नेपालगन्ज- पछिल्लो समय विभिन्न प्रदेश तथा स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने बिभिन्न खालका योजना तथा कार्यक्रमहरु लागु गरिरहेका छन् । प्रदेश नं. ५ ले पनि ज्येष्ठ नागरिकहरुलाई घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि सा¥यो ।
प्रदेश सरकाले ल्याएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन । प्रदेश ५ को प्रदेश सरकारले गत आर्थिक बर्षको चैत्र महिनादेखि लागु हुने गरि ८४ वर्ष माथि उमेरका सबै ज्येष्ठ नागरिहरुलाई घरमै गई स्वास्थ्य सेवा दिने गरि प्रदेश भरि सो कार्यक्रम लागु गरेको थियो ।
ज्येष्ठ नागरिकहरुले कुनै पनि किसिमको स्वास्थ्य समस्याहरु झेल्नु नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले महिनाको २ पटक ८४ वर्ष भन्दा माथि उमेरका सबै ज्येष्ठ नागरिहरुको घरमा गई स्वास्थ्य सेवा दिने गरि कार्यक्रम लागु गरेको भएपनि बाँकेमा भने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मार्फत सबै स्वास्थ्य संस्थाहरुले, स्वास्थ्य संस्थाले समेट्ने क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई घरदैलो स्वास्थ्य सेवा प्रदान गर्न गत फागुनको महिनामा प्रदेश सरकारले कार्यक्रम कार्यान्वयनका लागि पत्राचार गरेको थियो । महिनाको २ पटक प्रत्येक ज्येष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मीहरु गइ चेक जाँच गर्ने र आवश्यक औषधी वितरण गर्ने गरि कार्यक्रम लागु भएको भएपनि धेरै ज्येष्ठ नागरिकहरुको घरमा स्वास्थ्यकर्मी पुगेका छैनन् । महिनाको २ पटक त के अहिलेसम्म १ पटक पनि स्वास्थ्यकर्मी घरमा नआएको बाँकेका ज्येष्ठ नागरिकहरु बताउँछन् ।
कार्यक्रम लागु भएको सुरुका केही महिना कतिपय स्वास्थ्य संस्थाहरुले घरदैलो स्वास्थ्य सेवा संचालन गरेको भएपनि कार्यक्रमले निरन्तरता भने पाउन सकेन । बाँके जिल्लाका कतिपय स्थानीय तह अन्र्तगतका स्वास्थ्य संस्थाहरुले कार्यक्रमको कार्यान्वयन गरेको भएपनि केही स्वास्थ्य संस्थाहरुले हाल सम्म १ पटक पनि ज्येष्ठ नागरिकको घरमा जान सकेका छैनन् ।
अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा मात्रै प्रदेश सरकारले कार्यक्रम लागु गरेकाले पनि प्रभावकारी कार्यान्वयन गर्न नसकिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । एक जना ज्येष्ठ नागरिकको घरमा एक पटक गए वापत स्वास्थ्यकर्मीले २ सय ५० का दरले रकम पाउने भएकाले कतिपय स्वास्थ्य चौकीहरुले रकम पाउनकै लागि भएपनि कार्यक्रमलाई औपचारिकता दिएका थिए भने कतिपयले कागज पत्र मिलाएर रकमको लागि पेश गरेको गुनासो स्थानीयको रहेको छ ।
बाँकेको नरैनापुर गाउँपालिका अन्र्तगतका केही स्वास्थ्य संस्थाहरुले सुरुको १÷२ महिना कार्यक्रम गरेको भएपनि कार्यक्रमले निरन्तरता नपाएको नरैनापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु बताउँछन् । गत आ.व. मा केही स्थानीय तह बाहेक केहीले यो कार्यक्रम गरेको भएपनि चालु आ.व. को पहिलो चौमासिक सकिनै लाग्दा समेत धेरैले कार्यक्रमलाई निरन्तरता दिएको पाइँदैन ।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा संयोजक धननाथ योगीले अघिल्लो वर्ष कतिपय स्वास्थ्य चौकीहरुले ज्येष्ठ नागरिकहरुको घरदैलोमा गइ स्वास्थ्य सेवा दिएको भएपनि सबै स्वास्थ्य संस्थाहरुले सो कार्यक्रम नगरेको बताए । कार्यक्रमको वारेमा सबैलाई स्पष्ट जानकारी नभएकाले कार्यान्वयनमा समस्या आएको बताउँदै यो वर्ष कार्यक्रम भए÷नभएको वारेमा थाहा नभएको योगीको भनाइ छ । यो वर्ष हाल सम्म कुनैपनि स्वास्थ्य संस्थाहरुले कार्यक्रम गरेको जानकारी नभएको उनको भनाइ छ ।
राप्ती सोनारी गाउँपालिकाका केही स्वास्थ्य संस्थाहरुले महिनाको १ पटक ज्येष्ठ नागरिकहरुको घरमा गइ सेवा दिने कार्यक्रम संचालनमा ल्याएको बुझिएको छ । राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु चुडालीले अघिल्लो वर्ष सबै क्षेत्रका ज्येष्ठ नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवा पाएको भएपनि यस वर्ष सबै स्वास्थ्य संस्थाहरुले निरन्तरता दिन नसकेको बताए । बजेट अभावको कारण महिनाको १ पटक मात्रै भएपनि स्वास्थ्य सेवा दिएको कतिपय स्वास्थ्य संस्थाहरुले कागजजात पेश गरेका छन,’ उनले भने ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा संयोजक पुर्ण बहादुर खड्काले अघिल्लो वर्ष खजुरा प्राथामिक स्वास्थ्य केन्द्र बाहेक अरु सबै स्वास्थ्य संस्थाहरुले ८४ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गइ स्वास्थ्य सेवा दिएको बताए । अन्य क्षेत्रका ज्येष्ठ नागरिकहरुले उक्त सेवा पाएको भएपनि सबै भन्दा बढी जनसंख्या भएको खजुरा क्षेत्रका ज्येष्ठ नागरिक भने सो सेवाबाट बञ्चित भएको खड्काको भनाइ । खड्काका अनुसार, यस वर्ष खजुरा गाउँपालिका अन्र्तगतका कुनै पनि स्वास्थ्य संस्थाले कार्यक्रम गरेको जानकारी दिएका छैनन् ।
जानकी गाउँपालिकामा यो कार्यक्रम लागु नै हुन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दल रानाले बताए । अघिल्लो वर्ष अन्तिममा पत्राचार भएकाले गर्न नसकिएको बताउँदै यो वर्षको अहिले सम्म कुनैपनि स्वास्थ्य संस्थाले संचालन नगरेको रानाको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयले स्पष्ट जानकारी र फर्मेटहरु नदिदा पनि कार्यान्वयनमा समस्या आएको उनको दाबी छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले अघिल्लो वर्ष बाँकेका सबै पालिकामा कार्यक्रम प्रभावकारी रुपमा संचालन हुन नसकेको बताए । आर्थिक वर्षको अन्तिम चौमासिकमा कार्यक्रम आएकाले पनि कार्यान्वयनमा समस्या आएको बताउँदै यष वर्ष पनि कार्यक्रमको निरन्तरताको लागि सबै पालिकामा सूचना गरिसकिएको शाहले जानकारी दिए ।
प्रदेश सरकाले महत्वकाँक्षी योजनाका साथ ज्येष्ठ नागरिकहरुप्रति सम्मान गर्ने उद्देश्यले कार्यक्रम लागु गरेको भएपनि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले कार्यान्वयनमा खासै ध्यान नदिदा कार्यक्रमले निरन्तरता पाउनेमा शंका गर्न थालिएको छ ।