काठमाडौं – पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आज सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । चारदिने सो अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामै नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी कुम्भमेलामा सहभागी हुनेछन् ।
सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । सम्मेलनमा खासगरी पोषणसम्बन्धी सेवाहरुको विस्तार (स्केलिङ अफ न्युट्रेशन–सन) अभियानमा आबद्ध देश, अन्तर्रा्ष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्रसङ्घीय निकायको सहभागिता रहनेछ ।
विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन जना बालबालिकामध्ये एक जना पुड्कोपन, ख्याउटे, मोटोपन, जस्ता कुपोषणले ग्रसित रहेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनका रहेका छन् । सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेको थियो । यसैगरी सोही उमेर समूहका बालबालिकामध्ये २७ प्रतिशत कम तौल र १० प्रतिशत ख्याउटे रहेका छन् । पाँच वर्षमुनिका बालबालिका अधिक तौल र मोटोपन १.२ प्रतिशत र प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन २२ प्रतिशत र सोही उमेरका महिलाको दुब्लोपन १७ प्रतिशत रहेको छ ।
यसैगरी नेपाल राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण २०१६ का अनुसार नेपालका ३२ प्रतिशत किशोरकिशोरीहरुमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको छ । अर्काेतर्फ बहुआयामिक गरिबी तथा कुपोषणका कारण बालबालिका विद्यालय जानबाट वञ्चितसमेत रहेका छन् । धनी वर्गका बालबालिकामा पुड्कोपन १६.५ र गरीब वर्गका बालबालिकामा यो दर झण्डै ५० प्रतिशत रहेको छ । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएमा आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँदछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको थियो । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले ‘बलियो नेपाल’ नामक गैरसरकारी संस्थाले सो अभियानको सुरुआत गरेको हो ।