स्वास्थ्य क्षेत्रका कर्मचारी हाजिर हुन पाएनन् कर्मचारी

दरबन्दी भन्दा बढी कर्मचारी पठाइएको भन्दै उपमहानगरपालिकाले कर्मचारीलाई हाजिर हुन नदिएको हो


नेपालगन्ज
समायोजन भएर आएका स्वास्थ्य क्षेत्रका कर्मचारीले स्थानीय तहले हाजिर गर्न नदिएको गुनासो गरेका छन् । बिभिन्न ठाउँबाट नेपालगन्ज उपनगरपालिकामा समायोजन भएर आएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई आवश्यक दरबन्दी भन्दा बढी कर्मचारी भएको भन्दै हाजिरी गर्न नदिएको कर्मचारीले गुनासो गरेका हुन् । स्वास्थ्य क्षेत्रका कर्मचारीहरु समायोजनको पत्रसहित नेपालगन्ज उपमहानगरपालिकामा आएको भए पनि कर्मचारीले हाजिरी गर्न पाएका छैनन् ।

सल्यान जिल्लाबाट समायोजन भएर नेपालगन्ज उपमहानगरपालिका आएका सिअहेव (अधिकृत) पठ बुढाथोकीले नियमित रुपमा कार्यालयमा आउने गरेको भएपनि आधा महिनादेखि हाजिर हुन नपाएको बताए । ‘असोज २३ गते सल्यान जिल्लाबाट समायोजनको पत्र सहित उपमहानगरपालिकामा आएको भएपनि हाजिरी गर्न नपाएको बुढाथोकीले गुनासो गरे । ‘बिहान नगरपालिका आउँछौ अनि दिनभरि बसेर बेलुका घर जान्छौ, हाजिरी हुन पाएका छैनौmँ’ बुढाथाकीले भनाइ छ । ‘हाजिर गर्ने कहाँ हो ? काम गर्ने कहाँ हो ? केही ठेगान छैन,’ उनले भने, ‘न काम र न ठाउँको टुङ्गो, न त तलबको ।’


बाँकेका अधिकाँस स्थानीय तहमा समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापना भइ ब्यवस्थापन भइसकेको छ भने नेपालगन्ज उपमहानगरपालिकामा भने समायोजन भएर आएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई ब्यवस्थापन गर्न नसक्दा कर्मचारीहरु भूमिका बिहिन बनेका छन् ।


असोज २९ गते डुडुवा गाउँपालिकाबाट समायोजन भएर आएका सिअहेव कृष्ण बहादुर केसीले अहिलेसम्म हाजिर हुन नपाएको बताए । काम गर्नका लागि भूमिका तथा जिम्मेवारी नतोकिदा दिनभरि पालिकामा बसेर गफ गरेर बस्नु बाहेक अरु बिकल्प नभएको उनको भनाइ छ ।


खजुरा गाउँपालिकाबाट समायोजन भएर कार्तिक १ गते नेपालगन्ज उपमहानगरपालिका आएका गोरखनाथ गोगीले नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी आएको भन्दै हाजिर हुन नदिइएको बताए । असोज ३० गतेको स्वास्थ्य मन्त्रालयको निणय अनुसार समायोजन भएर आएका सबै कर्मचारीलाई हाजिर गराउनु भनेर स्थानीय तहहरुलाई पत्राचार गरेको भएपनि स्थानीय तहले हाजिर नगराएको उनले गुनासो गरे । दरबन्दी भन्दा बढी कर्मचारी आएपछि तलबको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले नसक्ने भएकाले तलबको सुनिश्चितता नभए सम्म हाजिर नगर्न नगरपालिकाले निर्देशन जानकारी पाएको गोरखनाथले बताए । आधिकारिक रुपमा कार्यालयमा हाजिर गर्न नपाए पनि भौतिक रुपमा नियमित कार्यालयमा हाजिर हुने गरेको कर्मचारीहरुको भनाइ छ ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले दरबन्दी भन्दा बढी कर्मचारी मन्त्रालयले पठाइदिएपछि कर्मचारी पदस्थापनामा समस्या आएको बताए । आवश्यक्ता भन्दा धेरै बढी कर्मचारीहरु बिभिन्न ठाउँबाट आएको बताउदै सबैलाई हाजिर गराउन र जिम्मेवारी दिन कठिन भएको प्रमुख राणाले बताए ।


हाजिर गराएपछि तलब खुवाउन समस्या हुने भएकाले हाजिर नगराएको भन्दै मन्त्रालयले तलवको सुनिश्चिता गरेमा हाजिर गराउने र कर्मचारीको ब्यवस्थापन गर्ने राणाको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकामा अधिकृत सातौँ÷आठौँ हे.ई. १ जना, अधिकृत छैटौँ हे.ई. १२ जना, सहायक पाँचौ हे.ई. २२ जना सहायक चौँथो हे.ई. ११ जना, अधिकृत छैटौँ क.न.÷प.हे.न. ६ जना, सहायक पाँचौ क.न.÷प.हे.न ६ जना, सहायक चौथो क.न.÷प.हे.न ११ जना गरि जम्मा ६९ जनाको स्विकृत दरबन्दी छ ।


जसमा अहिले अधिकृत सातौँ÷आठौँ हे.ई. १ जना, अधिकृत छैटौँ हे.ई. २२ जना, सहायक पाँचौ हे.ई. १९ जना सहायक चौँथो हे.ई. १० जना, अधिकृत छैटौँ क.न.÷प.हे.न. ४ जना, सहायक पाँचौ क.न.÷प.हे.न ९ जना, सहायक चौथो क.न.÷प.हे.न १० जना गरि जम्मा ७५ जना कर्मचारी समायोजन भएर आएका छन् । यसरी हेर्दा आवश्यकता भन्दा ६ जना कर्मचारी बढी आएको देखिन्छ ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले आवश्यकता भन्दा बढी कर्मचारी समायोजन भएर आएपछि पदस्थापनामा ढिलाइ भएको बताए । सबैको पदस्थापना हुन नसकेको भएपनि स्वास्थ्य संस्थाको सेवा प्रवाहमा असर नपर्ने गरि आवश्यक कर्मचारीलाई कामकाज गर्ने गरि सबै स्वास्थ्य संस्थामा खटाइएको प्याकुरेरले भने । केहि पदमा आवश्यकता भन्दा बढी भएकाले जिम्मेवारी दिन नसकिएको बताउदै उनले भने, ‘आवश्यकता भन्दा बढी कर्मचारीको तलव भत्ताको सुनिश्चितताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका छौं, मन्त्रालयले तलव ब्यवस्थापनको सुनिश्चिता गरेमा कर्मचारी ब्यवस्थापन गर्न कुनै समस्या छैन ।’ कतिपय विकट ठाउँमा कर्मचारीहरु अपुग हुँदा हुँदै सुगम क्षेत्रमा आवश्यक्ता भन्दा बढी कर्मचारी पठाउने मन्त्रालयको त्रुटी भएको उनको भनाइ छ । उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मन्त्रालयले आवश्कता र दरबन्दी नहेरीकनै हचुवाको भरमा कर्मचारी पठाउदा समस्या आएको बताइन् । ‘अब चाँडै बैठकमा छलफल गरि कर्मचारीको पदस्थापनाको टुंगो लगाइ समस्या समाधान गरिनेछ,’ उपप्रमुख थापाको भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया