प्रहरी परिवर्तित परिस्थिति अनुसार चल्न जरुरी

प्रहरी नायब महानिरीक्षक महेश विक्रम शाहले प्रहरी मुलुकको परिवर्तित परिस्थिति अनुसार परिचालित हुन जरुरी रहेको बताएका छन् । शुक्रबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक शाहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा गर्ने दायित्व भित्र नेपाल प्रहरी पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

 
प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेतको नेपालगन्ज स्थित तालिम केन्द्रमा आयोजित प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोहका प्रमुख अतिथि, कर्णाली प्रदेश प्रहरी प्रमुख महेश विक्रम शाहले नेपाल प्रहरी परिवर्तित अवस्थामा रहेको प्रष्ट पारे ।

 
तालिम समाप्त गरी कार्यक्षेत्रमा जान लागेका १ सय ३५औं समूहका दीक्षित प्रहरी जवानहरुलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक शाहले प्रहरी ऐन २०१२ खारेज भई परिवर्तित राज्य व्यवस्था अनुसार, नयाँ संघीय प्रहरी ऐन आउन लागेको बताए । ‘सोही अनुसार आफुलाई अगाडि बढाउन तयार हुनुपर्छ’, शाहले सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली अवधारणा सफल पार्न सुरक्षित नेपालीको अभिभारा नेपाल प्रहरीको काँधमा रहेको बताए । ‘विकास पछि मुलुक समृद्ध हुन्छ नै तर सुखी नेपाली हुन सुरक्षाको पूर्ण प्रत्याभूति जरुरी छ’, प्रहरी नायब महानिरीक्षक शाहले भने, ‘त्यसका लागि नेपाल प्रहरी सहितका सुरक्षा निकायहरुको महत्वपूर्ण जिम्मेवारी हुन्छ ।’ उनले सरकारले प्रहरीलाई प्रविधिबाट सुसज्जित गर्दै अगाडि बढेको धारणा राख्दै कर्णालीमा पनि प्रदेश सरकारले साधन र प्रविधियुक्त प्रदेश प्रहरी बनाउनेतर्फ लागि परेको बताए ।

 
प्रहरीको आधारभूत सेवामा रहेका नवदीक्षित जवानहरुलाई प्रहरी नायब महानिरीक्षक शाहले ‘आदेश पालक मात्र होइन अधिकार सहित कतव्र्यको पालना गर्न’ निर्देशन दिए । ‘नेपाल प्रहरीको अग्र पंक्तिमा रहने प्रहरी जवान पर्याप्त अधिकार सहित कार्यक्षेत्रमा खटिएको हुन्छ’, प्रहरी नायब महानिरीक्षक शाहले भने, ‘तपाई (जवान)हरु सफल हुनुभयो भने अधिकृत सफल हुन्छ, नेपाल प्रहरी सफल हुन्छ ।’ उनले अपराधको सफल अनुसन्धानका लागि घटना स्थल सुरक्षा महत्वपूर्ण हुने भनाइ राख्दै घटना स्थल सुरक्षाका लागि प्रहरी जवान नै बढी जिम्मेवार हुने बताए ।

 
नेपाल प्रहरीले समुदायसँगको साझेदारीमा नयाँ अवधारणा अघि सारेको जानकारी दिंदै प्रहरी अधिकारीहरु समेत सहभागी कार्यक्रममा प्रहरी नायब महानिरीक्षक शाहले समुदाय प्रहरी साझेदारी कार्यक्रमले अपराध रहित समाजको परिकल्पना गरेको बताए । ‘त्यसमा राष्ट्रसेवक र जनप्रतिनिधि बीच बलियो साझेदारी विकास गर्न खोजिएको छ’, शाहले भने, ‘समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई देशैभरी सफलतापूर्वक कार्यान्वयन गर्न खोजिएको छ ।’

 


कर्णाली प्रदेश प्रहरी प्रमुख शाहले आफ्नो प्रदेशका सबै जिल्लामा सुरक्षा व्यवस्थाको सुनिश्चितता भएको पनि जानकारी दिए । ‘कार्यक्षेत्रमा अनुशासनको खाँचो छ’, समग्र प्रहरी प्रवृत्ति उजागर गर्दै शाहले नवदीक्षित प्रहरी जवानहरुलाई जिम्मेवारीप्रति सचेत भएर अधिकारको पालना जनताको सेवा र पीडा बुझ्नमा प्रयोग गर्न सुझाव दिए ।

 
तालिम केन्द्रका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक डा. देव बहादुर बोहराका अनुसार, ९–१३५ औं समूहबाट १ सय ४७ जना २ सय १९ दिन तालिम गरी दीक्षित भएर कार्यक्षेत्रमा खटिएका हुन् । डा. बोहराले विभिन्न प्रशिक्षण विधिबाट सफल भएका १९ महिला सहित १ सय ४७ जना प्रशिक्षार्थीहरुले ६ सय पूर्णाङ्कको पाठ्यक्रमका आधारमा प्रशिक्षणको मूल्यांकन विधि पार गरेर उत्तिर्ण भएका हुन् । उनीमध्ये ३५ जना प्रथम श्रेणी, १ सय जना द्वितीय र १२ जनाले तृतीय श्रेणीको नतिजा ल्याउन सफल भएका थिए । शुक्रबार दीक्षान्त कार्यक्रममा आफ्ना अभिभावकहरु माझ सपथ ग्रहणदेखि कलाकौशल प्रदर्शनी गरेका दीक्षित प्रहरी जवानहरुले त्यस लगत्तै दरबन्दी अनुसारको कार्यक्षेत्रमा खटिएका छन् ।

 
भव्य समारोह बीच भएको दीक्षान्तमा प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक महेश विक्रम शाहले गुरुकुल २०७५ नामक मुखपत्रको विमोचन पनि गरेका थिए । तालिम संयोजक प्रहरी निरीक्षक अम्मर बहादुर माझीले तालिम प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा. देव बहादुर बोहराले तालिमबारे बिस्तृत जानकारी दिएका थिए ।

 
नेपालगन्जमा स्थापना भएयता उक्त तालिम केन्द्रले २१ हजार २१ जना प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरेको समादेशक डा. बोहराले जानकारी दिए । प्रमुख अतिथि शाहले विभिन्न विधाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए ।

 
१ सय ३५ आंै समूहबाट प्रशिक्षार्थी प्रहरी जवान प्रेम केसी सर्वोत्कृष्ट घोषित भए । रविन्द्र रोका क्षेत्री द्वितीय र सुनिता चौधरी सर्वोत्कृष्ट तृतीय भएका थिए । पवित्रा रोकाया क्षेत्री अध्ययन प्रथम, रुक्मिणी चौधरी कवाज प्रथम, चन्द्र बहादुर कामी शारीरिक व्यायाम, जनक रावत प्रहरी कारवाही तथा युक्ती, अमर खड्का चाँदमारी र नविन विक अतिरिक्त क्रियाकलापमा प्रथम घोषित भए ।

प्रतिक्रिया

प्रतिक्रिया