चपेटामा खजुरा

रामु ओली


खजुरा क्यान्सर हस्पिटल निर्माणले मुर्तरुप लिदै गर्दा खजुराबासीमा छुट्टै उमंग थियो, खजुराले आफ्नो गुमेको पहिचान र ब्यापार फर्काउने सपना देख्दै थियो, खजुराले बिमानस्थल गुमाए पछि खस्केको ब्यापार र खजुराको नामलाई फर्काउने आधार जनक शिक्षाको छापाखाना संगै क्यान्सर हस्पिटल बन्नेमा खजुराबासी निश्चित थिए । क्यान्सर हस्पिटलको सुरुवात संगै खजुराको सान र ब्यापार फर्किने सपना देखेर स्थानस्य बिनोद मल्लले एक बर्ष अगाडी होटेल ट्रीपल ब्रो लज एण्ड रेस्टुरेन्ट खोले तर उनको सपनाले मुर्तरुप लिनसकेको छैन ।

 
खजुरामा बास बस्नको लागि लजको नाममा बिनोद मल्लको ट्रीपल ब्रो बाहेक अर्को विकल्प छैन । तर पनि होटेल ब्यवसायी बिनोद मल्ल भने ब्यापारको अवस्था देखेर चिन्तित छन् । जति उत्साह र खजुराको व्यापार बढ्ने आंकलन गरेर उनले ब्यवसाय सुरु गरे त्यो अनुरुप नत खजुराको ब्यापारमा देखिने प्रगति हुन सक्यो नत खजुराले गुमेको पहिचान फर्काउन नै सक्यो ।

 
खजुराबासिको एउटै आशाको केन्द्रको रुपमा रहेको क्यान्सर हस्पिटलमा भएको राजनीति नै खजुराको बिका िबिरोधी भएको युवा ब्यवसायी बिनोद मल्ल बताउँछन् । ‘हस्पिटलको नाममा गरिएको राजनीतिले गर्दा खजुराको व्यापार बढ्ने कुरा त छोड्नुस खजुराको पहिचानको रुपमा, खजुराबासीको मेहनत र भावना जोडिएको क्यान्सर हस्पिटल खारेजी सम्मको हल्ला र राजनीति गर्न भ्याए,’ ब्यवसायी मल्ल बताउँछन् ।

 
खजुरामा लामो समयदेखि मोबाइल पसल सञ्चालन गरेका प्रकाश जोशी खजुराको रित्तिंदो व्यापार देखेर निराश देखिन्छन् । मानिसहरु सानोतिनो सामान लिन नेपालगन्ज र रुपैडिया जान्छन् । रिमझिम चोक तथा गाउँगाउँमा बिस्तार भएको बजारले पनि खजुराको ब्यापारलाई असर गरेको जोशी बताउँछन् । खजुराको बजारको रुपमा रहेको पूर्णबास बस्तीहरु सैनिकदेखि लिएर ए गाउँ, बि गाउँ, एल गाउँ र उडरापुर, रनियापुर, डि गाउँ, इ गाउँ, क गाउँहरु बिस्तारै अन्यत्र सर्दै गर्दा खजुराले आफ्नो बजारको साखः भने जोगाउन सकेको छैन । न त कुनै ठुला उद्योग नै खुल्न सके । भएको सम्झना चलचित्र मन्दिर उहिल्यै बन्द भयो भने कपास बिकास समित समेत उत्पादनको कमिले उतिबेलै बन्द भयो । नयाँ खुलेको उद्योगको रुपमा एउटा इट्टा उद्योग खुलेको छ, खजुरा देखि तीन किलोमिटर भित्र ।

 
कुनैबेला छिमेकी जिल्लाको लागि समेत गल्लाको ब्यापारिक केन्द्रको रुपमा उदाएको खजुरा भने अहिले सुनसान प्रायः देखिन्छ । नेपालगन्ज–गुलरिया सडक खण्डको केन्द्रमै रहेको खजुरा बर्दियाका आसपासका क्षेत्र संगै गुलरियाको समेत राम्रो बजार हुने गथ्र्यो । खजुरामा चहलपहल नहुनु र खजुराको ब्यापार ओरालो लाग्नुमा खजुरामा बसपार्क नहुनु एउटा प्रमुख कारणको रुपमा व्यापारीहरु हेर्छन् । ब्यवसायी प्रकाश जोशी, बिनोद मल्ल संगै पन्त एग्रोभेट संचालन गर्दै आएका अशोक पन्त पनि यो कुरामा सहमत छन् ।

 
‘बसपार्क निर्माणको जमर्को र कुरा भने नउठेको हैन खजुराको मुटु ढुङ्गे मिल नजिक (बि गाउँ जाने बाटो) को खाली सरकारी जमिनमा बसपार्क निर्माण गर्नुपर्ने कुरा उठेको हो तर त्यहाँ पार्क निर्माण गर्न खोजिएको छ’, प्रकाश जोशी बताउँछन् । ’यो सबै कमिसनको चलखेलको कारण भयो । बसपार्क निर्माण गरेको भए खजुरामा चहलपहल बढ्थ्यो, ब्यापारमा वृद्धि हुन्थ्यो, बसपार्कको अभाव खजुराले व्यहोर्नुपरेको छ जसले गर्दा खजुराले दिनप्रतिदिन अस्तित्व संगै ब्यापार गुमाउँदै आएको छ,’ ब्यवसायी तथा स्थानीय मल्ल बताउँछन् ।

 
खजुराको क्यान्सर हस्पिटल सञ्चालन भैसकेको अवस्था छ । प्रदेश पाँच, छ र सातको क्यान्सर हस्पिटलको रुपमा चिनिएको खजुरा बजारमा भने एउटा बाँस बस्नैका लागि स्तरीय होटेल छैन । भएको एउटा होटेल पनि संचालन गर्न धौधौ भएको ब्यवसायी बताउँछन् भने खजुराले आफ्नो अस्तित्व जोगाउन पूर्वाधारमा लगानी गरेर पनि लगानी सुरक्षित हुन्छ भन्नेमा अझै बिश्वस्त हुन सकेका छैनन्, त्यसको प्रमुख कारण खजुराको खस्केको व्यापार हो । खजुरा क्यान्सर हस्पिटल सञ्चालन पछि व्यापार र चहलपहलमा वृद्धि हुने आशा गरिएपनि हालसम्म त्यस्तो किसिमको संकेत देखा नपरेको ब्यवसायी बताउँछन् ।

 
क्यान्सर हस्पिटल संचालनमा आइसकेकोले खजुराको ब्यपार र चहलपहलमा क्रमिक सुधार हुने र खजुराले आफ्नो अस्तित्व संगै ब्यापार फर्काउने आशा स्थानीय युवा बिजय खत्रीको छ । साथै उनले नेपालगन्ज–गुलरिया सडक खण्डमा गुड्ने गाडीहरुलाई खजुरामा केही मिनेट मात्रै भएपनि रोक्न सके व्यापार र चहलपहलमा बृद्धी हुने बताउँछन् । जसको लागि बसपार्क वा मिनि बसपार्ककै रुपमा भएपनि बिकास गर्नु पर्ने धारण राख्छन् ।
बकमाबकमा

प्रतिक्रिया

प्रतिक्रिया