केन्द्रको बर्दियामा परियोजना

नेपालगन्ज -सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियामा पारस्परिक जवाफदेहिताः मानव अधिकार सुदृढीकरण परियोजना सुरु गरेको छ । केन्द्रले बिहीबार परियोजना बारे बर्दियाको बढैयाताल गाउँपालिकामा सरोकारवालासंगको जानकारी बैठक गरेको छ ।


नीति निर्माण.तथा कार्यान्वयनमा अधिकारमा आधारित दृष्टिकोण अवलम्बन गरी नागरिक समाज र सरकारबीचको सम्वन्धलाई थप सुदृढ बनाउदै मानव अधिकारको संरक्षण, प्रबद्र्धन तथा कार्यान्वयनमा परियोजनाले विशेष जोड दिने केन्द्रले जानकारी दिएको छ ।


बैठकमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानीय तहलाई मानव अधिकार मैत्री गाउँपालिका बनाउनु पर्नेमा जोड दिदै स्थानीय तहमा मानव अधिकार सुदृढिकरणमा यो परियोजनाले सहयोग गर्ने भएकाले संस्था र गाउँपालिकाविचको सहकार्यमा मानव अधिकारको अवस्थालाई सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको विषय निकै सम्बेदनशिल क्षेत्र भएकाले स्थानीय तहमा मानव अधिकार मैत्री बाताबरण बनाउनुपर्नेमा जोड दिदै पहिला नागरिकले आफ्नो कर्तव्यको पालना गर्नुपर्ने बताए ।


कार्यक्रममा संस्थाका अध्यक्ष विश्वजीत तिवारी, कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम प्रबन्धक रविन्द्र ज्ञवालीले संस्थाको कार्य, उद्देश्य, तथा परियोजनाका बारेमा जानकारी गराएका थिए । ११ महिने उक्त परियोजना बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालन हुने केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया