प्रदेश ५ का भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बागेश्वरी मन्दिरको दीर्घकालीन विकास र व्यवस्थापनको स्थायित्वका लागि रणनीतिक योजना बनाउने कुरामा आफ्नो प्राथमिकता रहेको बताएकी छन् । गुठी संस्थानका जिम्मेवार अधिकारीहरु सहित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर सञ्चालन गुठीका पदाधिकारीहरुसँगको औपचारिक छलफलका क्रममा मन्त्री पौडेलले भनिन्, ‘यसको बृहत्तर विकासका लागि संयुक्त पहल थालौं ।’
आफ्नो मन्त्रालयले प्रदेश ५ का गुठीहरु व्यवस्थापनका लागि संरचनागत सहयोग गर्न बजेट छुट्याएपछि सम्बद्ध अधिकारीहरु सहित मन्त्री पौडेल पहिलो पटक बागेश्वरी मन्दिर पुगेकी हुन् । मन्दिर परिसरमै आयोजित छलफलमा मन्त्री पौडेलले भनिन्, ‘आहा ! कस्तो राम्रो बागेश्वरी मन्दिर भन्ने बनाउने धोको छ ।’ मन्त्रालयले गुठी व्यवस्थापन कार्यको सुरुवात नेपालगन्जबाटै गर्न लागेको जानकारी दिंदै मन्त्री पौडेलले गुठी व्यवस्थापन ऐन बनाउने कसरत पनि अगाडि बढाइएको जानकारी दिइन् ।
‘बागेश्वरी मन्दिर मुलुककै गौरवको रुपमा व्यवस्थित हुनु जरुरी छ’, मन्त्री पौडेलले त्यसका लागि प्रदेश, केन्द्र सरकार, बागेश्वरी गुठी र निजी क्षेत्र सबैतिरबाट संयुक्त पहलको आवश्यकतामा जोड दिंदै भनिन्, ‘प्रदेश सरकारको स्तरबाट पुरापुर सहयोग हुन्छ ।’ उनले पहलको थालनी नै नेपालगन्जबाट भएको धारणा राख्दै भनिन्, ‘अहिले पहल आगामी बर्ष परिणाम ।’
मन्त्री पौडेलको प्रस्तावमा बागेश्वरी गुठीका अध्यक्ष डा. धवल समशेर राणाले मन्दिर व्यवस्थापनका लागि आवश्यक स्रोत पहिचान गरिएको जानकारी दिंदै सटर निर्माणका लागि ४० लाख प्रदेश सरकारसँग अपेक्षा गरिएको बताए । ‘तपाई हामीलाई ४० लाख रुपैयाँ सहयोग गर्नुस्, यसै आर्थिक बर्षमा तपाईलाई उद्घाटनका लागि निम्तो दिन्छौं’, नेपालगन्जका नगर प्रमुख समेत रहेका अध्यक्ष डा. राणाले बागेश्वरी पश्चिम गेट तर्फको बाटो चौडा बनाउँदा सटर भत्काएर नयाँ बनाउनु पर्ने योजना अनुसार उक्त प्रस्ताव अघि सार्दै भने ।
मन्दिरको बृहत्तर योजना कार्यान्वयनका लागि आफुहरुलाई ५ करोड रुपैयाँ आवश्यक परेको गुठीका सचिव गोपाल अधिकारीको भनाइ छ । ‘५ करोडको व्यवस्था भयो भने आहा ! बागेश्वरी बन्छ’, कार्यक्रमको सहजीकरण गरिरहेका अधिकारीले भने ।