युवाहरु बीचबाट सम्भावनाको खोजी गर्दै प्रतिभा पहिचानका लागि ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’ छनोट सुरु गरिएको छ । इभेन्ट म्यानेजमेन्टका क्षेत्रमा संस्थागत अभ्यास सुरु गरेको द थ्री चियर्स इभेन्ट्सले युवाहरु बीचको प्रतिभा पहिचानका लागि यसै बर्षदेखि ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’ छनोट सुरु गरेको हो ।
नेपालगन्ज र कोहलपुरमा छनोट कार्यक्रमको आयोजना गरी २ सय जना प्रतिस्पर्धीहरुबाट १७ जना युवाहरुबाट ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’ छनोट गरिने कार्यक्रमका फाउण्डर अर्गनाइजर यम गिरीले जानकारी दिए । उनका अनुसार, अन्तिम चरणमा पुगेका १७ जना मध्येबाट १ जना युवा र १ जना युवतीलाई ‘द नेक्स्ट फेस नेपालगन्ज २०१९’का रुपमा सम्मान गरिनेछ ।
‘उनीहरु युवा पुस्ताका लागि आइडलका रुपमा तयार हुनेछन्’, कार्यक्रम निर्देशक विमल भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि उनीहरुलाई समाजका विभिन्न क्षेत्रसँग परिचित र प्रशिक्षित गरिंदैछ ।’ आयोजनाका लागि कार्यक्रम संयोजकका रुपमा सागर आचार्य, सल्लाहकारका रुपमा विनोद अग्रहरी, टिएस ठकुरी, आयोजक सदस्यका रुपमा पुजा केसी लगायत सक्रिय छन् ।
स्कुल, कलेजका विद्यार्थीहरु बीच आत्मविश्वासको विकास गर्ने र उनीहरु मध्येबाट सामाजिक क्षेत्रमा आकर्षण गराउने उद्देश्य पनि आयोजनाको हो । कार्यक्रम निर्देशक भण्डारीले नेपालगन्जमा यसखालको कार्यक्रम उदाहरणीय हुने दाबी गर्दै भने, ‘स्रोतको अभावमा पनि स्वयंसेवकहरु परिचालित ससाना सहयोगबाट कार्यक्रमलाई उदाहरणीय बनाउने प्रयास गरिरहेका छौं ।’ फाउण्डर अर्गनाइजर गिरीले २ सय बढी प्रतिस्पर्धीबाट छनोट गरी १७ जना अन्तिम प्रतिस्पर्धीसम्म आइपुग्दा धेरैखालका चुनौतिहरुको सामना गर्नुपरेको सुनाए ।
बिहीबार फाइनल प्रतिस्पर्धाको आयोजना राखिएको आयोजकले जनाएको छ । आयोजनामा मिस नेपालगन्ज सुमन थापा सहितको निर्णायक मण्डल सक्रिय रहेको द नेक्स्ट फेस नेपालगन्जले जनाएको छ ।