नेपालगन्ज – बाँके, बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका बासिन्दा त्रसित भएका छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।
वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आ.व. ०७५÷०७६ मा ४ सय १८ घरधुरीमा क्षति पुगेको निकुञ्जको तथ्यांक छ । उनीहरुलाई क्षतिपूर्ति वापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराइएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३ सय ५ घरधुरीमा क्षति पुर्याएका थिए । उक्त आ.व.का वन्यजन्तु पीडितहरुलाई १४ लाख २८ हजार ७२ रुपैया वितरण गरिएको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा आ.व. ०७५ ÷०७६ मा भएको सडक दुर्घटनामा ४५ वटा वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आ.व. ०७४÷७५मा ७२ वटाको बन्यजन्तुको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७३÷०७४मा ८३ वटा वन्जन्तुको सडक दुर्घटनावाट मृत्यु भएको थियो । वन्यजन्तु संरक्षण गर्ने क्रममा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आर्थिक वर्ष ०७५÷७६ मा वर्षमा ४ सय ३१ वटा वन्यजन्तुको उद्दार गरेको तथ्यांक निकुञ्जमा रहेको छ । निकुञ्जले आ.व. ०७४÷७५ मा ११ वटा वन्यजन्तुको उद्दार गरेको थियो । बर्दियामा सात महिनाको अवधीमा ५ जनाले वन्यजन्तुको आक्रमणमा ज्यान गएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, चालू आर्थिक वर्षको तीन महीनामा बाघको आक्रमणबाट तीन जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसैगरी वन्यजन्तुको आक्रमणबाट सात जना सख्त घाइते, तीन जना सामान्य घाइते र ३३३ पशुधनको क्षति भएको तथ्याङ्क छ ।
वन्यजन्तुको आक्रमण तथा क्षतिका लागि चालू आवमा विभागले हालसम्म जम्मा एक करोड, पाँच लाख ३७ हजार ५३० राहत वितरण गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जङ्गली ब्वाँसो, जङ्गली कुुकुर, भालु, हिउँ चितुवालगायत वन्यजन्तुबाट संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो । त्यस्तै गत आवमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो । जसमध्ये हात्तीबाट १५, गैँडाबाट दुई, बाघबाट चार, चितुवाबाट छ, जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक÷एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ ।
बाघको आक्रमणमा मृत्यु
बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो ।
बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संरक्षणको लागि स्थापना गरिएको सबैभन्दा कान्छो निकुञ्ज हो । पछिल्लो तथ्याङ्क अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बयस्क बाघ रहेका छन् ।