ज्ञानु सङ्गम खड्का
चारबाहिनी चोक दक्षिण–पश्चिममा लस्करै खाजा नास्तका ठेला पसलहरु छन् । ती मध्ये धर्मे बुढाक्षेत्रीको ठेला पसलमा दिउँसो ३ बजेको टनटलापुर घाममा पनि खाजा खानेहरुको ठेलमठेल छ । चारबाहिनिमा रहेका आधा दर्जन ठेला पसलहरु मध्ये आधाजती धर्मे बुढाक्षेत्रीका हुन् । कुनैमा शुद्ध शाहाकारीका परिकारहरु पाइन्छन त कुनैमा मांसाहारी ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बुढाक्षेत्रीले चारबाहिनिमा ठेला पसल राखेको ६ वर्ष पुगिसकेको छ । सुरुमा एउटा ठेलाबाट सुरु गरेका उनले अहिले तीन वटा पुर्याएका छन् । उनले आफू सङ्गै अन्य चार जनालाई पनि प्रत्यक्ष रोजगार दिलाएका छन् ।
२५ वर्षसम्म भारतमा काम गरेका उनी हाल नेपालगन्जको चारबाहिनी चोकमा शान्ति मम चाउमीन सेन्टर नामक आफ्नै नास्ता पसल चलाउँदै आइरहेका छन् । बिहानदेखि साँझसम्म उनी व्यस्त रहन्छन् । आफुले बनाएको मम, चाउमिन, पनिर नास्ता खानको लागि दिनहुँ २५० ग्राहक आउने उनी बताउँछन् । उनलाई व्यापारमा परिवारले पनि धेरै साथ दिएका छन् । उनलाई विशेष गरि उनकी श्रीमती तार देवि बुढाक्षेत्री र छोरा पृथ्वी बुढाक्षेत्रीले दिनहुँ सघाउने गर्दछन् ।
आफ्नो मेहनत र राम्रो व्यवहारले उनको ठेलामा खाजा खान आउने ग्राहकहरुको कहिल्यै कमि नहुने र ठेला व्यापार बाटै मासिक एक लाख कमाइ हुने उनी बताउँछन् । ठेला व्यापारबाटै कमाएको पैँसाले उनलाई प्रशस्त खान लाउन पुग्छ । आफ्नो मेहनत र पसिना स्वदेशमै खर्च गर्न सके मनग्ये आम्दानी गर्न सकिने उनी गतिलो उदाहरण बनेका छन् ।
उनले आफ्नो छोरा र छोरीलाई व्यापार बाटै आएको पैसाले पढाइरहेका छन् । उनले सम्पुर्ण खर्चहरु कटाई मासिक २५ हजार बचत पनि गर्ने गर्छन् । नेपालमै मिहिनेत गर्न सके राम्रै कमाई गर्न सकिने भएकोले अरुलाई बेकारमा बिदेश नजान सुझाउँछन् । उनको ठेलामा खाजा आउने ग्राहकहरुले उनले गर्ने व्यवहार र उनले पकाएका परिकारहरुको धेरै प्रशंसा गर्ने गर्छन् । आफ्ना ग्राहकहरुलाई भगवान सरह मान्ने उनी ग्रहाकबाट राम्रो प्रतिक्रिया पाउँदा निकै हर्षित हुने गर्छन् ।