सुगममा फलाफाल दुर्गममा अभाव
मन भण्डारी / नेपालगन्ज :
लामो समय देखि समायोजन प्रक्रियामा रहेको स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनले टुंगो पाएको छैन । यतिवेला अहिले पनि देशै भर कर्मचारी समायोनको क्रम चलिनैरहेको छ । बाँकेका स्थानीय तहहरुमा पनि स्वाथ्य क्षेत्रका कर्मचारीहरु समायोजनको कामले पूर्णता पाउन सकेको छैन । बाँके जिल्लाका केही पालिकाहरुले समायोजन भएर आएका स्वास्थ्य क्षेत्रका कर्मचारीको पदस्थापना गरि काम काजमा खटाइसकेका छन् भने केही पालिकाहरुमा यो विषय टाउको दुःखाइ बनेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी आउँदा पदस्थापन गर्न समस्या भएको र कर्मचारीले हाजिर समेत गर्न नपाएको विषयमा समाचार प्रकाशनमा आएको छ । तर, बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको नरैनापुर गाउँपालिकाको अवस्था भने ठिक उल्टो छ । नरैनापुरमा आवश्यक स्वास्थ्य क्षेत्रका कर्मचारी नै नहुँदा स्वास्थ्य संस्थाहरु कर्मचारीविहीन बनेका छन् । सबैले सुगम क्षेत्र खोज्ने भएकै कारण सुगम क्षेत्रमा आवश्यकता भन्दा बढी कर्मचारी हुनु र दुर्गम क्षेत्रमा कर्मचारी जान नमानेका कारण अभावको स्थिति सिर्जना भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलको भनाइ छ । विगतदेखि नै नरैनापुर क्षेत्रलाई विकट क्षेत्रको रुपमा हेरेर पनि कर्मचारीहरु काम गर्न जान नमानेको अवस्था थियो । अहिले झन समायोजनको क्रममा धेरै जसो कर्मचारीले सुगम क्षेत्र नै रोजेपछि नरैनापुरमा कर्मचारी अभाव भएको छ ।
नरैनापुरमा अहेव चौथो र अनमी चौथो तहको दरबन्दी अनुसार भने समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापना भइ ब्यवस्थापन भइसकेको छ । गाउँपालिका अन्र्तगत रहेका ६ वटा स्वास्थ्य संस्थाहरु मध्ये गंगापुर स्वास्थ्य चौकी बाहेक अरु ५ वटा स्वास्थ्य संस्थाहरुमा अहिले कर्मचारी अपुग छ । गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभावको कारण स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ । नरैनापुरमा सिअहेव÷हेअ छैटौ र सिअहेव÷हेअ पाँचौ तहका कर्मचारी नै नआइपुग्दा गंगापुर बाहेक सबै स्वास्थ्य संस्थाहरु तल्लो स्तरका केहि कर्मचारीको भरमा चलेका छन् । पालिकामा समायोजन भएर आउनुपर्ने सिअहेव÷हेअ छैटौ र पाँचौ तहका कर्मचारी आइनपुगेको कारण स्वास्थ्य संस्थाहरुमा कर्मचारी पठाउन नसकिएको नरैनापुर गाउँपालिका स्वाथ्य शाखा प्रमुख मोइन खाँले बताए । गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा भएका स्वास्थ्यकर्मिहरु समायोजन भएर अन्य क्षेत्रमा जाने क्रम र अन्य बिभिन्न क्षेत्रबाट समायोजन भएर आउने क्रम चलिरहेको छ,’ उनले भने ।
नरैनापुर गाउँपालिकामा जम्मा स्वास्थ्य क्षेत्रमा ३६ जनाको स्वीकृत दरबन्दी रहेकोमा १२ जना कर्मचारी अपुग छन् । अपुग कर्मचारीमा पनि सबै पाँचौ र तथा छैठौ तहका कर्मचारी छन् । कतिपय कर्मचारी पालिकामा आइ सकेको नभए पनि सम्पर्कमा भने आएको स्वास्थ्य संयोजक खाँको भनाइ छ । पालिकाबाट समायोजन भएर स्वास्थ्यकर्मीहरु बाहिर गएपछि स्वास्थ्य संस्थाहरु खालि हुनै लाग्दा समेत कर्मचारी ब्यवस्थापन हुन नसक्दा नागरिकहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
नरैनापुर गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकीहरु छन् । ती स्वास्थ्य चौकीमा कार्यरत धेरै स्वास्थ्यकर्मिहरु समायोजन भएर गइसकेका छन् भने बाहिरबाट आउनुपर्ने कर्मचारी आएका छैनन् । पालिका अन्र्तगतको कटकुइया, लक्षमणपुर, कालाफाँटा, नरैनापुर र मटेहिया स्वास्थ्य संस्थाहरुमा २÷२ जना पाँचौ तहको दरबन्दी रहेकोमा सबै ठाउँमा पाँचौ तहको कर्मचारी छैनन् । त्यसै गरी लक्षमणपुर प्राथामिक स्वास्थ्य केन्द्रमा १ जना एमबिबिएस डा. को दरबन्दिी खालि छ ।
कालाफाँटा र नरैनापुर स्वास्थ्य चौकीमा १ जना पाँचौ वा छैटौ अधिकृतको दरबन्दी खाली रहेको र मटेहियामा १ जना पाँचौ वा छैठौ तहको अनमीको दरबन्दि खाली रहेको स्वास्थ्य संयोजक खाँले बताए ।
स्वास्थ्य संस्थाहरुमा आवश्यक कर्मचारी नहुँदा नागरिकहरुले प्रभावकारी स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन् । नरैनापुर गाउँपालिका वडा नं ४ का इर्साद अलि साइले स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुँदा नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको बताए । ‘संविधानमा सबै नागरिकहलाई आधारभुत स्वास्थ्य सेवाको ब्यवस्था हुनुपर्ने भनिएको छ,’ उनले भने, ‘तर स्थानीय तहका स्वास्थ्य संस्थामा कर्मचारी अभाव छ कसरी पाउने आधारभुत स्वास्थ्य सेवा ।’
बाँकेको कोहलपुर नगरपालिकाले समायोजन भएर आएका सबै कर्मचारीहरुको पदस्थापना गरिसकेको छ । त्यसैगरि राप्ती सोनारी गाउँपालिका अन्र्तगतका सबै स्वास्थ्य केन्द्रमा दरबन्दिी अनुसारको कर्मचारी पदस्थापन गरिसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु चुडालीले जानकारी दिए । ‘सबै ठाउँमा आवश्यक कर्मचारी ब्यवस्थापन भइसकेको छ, ५÷६ जना कर्मचारी बढी हुँदा बढी भएकाको पदस्थापना भएको छैन,’ उनले भने । त्यसैगरि डुडुवा गाउँपालिकामा सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक्ता अनुसारको कर्मचारी पदस्थापन भइसकेको छ भने खजुरा गाउँपालिकाले कामकाज गर्ने जिम्मेवारी सहित सबैलाई स्वास्थ्य संस्थाहरु पठाइसकेको बुझिएको छ । जानकी गाउँपालिमा ७ जना र बैजनाथ गाउँपालिकामा २ जना बढी कर्मचारी छन् । ति दुवै पालिकामा बढी भएका बाहेक अरु सबैको पदस्थान भइसकेको छ ।
यसरी हेर्दा बाँके जिल्लाका सबै पालिकाहरुमा आवश्यकता भन्दा बढी कर्मचारी देखिन्छन् भने नरैनापुरमा धेरै अपुग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आवश्यकता र दरबन्दीको अवस्था नहेरी जस्ले जा माग्यो त्येतै पठाइ दिदा यस्तो समस्या आएको बाँकेका स्थानीय तहका प्रतिनिधिहरुको भनाइ छ ।