बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ उढरापुरमा स्वास्थ्य चौकी भवन तयार भएको छ । संघीय आयोजनाको सहयोगमा पृथ्वी इन्जिनियरिङ एण्ड विल्डर्स प्रालिले निर्माण गरेको सुविधा सम्पन्न १८ कोठे भवनको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुक्रबार उद्घाटन गरेका हुन् ।
२ करोड २५ लाख ९७ हजार ६ सय ८ रुपैयाँ ६७ पैसाको लागतमा बनेको दुई तले भवन संघीय आयोजनाकी सब इन्जिनियर बसन्ता बुढाथोकीले वडा नंं. ५ का वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरिन् । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले सुविधा सम्पन्न भवनको संरक्षणका साथै यसबाट भरपूर सेवा लिन स्थानीयलाई आग्रह गरे । आफ्नो ठाउँमा बनेको सम्पत्तिको सुरक्षाको जिम्मा स्थानीयलाई हुने बताउँदै कक्षपतिले खजुरा क्षेत्रमा स्वास्थ्यका पूर्वाधारहरु क्रमिकरुपमा बन्दै गएको उल्लेख गरे ।
नेपाली काँग्रेस, बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख, प्रशासकीय अधिकृत बमहादुर केसीलगायतले आधुनिक भवन निर्माणले गुणस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । कार्यक्रममा जग्गादाता स्वर्गीय विश्वराज गुप्ताका छोरा अर्पित गुप्तालाई सम्मान गरिएको थियो । स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर वली, भानुमाविका प्रअलगायतले भवन अनुसार कर्मचारी दरबन्दी, आवश्यक सामाग्री र एक जना सुरक्षा गार्डको व्यवस्थापन गर्न आग्रह गरे ।