सकियो शैक्षिक मेला, हजारौं विद्यार्थीले गरे अवलोकन

शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको शैक्षिक शनिबार सकिएका छ । स्वदेशमै उच्च शिक्षाको स्तरीय व्यवस्था छ भन्ने कुराको जानकारी दिन देशका विभिन्न भागमा सञ्चालन गरिंदै आएको शैक्षिक मेला हजारौं विद्यार्थीले अवलोकन गरेका छन् । यो बर्ष विरगन्जबाट सुरु भएको शैक्षिक मेला बुधबार धनगढीमा सकिंदैछ ।

 
‘नेपालगन्जको शैक्षिक मेला अभूतपूर्व सफल भयो’, एजुकेशन डकटकमले नेपालगन्जको सिद्धार्थ कटेजमा दुई दिनसम्म आयोजना गरेको शैक्षिक मेलाका ५ नम्बर प्रदेश को–अर्डिनेटर भरतसिंह विष्टले दैनिक नेपालगन्जसँग भने, ‘दुई दर्जनबढी यहाँका स्थानीय कलेजहरुले आफ्ना सयौं विद्यार्थीलाई भिजिट गराएका छन् । कोर्डिनेटर विष्टका अनुसार, विद्यार्थीदेखि अभिभावकसम्मले रुचि पूर्वक अवलोकन गरेको शैक्षिक मेलाबाट स्वदेशमै स्तरीय र विश्वसनीय शैक्षिक संस्था छन् भन्ने कुराको सन्देश प्रवाह गर्न आयोजक सफल भएको छ ।

 

विष्टका अनुसार, मंगलबार र बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय शैक्षिक मेला आयोजना गरिनेछ । ‘देशभरीका मेला सकिएपछि आगामी साउनमा राजधानी काठमाडौंमा भव्य शैक्षिक महोत्सव आयोजना गरिनेछ’, विष्टले दैनिक नेपालगन्जसँग भने ।

 

 
देशका विभिन्न २५ वटा शिक्षण संस्थाले स्टल राखेको मेलामा उच्चस्तरीय शिक्षाबारे बुझ्न बाँके, बर्दिया, सुर्खेत, दाङ्गबाटसम्म विद्यार्थीहरु पुगेका थिए । मेलामा नेपालगन्जको ब्राईटल्याण्ड कलेज, अल्पाइन म्यानेजमेन्ट र महेन्द्र बहुमुखी क्याम्पस लगायतको स्टल पनि समावेश थियो । ‘मेलाले स्वदेशमै शिक्षाका लागि राम्रो सन्देश प्रवाह गरेको छ’, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख हरि प्रसाद तिमिल्सिनाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया