नेपालगन्ज
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा बाँकेमा दुई दिने कानुन तर्जुमा अभ्यास कार्यशाला आयोजना गरिएको छ । बैजनाथ गाउँपालिकाको संयोजनमा भएको कार्यशाला बुधबार सकिएको हो ।
प्रदेश ५ को गाउँपालिका, नगर सभा सञ्चालन सम्बन्धी कानुन गाउँसभा सञ्चालन विधिबारे कार्यशालामा जानकारी गराइएको थियो । बैजनाथका सबै जनप्रतिनिधि र शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा महासंघका वरिष्ठ कर्याक्रम अधिकृत राजेन्द्र प्रसाद प्याकुरेल, अभिवक्ता प्रेम प्रसाद धिताल र हरि प्रसाद मैनालीले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा चार वटा क्षेत्रमा विधेयक तयारी, सभामा विधेयक प्रस्तुत, छलफल र पारित गर्ने प्रक्रियाहरुका बारेमा नमूना गाउँसभा पनि गरिएको थियो । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, महासंघका सचिवालय सदस्य समेत रहेका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले नेपालको सन्दर्भमा संघीयता नयाँ रहेकाले स्थानीय सरकारले गर्ने गतिविधिले त्यसलाई संस्थागत गर्ने बताएका थिए । उनले स्थानीय सरकारले कानुन निर्माण प्रक्रियामा महासंघले सधै सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यशालामा महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले गोष्ठीले गाउँसभा सञ्चालनका लागि जनप्रतिनिधिलाई जानकार हुन मद्दत पुर्याएको बताएका थिए ।