नेपालगन्ज : बेन्च प्रति बारको असन्तुष्टि

प्रक्रियागत त्रुटीको गुनासो

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले एक मुद्दामा कानूनी प्रक्रियागत त्रुटी गरेको भन्दै बेन्च प्रति बारले असन्तुष्टि जनाएको छ । एक मुद्दामा भन्सार कार्यालयलाई अनावश्यक रुपमा बढी प्राथमिकता दिएको र आफ्नो पक्षलाई मर्का परेको पक्षको तर्फबाट मुद्दा लडेका अधिवक्ता प्रहलाद बहादुर कार्कीले बताए ।

 

उच्च अदालत नेपालगन्जको एक इजलासले मुद्दामा प्रक्रियागत त्रुटि गरेको भन्दै अधिवक्ता कार्कीले सामाजिक सञ्जाल फेसबुकमै आफ्नो असुन्तुष्टि प्रकट गरेका थिए । ‘हाम्रो असन्तुष्टि निर्णयमा नभै प्रक्रियामा हो’, दैनिक नेपालगन्जसँगको कुराकानीमा अधिवक्ता कार्कीले भने । अन्तरिम आदेश छलफलको लागि बोलाएको दिनमा अनुपस्थित हुने र अदालतको आदेश अटेर गरेर निर्णय गर्ने भन्सार कार्यालयको नियम राम्रो नदेखिएको कार्कीले बताए ।

 

अदालतको निर्णय प्रक्रियाका सम्बन्धमा नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले पनि आकस्मिक रुपमा वरिष्ठतम न्यायाधीशलाई भेटी आफ्नो असन्तुष्टि जाहेर गरेको थियो । छलफलमा बार पदाधिकारीसंगै अन्य कानून ब्यवशायीहरुको सहभागिता रहेको थियो । बेन्चले प्रक्रियागत रुपमा त्रुटि गरि आदेश गरेको सम्बन्धमा बारमा निवेदन परेको र बारले अन्य कानून ब्यवशायी सहित वरिष्ठतम न्यायाधीशलाई भेटेर कुरा राखेको नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्यले बताए ।

 

फागुन २२ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइएकोमा भन्सार कार्यालय अनुपस्थित रहे पनि अन्तरिम आदेश जारी हुने वा नहुने त्यहि दिन टुंगो लगाउनु पर्नेमा भन्सार कार्यालय अदालतमा नआएको कारणबाट उसलाई सुबिधा दिने उद्देश्यले पुनः फागुन २८ गते अन्तरिम आदेश छलफलका लागि बोलाउनु कार्यबिधिगत त्रुटि देखिएको कानून ब्यवसायी बताउँछन् ।

 

अन्तरिम आदेशको छलफल हुने दिनमा लिखित जवाफ पेश भैसकेको अवस्थामा फैसला हुन सक्ने कानूनी ब्यवस्था भएपनि लिखित जवाफ र आवश्यक प्रमाण पेश भै सकेको हुनाले अन्तरिम आदेश मात्रै नभै मुद्दाको निर्णय हुन सक्छ भन्ने कुराको जानकारी पक्षहरुलाई बेन्चले दिनु पर्नेमा त्यसो नगरि अन्तिम निर्णय सुनाई अदालतले प्रक्रियागत त्रुटि गरेको कानून ब्यवसायीहरुको गुनासो छ । उत्प्रेरणको रिट निवेदन भए पनि त्यस बारेमा केहि नबोली रिट खारेज गरिएको कार्कीले बताए ।

 

भन्सार कार्यालयले अदालतलको आदेश पाएर पनि सामान जफत गर्ने निर्णय गरेको र अदालतले अन्तरिम आदेशका लागि बोलाएको दिन अनुपस्थित भए पछि पनि फेरी अदालतले उसलाई समय दिई कार्यालय प्रति सदासयता देखाएको प्रति अधिवक्ता कार्कीले असन्तुष्टि जाहेर गरेका छन् । यसैबीच, अदालतको मानहानी गरेको भन्दै अधिवक्ता प्रहलाद बहादुर कार्कीले आफै भन्सार कार्यालय र त्यस कार्यालयका प्रमुखका बिरुद्धमा अदालतको मानहानी मुद्दा गत फागनु ३० गते उच्च अदालत नेपालगन्ज इजलासमा दर्ता गराएका छन् ।
यस्तो छ तथ्य

भारत कोलकत्ता २३ वी एन.एस. रोड ‘द सेक्युरिटी हाउस रुम नं. ४, चौथो तल्ला’ कोलकत्ता ७००००१ स्थित भिआए लजिष्टिक्सको तर्फबाट अख्तियार प्राप्त प्रतिनिधि अवनिन्द्र कुमार राय तथा दुष्यन्त कुमार सिंह समेतले भन्सार कार्यालय नेपालगन्ज समेतको उपर ०७५–डब्लुओ–०१७५ को उत्प्रेषण, परमादेश र प्रतिषेधको रिट निवेदन उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा दर्ता गराएका थिए ।

 
अदालतबाट गत फागुन १९ गते पहिलो सुनुवाई हुँदा अन्तरिम आदेशका लागि फागनु २२ गते विपक्षीहरुलाई झिकाई पेश गर्नु भनि भएको आदेश सहितको जानकारी भन्सार कार्यालय र कार्यालय प्रमुखले फागुन १९ गते नै म्याद बुझि थाहा पाए पश्चात उक्त तोकिएको मिति २०७५÷११÷२२ गते सम्मानित अदालतको आदेश अनुसार आफूसँग रहेको सबुत प्रमाण सहित निवेदन माग बमोजिम अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफलमा विपक्षीहरु उपस्थित हुनु पर्नेमा सम्मानित अदालतबाट भएको आदेशको जानकारी फागनु १९ गते नै प्राप्त भइसकेपछि पनि सम्मानित अदालतको आदेशको जानीजानी अवज्ञा गरेको रिट निवेदक कार्कीले बताए ।

नेपालको संविधानको धारा १२६ (२) अनुसार अदालतबाट दिएको आदेश वा निर्णणको सबै व्यक्ति, निकाय र पदाधिकारीहरुले सम्मान गरि सो को पालना गर्नु पर्ने प्रष्ट संवैधानिक तथा कानुनी प्रावधान रहेकोमा विपक्षीहरुबाट सम्मानित अदालतबाट निजहरुलाई मिति फागुन २२ गते सम्मानित अदालत समक्ष उपस्थित हुनु भनि भएको आदेश अनुसार उपस्थित नभई विपक्षीहरुले जानाजान सम्मानित अदालतको आदेशको अवज्ञा गरेको प्रष्टै भएको अवहेलनाको रिट निवेदनमा उल्लेख गरिएको छ । .

 
विपक्षीहरुले सम्मानित अदालतबाट गत फागनु १९ गते जारी भएको आदेश अनुसारको कार्य गर्नु पर्ने अदालतबाट दिएको आदेश प्रत्येक व्यक्तिले मान्नु पर्ने र त्यस्तो आदेशले यदि कसैलाई कुनै असर परेको छ भने कानूनी प्रक्रिया अवलम्बन गर्नु पर्नेमा सो केही नगरी प्रत्यक्ष रुपमा विपक्षीहरुले अदालतको आदेशको अवज्ञा गरी मिति फागनु २२ गते अदालतमा अनुपस्थित भई म्याद बुझेको फागुन १९ गते गाडी कन्टेनर जफत गरेको भनी फागुन २८ मा लिखित जवाफ पेश गरेको साथै विपक्षीलाई फागुन २२ अदालतमा उपस्थित हुन जानु भनि पठाएकोमा निज अदालतमा उपस्थित नभई सरकारी वकील कार्यालयमा गइ सोही कार्यालयबाट फर्किएको भनी लिखित जवाफमा उल्लेख गरी अदालतको अवहेलना गरेको कुरा प्रष्ट देखिन्छ ।

 
उक्त माथी उल्लेखित गैर कानूनी तवरबाट काम कारबाही गरी सम्मानित अदालतबाट न्याय सम्पादन गर्ने कार्यमा समेत विपक्षीहरुबाट असहयोग गरेको हुँदा निज विपक्षी प्रमुख भन्सार अधिकृत शान्ति राम निरौलालाई स्वयं उपस्थित हुन लगाई यस सम्मानित अदालतमा झिकाई प्रस्तुत निवेदन अदालतको सम्मान र गरिमालाई अक्षुण राख्ने अवस्थासँग सम्बन्धित रहि संवेदनशील विषय समेत भएकोले र प्रस्तुत निवेदनका सम्बन्धमा अदालत स्वयंबाट कार्यविधि तय गर्ने अधिकार यसै सम्मानित अदालतलाई रहेको हुँदा विपक्षीहरुले माथि निवेदन प्रकरणहरुमा उल्लेखित गैर कानुनी कार्य गरी जानाजान सम्मानित अदालतबाट भएको आदेशको अवज्ञा गरेको हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको कैद र जरीवाना समेत गरी उच्च अदालत नियमावली २०७३ को नियम ११३ बमोजिम विपक्षीहरुले सम्मानित अदालतलाई जानाजान तथ्य ढाँटी अन्तरिम आदेशको छलफलको लागि झिकाइएको मितिमा अनुपस्थित रहि लिखित जवाफ पेश गरेको हुँदा विभागीय कारबाहीको लागि आदेश समेत गरी अन्य उपयुक्त आदेश समेत जारी गरी पाउँ अधिवक्ता पह्लाद बहादुर कार्कीद्वारा दायर गरिएको अदालतको अवहेलना मुद्दामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया