बासीका लागि घर, टहरा बनाउन छुट्याएको जग्गामा बनाइएको घर भत्काएर पुनः पहिलेकै स्थानमा सर्ने काम भएको छ’, स्थानीय भन्छन् । वास्तविक सुकुम्बासी परिवार ४० जति रहेको वडा कार्यालयले बताउँदै आएको छ ।


‘सुकुम्बासीका लागि विद्यालयको जग्गाको छेउमा झण्डै २२ लाख खर्चेर माटो पटान र पर्खा निर्माण गरेका छौं’, वडाध्यक्ष कार्की भन्छन्, ‘उहाँहरु केही दिनमा सर्नुहुँदैछ ।’ यस बर्ष १८ सुकुम्बासी परिवारलाई सुरक्षित आवास कार्यक्रम अन्तर्गत केही रकम छुट्याइसकिएको कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया