प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिक्टा सिंचाई आयोजनाको पछिल्लो अवस्थाबारे आयोजना स्थलमै ब्रिफिङ्ग गरिने भएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय गौरवको आयोजना सिक्टामा स्थलगत अनुगमनका लागि आएपुग्ने ओलीलाई आयोजना प्रमुख कृष्ण नेपालले अवस्थाको ब्रिफिङ्ग गर्ने भएका हुन् । त्यसका लागि मन्त्रालय र विभागका उच्च अधिकारीहरु पनि सोमबार नेपालगन्ज आइपुगेका छन् । ‘हेलिकप्टरबाट ओभरल परियोजना अवलोकन पछि गाडीबाट समस्याग्रस्त नहर क्षेत्रको अनुगमन गर्ने कार्यक्रम छ’, परियोजना प्रमुख नेपालले दैनिक नेपालगन्जसँग भने, ‘प्रधानमन्त्रीको अनुगमन र हाम्रो ब्रिफिङ्गपछि सिक्टाको क्लियर पिक्चर आउनेमा विश्वस्त छौं ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार, विहान ९ः३० बजे नेपालगन्ज आइपुग्ने प्रधानमन्त्री ओली भेरी–बबई डाइभर्सनको औपचारिक कार्यक्रमका लागि पुग्नेछन् । ‘त्यहाँबाट फर्किएपछि सोझै सिक्टा जाने कार्यक्रम छ’, सेनाको सम्शेरगन्ज स्थित ब्यारेकबाट गाडीमा समस्याग्रस्त नहर क्षेत्रको अनुगमन गर्ने प्रधानमन्त्रीको कार्यक्रम बारे प्रजिअ भुजेलले दैनिक नेपालगन्जसँग भने ।