फाइल तस्वीर :ईन्टरनेट
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले तिहार अगाडि नै तुलसीपुर वजारलाई झिलीमिली पार्ने गरी काम अगाडि वढाएको छ । उज्यालो तुलसीपुर अभियान अन्तर्गत वजार क्षेत्रभित्र तिहार अगाडि नै सबै पोलमा वत्ति जडान गर्ने प्रक्रिया अगाडि वढाएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले वत्ति नभएको ठाउँमा नयाँ वत्ति जडान गर्नुका साथै पुराना सोलार वत्तिहरुको मर्मत प्रक्रिया अगाडि वढेको समेत वताए ।
उपमहानगरपालिकाले उत्तरमा रक्षाचौर, दक्षिणमा सितलपुर, पूर्वमा मज्गै र पश्चिममा भमकेसम्म सडक वत्ति जडानलाई अगाडि वढाएको कार्यपािलक सदस्य दिपक कुमालले जानकारी दिए । उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै ठेक्का मार्फत जडान गरिएका सोलार वत्ति विग्रिएका कारण वजार क्षेत्र अन्धकार रहेको थियो । सोलार वत्तिको ग्यारेन्टी हुँदा पनि ठेकेदारले आनाकानी गरेका कारण मर्मत हुन सकेको थिएन । “तत्काल काम अगाडि वढाउने ठेकदारले प्रतिवद्धता जनाएको छ ” नगरप्रमुख पाण्डेले सुनाए । उनले समयमै काम नभए कारवाही गरिने समेत चेतावनी दिए ।
पहिलो चरणमा सडक वत्ति जोड्ने काम अगाडि वढिसकेको खरिद शाखा प्रमुख टोपवहादुर डाँगीले जानकारी दिए । उनका अनुसार वजार क्षेत्रमा वुधवारसम्म २५ वटा नयाँ सडक वत्ति जडान भइसकेका छन् । सबै क्षेत्रमा जडानका लागि काम अगाडि वढेको पनि उनले जानकारी दिए ।
यसैगरी विभिन्न ८ वटा टोलमा जोडएका ७८ वटा सडक वत्तिहरु अहिले पूर्णत नवल्ने अवस्थामा रहेका छन् । एभरेष्ट सोलार इनर्जी प्रालीले प्रति पोल ८९ हजारमा जडानको ठेक्का पाएका भएपनि कमसल सामग्रीको प्रयोग भएका कारणले गर्दा एक वर्ष नपुग्दै विग्रिएका थिए । ठेक्का पाएको कम्पनीले लामो समयसम्म पनि आनाकानी गरेपछि नगरप्रमुख पाण्डेले तत्काल मर्मत नगरे कानुनी प्रक्रिया अगाडि वढाउने भएपछि काम अगाडी वढाएको थियो । ठेकेदार रोशन पुनले विग्रिएका सामग्रीहरु आइसकेको र विहिवारदेखि नै मर्मतको काम अगाडि वढेको जानकारी दिए । “नराम्रो सामान परेको हामीलाई पनि थाहा भएन त्यसलाई तत्काल मर्मत गर्छाै, तिहार अगाडि नै तुलसीपुर झिलिमिली हुनेछ ” पुनले भने ।
उपमहानगरपालिकाले सबै टोलहरुमा वत्ति जडानका गर्नका लागि यो वर्ष उज्यालो तुलसीपुर अभियान अगाडि वढाएको छ । तुलसीपुरलाई सुरक्षित राख्नका लागि वजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्न टेण्डर प्रक्रिया अगाडि वढिसकेको छ ।