विकास माग्दै प्रदेश राजधानी पुग्यो नरैनापुर

बाँकेको विकट मानिएको नरैनापुर गाउँपालिका जनप्रतिनिधिको एउटा टोली विकास माग्दै प्रदेश समक्ष पुगेको छ । नरैनापुर गाउँपालिकाको डेलिगेशन टोलीले प्रदेश ५ का मन्त्रीहरुलाई भेटेर गाउँपालिकाको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेको हो ।

 
अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेटेर गाउँपालिकाको अवस्था अवगत गराउँदै विकासका लागि पर्याप्त बजेट उपलब्ध गराउन आग्रह गरेका हुन् ।

 
प्रदेश सभा सदस्य कृष्णा केसी नमुना समेत सम्मिलित टोलीले नेपाल सरकारको पिछडिएको सुचीमा रहेको नरैनापुरको अवस्था अवगत गराउँदै प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । भेटका क्रममा दुबै मन्त्रीले नरैनापुरलाई आफुहरुले प्राथमिकतामा राखेको बताउँदै यही महिनाभित्रै स्थलगत अवलोकन गरेर आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको बस्नेतले जानकारी दिए ।

 
प्रदेशसभा सदस्य केसीले प्रदेश मन्त्रीलाई प्रदेश सभा सदस्य नमुनाले विकासमा निकै पछाडि परेको नरैनापुरलाई विशेष रुपमा हेर्न आग्रह गरेकी थिइन् । ‘त्यहाँको अवस्था निकै खराब छ, जनता समस्यामा छन्, न विजुली छ, न सिंचाई सुविधा छ, हामीले जनता समक्ष गरेका प्रतिबद्धता पुरा गर्न प्रदेश सरकारले सघाउन जरुरी छ’, नमुनाले भनिन् ।
गाउँपालिका अध्यक्ष शाहले मन्त्रीद्वय समक्ष उहाँले भने, ‘पहिले भन्दा विकास भएको छ तर धेरै आवश्यकता भएकाले तपाईंहरुले नरैनापुरलाई विशेष रुपमा हेर्नुपर्दछ ।’ अध्यक्ष शाहले दुबै मन्त्रीलाई गाउँपालिकाको स्थलगत अवलोकनका लागि आग्रह पनि गरेका थिए ।

 
भौतिक पूर्वाधार मन्त्री चौधरीले नरैनापुरको सिंचाई, विजुली, तटबन्ध र सडकका लागि आफुले सक्दो सहयोग गर्ने बताएका थिए । सामाजिक विकास मन्त्री बरालले गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीमा सहभागीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया